२०८१ भाद्र २३
                           

सुकुटेमा महिलाहरु रिभर गाइड तालीम लिदै

असार ३, देशकै चर्चित पर्यटकिय हब सिन्धुपाल्चोकको सुकुटेमा महिलाहरुको लागि रिभर गाइड तालीम जारी छ । भोटेकोशी नदिमा असार एक गते बुधबारबाट सुरु भएको दुईहप्ते बेसिक रिभर गाइड तालीममा विभिन्न जिल्लाका ४४ जना महिला प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।
सुकुटे भ्याली रिसोर्टमा एक औपचारिक कार्यक्रमका बीच तालीमको उद्घाटन भएको थियो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम , नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज नाराको सहकार्य तथा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोगमा तालीम संचालन भएको नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजका महासचिव तथा सुकुटे भ्याली रिसोर्टका संचालक नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
महिला रिभर गाइड तालिम नेपालमा पहिलो पटक आयोजना गरिएको बताइएको छ । यो निशुल्क तालीम हो । दक्ष तथा अनुभवि प्रशिक्षकहरु मार्फत तालीम प्रदान गरिने बताइएको छ ।
साहसिक खेल राफ्टिङ (जल पर्यटनका लागि भोटेकोशी नदि निकै चर्चित छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी, युएनडिपी का कल्पना सरकार, ज्ञानेश्वर महतो, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज का अध्यक्ष शिव अधिकारी लगायतको उपस्थिति रहेको थियो।
रोजगारी, आत्मनिर्भरता र उद्यमशिलता विकास गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो । दुई हप्ते तालीम पछि अर्को एड्भान्स तालीम लिएर लाईसेन्स लिएपछि मात्र व्यावसायीक रिभर गाइड बन्न पाउने प्रावधान रहेको नारा ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्