२०८१ भाद्र २३
                           

गलैंचा बुनाइ व्यवसाय गरेर आत्मनिर्भर बन्दै महिला

दिपक खत्री,जेठ ११ — सिन्धुपाल्चोकका ग्रामिण भेगका महिला पछिल्लो समय गलैंचा बुनाइ व्यवसाय गरेर आत्मनिर्भर बन्दै जान थालेका छन् । सदियौं देखि चुलो चौकामा सिमित सिन्धुपाल्चोक जिल्लाका ग्रामिण क्षेत्रमा पछिल्लो समय आफै व्यवसाय थालेर गलैँचा बुझाइबाट महिलाहरुले आम्दानी गर्न थालेका छन् ।
केही महिना अघिसम्म घर धन्दामा मात्र व्यस्त रहने चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३बतासेकी मनमाया तामाङ अहिले महिनामा २० हजार सम्म कमाउँछिन् । तामाङले चौतारा साँगाचोकगढी नगरपालिका ३ नम्बर वडा कार्यालयले तीन महिने गलैँचा बुनाई तालिम दिएपछि घरमा नै बसेर गलैँचा बुनेर महिनाको २० हजार कमाउन थालेकी हुन् । एकातिर घरको कामधन्धा सकाएर फुर्सदको समय सदुपयोग भएको छ भने अर्कोतिर गलैँचा बुझाइबाट हुने मासिक आम्दानीले घर खर्च टरेपछि सजिलो भएको उनको भनाई छ ।


त्यस्तै ,घर खर्चकै विषयले श्रीमानसँग झगडा परेर छुटिएर बसेकी खालेकी दानमाया तामाङलाई गलैंचा बुनेर बेचेर कमाएको पैसाले दुई छोरा छोरीको पढाइ र अन्य खर्च धान्न सजिलो भएको छ । २०७२ साल अघि काठमाडौंं बौद्धमा बसेर गलैँचा बुन्दै आएकी तामाङ सोही सालको १२ गतेको भूकम्पपछि काठमाडौँ फर्कनु परेन । बरु उल्टै गलैँचा बुन्ने काम घरबाट नै सुरु गरिन् । घरको कामधन्दा सकाएर फुर्सदको समयमा गलैँचा बुन्दा आम्दानी पनि हुने र घर परिवारको राम्रो हेरचाह पनि गर्न सकिने भएपछि गाउँमाकै बसेर गलैँचा बुन्न थालेको उनले बताईन् ।
सिन्धुपाल्चोक जिल्लाको विकट र दुर्गम भेगहरू जुगल, हेलम्बु, लिसंखुपाखर, पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाका महिलाहरूको पनि मुख्य आयस्रोत गलैँचा बुनाइ भएको छ । महिला स्व रोजगारसँगै बजारीकरण पनि राम्रो हुन थालेपछि स्थानीय सरकारले पनि गलैँचा बुनाई तालिम सञ्चालनसँगै गलैँचा बुन्ने तान लगायत आवश्यक सामाग्री पनि निःशुल्क वितरण गर्दै आएको छ ।अरू तालिमको तुलनामा गलैँचा बुनाई तालिम प्रभावकारी रहेको चौतारा नगरपालिका–३ बतासेका अध्यक्ष टेक बहादुर तामाङको भनाई छ ।

गुणस्तरीय गलैँचाका लागि बजारको अभाव नभएको उद्यमीको भनाई छ । गलैँचा बुन्नका लागि धागो लगायतका सामाग्रीहरु व्यवसायीले ल्याई दिने र बुने बापतको ज्याला गलैँचाको स्तर हेरेर भुक्तानी दिने गरेका छन् । सिन्धुपाल्चोकका महिला , मेहनत गर्न जाँगर चलाउने हो भने त्यतिकै खेर जाने फुर्सदको समयलाई सदुपयोग गरेर पनि मनग्गे आम्दानी गर्न सकिने उदाहरण बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्