२०८१ भाद्र २३
                           

बलेफीमा माओवादी अध्यक्ष ,काँग्रेस उपाध्यक्ष

जेठ २ – सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीले पालिका प्रमुक जितेको छ ।प्राप्त अन्तिम मतपरिणाम अनुसार मिश्रीत मतपरिणाम छ ।
अध्यक्ष पदमा माओवादी समाजवादी गठबन्धनका उम्मेद्वार गंगाबहादुर तामाङ विजयी भए भने उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङ विजयी भइन् ।
गठबन्धनका अध्यक्ष उम्मेद्वार गंगाले ४६६६ मत ल्याएर विजयी हुँदा गठबन्धनकै समाजवादीका उम्मेदवार ढालबहादुर थापाले २४१८ मत ल्याएर तेस्रो बने । उता नेपाली कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवार भएका सुवास तिमल्सिनाले ४१०५ मत ल्याएर दोस्रो बन्दा कांग्रेसकै उपाध्यक्ष उम्मेद्वार सरुले भने ४३९४ मत ल्याएर विजयी बनिन् ।

नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवार रहेका नारायणकाजी श्रेष्ठले ३०३८ मत ल्याएर तेस्रो भइरहँदा एमालेकै उपाध्यक्ष उम्मेदवार सपना थापाले भने ३६३३ मत ल्याएर दोस्रो बनिन् ।
को हुन तामाङ
बलेफी गाउँपालिकामा अध्यक्षका उम्मेदवार गंगाबहादुर तामाङ तत्कालीन माओवादी जनयुद्धका साहसी कमाण्डर हुन् । साहसी त हुन्, मानिसहरु सोच्ने गर्छन् कमाण्डर भनेको डरलाग्दो हुन्छ । तर, तामाङ निकै सरल र मिजासिला छन् । उनलाई जनयुद्धमा प्रवेश भनेर चिनिन्थ्यो । अहिले पनि कतिपयले उनलाई प्रवेश नै भनेर चिन्छन् ।
स्थानीय तहको पहिलो निर्वाचनमा प्रवेशले थोरै मतान्तरले हारे । जितेका एमाले नेता केदार क्षेत्री सबै जिम्मेवारी त्यागेर काँग्रेस छिरेका छन् । बलेफीका स्थानीयले आजकाल भन्छन्, ‘जनप्रतिनिधि सरल र जनताको पहुँचको मानिस हुनु पर्दोरहेछ । त्यस्तो व्यक्ति प्रवेश हुन् ।’ चुनाव हारेपनि उनले गाउँघर छोडेनन् । निरन्तर जनताको घरदैलोमा पुगिरहे । सायद त्यसैको प्रभावले होला, अहिले तामाङको चुनावी माहोल उत्साहप्रद देखियो र जित हात पारे । स्थानीयको चासो अरुमा भन्दा उनमा बढी देखियो ।
माओवादी जनयुद्धका बेला उनी जनमुक्ति सेनाको कम्पनी कमाण्डर थिए । कुनै समय उनले तीन सयसम्म जनमुक्ति सेनालाई कमाण्ड गरेर विभिन्न मोर्चाको नेतृत्वसमेत गरे । दर्जनौं भिडन्तमा सामेल भए । गोलीको पर्रा, बारुदको छर्रा र चोटैचोटले भरिएको शरीरलाई अहिले पनि निरन्तर राजनीतिमा लगाउनु उनको अर्को साहसी काम हो । तामाङ सानो ठूलो भन्दैनन् । सबैसँग बराबर सम्बन्ध र व्यवहार गर्छन् । तुने चप्पल लगाएर गाउँघरमा पुग्छन्, खेतीपाती गर्छन् । आवश्यक पर्दा युटर्न लिएर पार्टी निर्णयलाई लागु गर्न अग्रस्थानमा देखापर्छन् ।

प्रतिक्रिया दिनुहोस्