किशोर श्रेष्ठ,
२०५९ साल जेठ अन्तिम साताको कुरा हो । मंगलबार राती हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो–”कृष्णलाई त मार्यो नि !”
“को कृष्ण ?”- उसले डिटेलमा भन्न सकेन । संकटकालको बेला थियो–सेना,प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था । दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको बर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने ब्यक्ति कृष्ण सेन मारिएको ठाँउका प्रत्यक्षदर्शीमध्येकै ।
फोन आएपछि यस विषयमा छलफल गर्यौँ । तर कन्फ्युजन भयो । मारिएका ब्यक्तिको नाम कृष्ण मात्रै भनिएको थियो । जबकि पक्राउ परेका दुई जना थिए । कृष्णध्वज खड्का र अर्का कृष्ण सेन “इच्छुक” । हामीले यो हप्ता विस्तृत सूचना पाउन नसकेपछि समाचार लेखेनौं । अर्काे हप्ता सोमवार फेरि फोन आयो । स्रोतले भन्यो–”तपाईंहरु समाचार छाप्न डराउनु भएछ यार ।” हामीले भन्यौं,किन डराउनु र को कृष्ण हो,डिटेलमा भन्नु पर्यो नि !
उसले भन्यो,त्यो पत्रकार कृष्ण के त ! यसपछि भने मारिने ब्यक्ति कृष्ण सेन “इच्छुक” नै रहेछन् भन्ने पक्का भयो । उनलाई जेठ ६ गते प्रहरीले पक्रिएको थियो । त्यो घटना थियो जेठ १३ गतेको । घटना के हो भनेर सोध्दा स्रोतले भन्यो,–बसेर केरकार गर्दागदै ढल्यो । औषधी नियमित खानुपर्ने उसलाई मुटुको रोग पनि रहेछ । औषधी पनि खान नपाएको,अलिअलि गर्दागदै ढल्यो । कृष्ण सेनको हत्या हुँदा त्यहाँ को–को थिए ? यो प्रश्नमा स्रोतले भन्यो,तत्कालिन भ्याली डिआइजी,नगर प्रहरीका इन्चार्ज र ज्याङगो ज्यान भएका इन्स्पेक्टर कमल खाँण । उनीहरुले नै कुटेर मारेका हुन् ।
पिकअप गाडीमा हालेर लगे र विष्णुमतितिर सेलाए । पोल्नुभन्दा पहिला इन्काउन्टरमा मारिएको भन्ने पार्नलाई छातीमा दुई वटा गोली हानेर मुचुल्का बनाए । स्रोतले यस्तो जानकारी दिएपछि हामीले ०५९ असार १२ गतेको जनआस्था साप्ताहिकमा ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकमा अलविदा कृष्ण सेन भनेर लेख्यौं । कृष्ण सेन मेरा पनि साथी थिए । म पत्रकार महासंघमा महासचिव उठ्दाखेरि महेश्वर दाहाल केन्द्रीय सदस्यका उम्मेदवार । हामीबीच संयुक्त प्यानल बनाउँदा कृष्ण सेन पनि सँगै थिए ।
समाचार लेख्ने बेलामा मैले तत्कालिन भ्याली डिआइजीलाई पनि पुस्ट्याइँको निम्ति सोधेँ । उनले भाइ,लेख्नचाहिँ नलेख्नुहोस्,तर अलिअलि तीतोमिठो गर्दागर्दै गयो क्या भने । अर्काे हप्ता जनआस्थाले फलोअप स्टोरी गर्ने क्रममा फेरि पुरानो स्रोतलाई सोधियो,आखिर सेनलाई कसरी मारियो त ? स्रोतले भन्यो,तिनै डिआईजीले कृष्ण सेनलाई सोधे,ल भन् ‘तँ ठकुरी,म पनि ठकुरी,राजा त झन ठकुरी,तैँले के ठानेको छस् र के गर्न सक्छस् ?’ कृष्ण सेन त्यत्ति बोलिराखेका थिएनन्,उनी कमजोर थिए । त्यही क्रममा सानो कोठामा लगेर भाक्कभुक्क हिर्काउँदा हिर्काउँदै मरिहाले ।
सेनको हत्यासम्बन्धी समाचार आएपछि गृहमन्त्रालयले यसबारेमा छानविन गर्न गुप्तचर उपप्रमुख श्रीपुरुष ढकाल (पछि लोकसेवा आयोग सदस्य ) को नेतृत्वमा टिम बनाएको थियो । डा.हरिहर वस्तीले पोष्टमार्टम गरेको भन्ने उसको रिपोर्ट छ । मंगोलियन अनुहारको,यति उमेरको मान्छे गोकर्णको जंगलमा इन्काउन्टरमा मारिएको भन्ने निचोड छ उक्त आयोगको । कृष्ण सेनको समाचार लेखेपछि जनआस्थामाथि चर्काे प्रहार भयो ।
त्यतिबेला देवेन्द्रराज कँडेल गृहराज्यमन्त्री थिए । शेरबहादुर देउवा प्रधानमन्त्री । हिरासतमा भएको मान्छेलाई कुटिकुटी मारेको समाचार ब्रेक गरिसकेपछि उनीहरुलाई सिपीजेबाट चर्काे दबाब आयो । पत्रकार गोपाल बुढाथोकीलाई त्यही बेला सेनाले अपहरण गर्यो,मैले पनि भागीभागी हिंड्नुपर्यो । तात्कालिन प्रधानसेनापति प्रज्वलसमशेरको समाचार लेख्दा मलाई अफिसबाटै पक्राउ गरियो । उनीसँग र्याडिसन होटलको यौटा रिसेप्सनमा मेरो झगडै भयो,उनले तँलाई सुट गर्छुसम्म भने । मैले उनलाई “तँ एक बर्षमा भूपू हुन्छस्,अवकाश पाएकै दिन तेरो बन्दुक थन्किन्छ तर म त आफूले चाहुन्जेल पत्रकारितामै हुन्छु,नमरुन्जेल कलम मैसङ्ग हुन्छ”भनेरै थर्काएँ । पञ्चायतमा विमर्श साप्ताहिकबाट शासकहरुलाई जस्तो अप्ठयारो थियो,त्यो बेला जनआस्थाबाट पनि शासकहरु त्यसैगरी आत्तिएको अवस्था थियो । त्यसपछि राज्यसत्ताले अनेक अत्तो थापेर जनआस्थालाई बन्द गर्न के-के गर्दै गयो घटनाक्रम ताजै छन् ।
हार्दिक श्रध्दान्जली साथी कृष्ण सेन !
प्रतिक्रिया दिनुहोस्