२०८१ भाद्र २३
                           

निर्वाचनमा हुने सबै किसिमका विकृति अन्त्य गर्ने अभियान थाल्न सभामुखको आग्रह

२५ असार,  प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै सञ्चालन गर्न युवाहरूलाई आग्रह गर्नुभएको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियाननै सञ्चालन गर्न युवाहरूलाई अनुरोध गर्नुभएको हो ।

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उहाँले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो ।

सभामुख सापकोटाले युवाहरूले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरी पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गराउनुभयो ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको उल्लेख गर्दै उहाँले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वहरूले अघि बढ्न जरुरी रहेको समेत बताउनुभयो ।

सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले शिर ठाडो पारेर बाँच्नका लागि पनि युवाहरूले विचारद्वारा निर्देशित हुने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्