असार ४,
सिन्धुपाल्चोकका स्थानीय तह आर्थिक वर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुट्न थालेका छन् । जसमा जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को लागि सरोकारवालाहरुसँग नीति योजना तथा कार्यक्रमको तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार चौतारामा गरेको छ ।
बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु हुँदै गर्दा चौतारा साँगाचोकगढी नगरपालिकाले आम नागरिकसँग सुझाव , सल्लाह सङकल गरी सङ्कलन भएका सुझावलाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री युवराज दुलाल शरदले कार्यसम्पादन क्षमताको आधारमा योजना बनाएर काम गर्न आग्रह गर्नुभयो । अबको नगरपालिकाको नीति कार्यक्रममा सुशासन र सेवा प्रवाहमा सबै सामुहिक हौ भन्ने भाव सहित आउनुपर्ने बताउनुभयो । सांसद दुलालले बजेट बन्ने समयमा भौतिक निमार्णमा वढी माग हुने समस्या रहेको भन्दै त्यसबाट मुक्त हुने अवसर सहित बजेट बनाउन नगरपालिकालाई आग्रह गर्नुभयो । दुलालले भन्नुभयो, ‘स्थानिय तहले सामाजिक क्षेत्रका, तल्लो तहका विकास निमार्णका काम गर्न सक्नुपर्छ । ’स्थानिय तहको दोश्रो कार्यकालमा विगतमा भएका राम्रा र कमजोरीको शिक्षा लिएर नगरपालिका अगाडि बड्नुपर्ने दुलालको भनाई थियो । उहाँले तिन तहकै सरकारको समस्या सबै काम आफै गर्नुपर्ने अस्वस्थ राजनितिक प्रतिस्पर्धाको आलोचना समेत गर्नुभयो । त्यस्तै अर्को प्रसंगमा उहाँले कर्मचारी संयन्त्रमा कार्यसम्पादन क्षेत्रमा कोहि क्षमतावान र कोहि सिफारिस सम्म बनाउन नसक्ने अवस्थाको रहेको तर्क गर्दै यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
नगरपालिकाका १४ वटा वडाका वडाध्यक्ष नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत सुझाव माग गरी सो कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै कार्यक्रममा माओवादी केन्द्रिय सदस्य माधव सापकोटा ,निवर्तमान मेयर अमान सिंह तामाङ, काग्रेस उपसभापति टंक कार्की, नगर सभापती तथा एमालेका भिमसेन खड्का, समाजवादीका रविन्द्र शर्मा लगायतको उपस्थिती थियो ।
बिशेष गरी कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषि तर्फको योजनालाई समेट्न सुझाव आएको छ । कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र जीविकोपार्जनतर्फ केन्द्रीत भएर नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने नगरप्रमुख कृष्ण प्रसाद सापकोटा देशबन्धुले बताउनुभयो ।
उहाँका अनुसार समावेश गर्नुपर्ने विषयवस्तुका सम्बन्धमा रचनात्मक सुझाव दिएकोमा सम्पुर्ण मा धन्यबाद ब्यतm गदै स्रोतले भ्याएसम्म काम हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्