२०८१ भाद्र २३
                           

को हुन हर्क साम्पाङ?

जेठ ८,  धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् ।
राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाइन् ।
धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षका राईले यस पटक लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।
उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । २० हजार ५१० मत ल्याएर बेघा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत मात्र पाए ।

को हुन हर्क साम्पाङ?
= पुर्व ब्रिटिश लाहुरेका छोरा हर्कराज राईको बि.स. २०३९ सालमा खोटाङमा जन्म भएको थियो। गाउँकै स्कुलबाट एसएलसी पास गरेपछि २०५५ सालतिर उच्च शिक्षाका लागि धरान झरेका थिए।
= धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसबाट उनले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन।
= केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाएर रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए।
= साहित्यमा रुचि भएका उनी आंफै गीत लेख्छन्, गाउँछन्। एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एल्बम पनि निकालेका छन्।

= कुनै काम सुरु गरेपछि निरन्तर लागिरहने जिद्दी र विद्रोही स्वभाव भएका उनमा देशको लागि केही गरौं भन्ने भावना छ।
यिनी २०७२ सालतिर धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठीबास लगाउने भएपछि बनेको संघर्ष समितिका सहसंयोजक बनेर आन्दोलन(संघर्ष)मा होमिएका थिए । जुन यिनको टर्निङ पोइन्ट बन्यो। त्यसपछि नै साम्पाङ धरानको सामाजिक मुद्दाहरुमा आवाज उठाउन थाले।

= साम्पाङ भ्रष्टचार र बेथितीविरुद्ध निरन्तर बोल्न थाले। जनताको जनजीविकाको सानो सानो विषयमा आवाज उठाइरहँदा नै आफूलाई जनताले विश्वास गरेको साम्पाङ ठान्छन्।
= ‘मैले ठूलो मुद्दा उठाएको होइन, जनताको जनजिविकाको विषयमा आवाज उठाएको हो, जनतालाई ठूलो कुरा चाहिएको पनि होइन रहेछ,’उनी भन्छन
= ‘खानेपानीको बिषय उठाए, नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचारबारे बोले, सुकुम्बासी संरक्षण र व्यवस्थानबारे बोले, सडकको खाल्डाखुल्डी, महंगी नियन्त्रणबारे पनि आवाज उठाए, त्यसैले जनताले मलाई नियालीरहनुभएको रहेछ।’
= स्थानीय मुद्दा मात्र होइन, सिमा अतिक्रमण र एमसिसिविरुद्ध पनि उनी कहिले एक्लै प्रर्दशनमा हिँड्थे, कहिले सिमित संख्यामा आफ्नो समर्थकहरुको साथमा विरोध प्रर्दशन गर्थे।

= सिमा अतिक्रमणको मुद्दा चर्किदा उनले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना अघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाऊ भन्दै प्रर्दशनसमेत गरेका थिए। सर्दु खोला जथाभावी उत्खनन् भएको विरोधमा जादा ठेकेदारको समुहले उनका समर्थकहरुलाई आक्रमण गरेर घाइतेसमेत बनाएको थियो। पछि प्रहरीले उल्टै उनी र उनका साथीहरुलाई मुद्दा चलाएको थियो। खानेपानी पाइप तोडफोड गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए।
= उनी जे गर्छन्, आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट लाइभ पनि गर्छन्। धरान र विदेशमा रहेका हजारौं मानिस उनीसँग त्यसरी जोडिएका छन्, र उनको अभियानबारे जानकार छन्। उनले चुनाव चिह्न लौरो पाएपछि सबै वडामा घरदैलो गर्न पाएनन्, र फेसबुकबाट नै चुनावी अभियान गरेका थिए।

= साम्पाङ आफ्नो शक्तिको स्रोत निष्ठा र निरन्तरता भएको बताउँछन्। उनी २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए। त्यसबेला मात्र उनले ४२२ मत पाए। त्यसबेला पनि धरानेहरुले परिवर्तनको पक्षमा भोट दिदै कम्युनिष्ट गढमा पहिलो पटक कांग्रेसका उम्मेद्वार तिलक राईलाई जिताए। कम्युनिष्टले जित्दै आएको धरानमा कांग्रेसलाई जिताउदा पनि अपेक्षाकृत काम हुन नसक्दा धरानेहरु निराश थिए।

यसपाली उनीहरुले उपयुक्त पात्रकोरुपमा आफूलाई भोट दिएको साम्पाङको भनाई छ। ‘राजनीतिक दलहरुले धेरै लापरवाही गरे। खानेपानी माग्न जादा प्रहरी लगाउने, मुद्दा लगाउने गरेपछि जनतामा वितृष्णा बढेर गयो। जनप्रतिनिधिहरु जो सत्तामा पुगेपनि दुरुपयोग गरे, र चुनावी मैदानमा मैले टक्कर दिने स्थिति बन्यो,’जनताले विश्वास गर्नुको कारणबारे उनी भन्छन्,‘उपनिर्वाचनमा हारेँ पनि म सधै जनताको माझमा थिएँ। टोल टोलमा समस्याहरु बुझ्दै हिडिरहे, मेरो त्यो निष्ठा देखेर पनि मलाई भोट दिनुभयो। राजनीतिक दलहरु चुनावको बेला मात्र घरदैलो गर्दै जान्छन्।’

उनले निरन्तर खानेपानीको मुद्दा उठाइरहेका छन्। आफु मेयरमा निवार्चित भएमा खानेपानीको चुहावट र कालाबजारी तत्काल रोक्ने काम प्राथमिकता दिने उनले बताए। राजनीतिक दलहरुले अपराधलाई लुकाउने गरेकोले आफु कुनै पार्टीमा नजाने उनको भनाई छ। तर, आस्था र सिद्धान्तको हिसाबले आफु कम्युनिज्म मन पराउने साम्पाङ बताउँछन्। ‘सैद्धान्तिक हिसाबले कम्युनिज्म मन पराउछुँ तर कुनै पार्टीको सदस्यता लिएको छैन। गरिब दुःखीहरुकै हितमा काम गर्छु, उनीहरुको संरक्षण गर्छु,’उनले भने,‘म राजनीतिमा रहिरहदिन। राजनीतिक दलका नेताहरु राम्रो नभएर मात्र हामी आउनु परेको हो। सेवा प्रवाह राम्रो हुनुपर्छ। जिते भने एक कार्यकाल गर्छु, पछि फेरि आवश्यकता पर्यो भने निरन्तरता हुनसक्छ।’

प्रतिक्रिया दिनुहोस्