२०८१ भाद्र २३
                           

रातभरि निदाउँदैनन् नदि तटिए क्षेत्रका बासिन्दा

साउन ६ — अन्य बेला कुनै चिन्तामा नहुने खोला किनारामा घर बनाएर बस्ने सर्वसाधारण बर्षाको समयमा भने रातभरि निदाउँदैनन् । पानी परेको रात सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती ,सुनकोसी तथा ब्रम्हायणी नदि तटिय क्षेत्रका सर्वसाधारण रातभर जाग्राम बस्ने गरेका छन् । बर्षायाममा परेको पानीका कारण उर्लिएर आएको बाढीले आफ्नो बसोबास नै सखाप पारिदिने भयका कारण उनीहरु रातभर सुत्न नसक्ने राधिका कटुवाल बताउनुहुन्छ ।
यसपटक पनि मेलम्ची खोलाले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण पर्याप्त छैन । जिल्लामा नदि क्षेत्रमा नागरिकले पनि सुरक्षा संवेदनालाई ध्यान नदिएर पेलेर घर बनाएको देखिन्छ । गत साल मात्र मेलम्ची क्षेत्रमा अचानक आएको विनाशकारी बाढीका कारण हेलम्बु र मेलम्ची क्षेत्रका कैयौँ सर्वसाधारण विस्थापित बन्नुपर्यो । जब आकाशमा बादल मडारिन थाल्छ तब नदि तटिय क्षेत्रका नागरिकमा डर त्रासले डेरा जमाउछ । विगतमा बर्षायाममा आएको बाढीले घर भत्काउने गरेको सुनाउँदै अहिले पनि त्यस्तै होला भन्ने त्रासले रातभरि निन्द्रा नलाग्ने तटिए क्षेत्रका बासिन्दा सरस्वती दुलालको भनाई छ ।
सिन्धुपाल्चोकमा रहेका हिमनदी र यहाँका उच्च पहाडी भागमा धेरै पानी पर्ने प्रवृत्तिको असर विनाशकारी बाढी र पहिरोको रूपमा देखिएको विज्ञहरुको अध्ययनले देखाउछ । विपत्तिबारे स्थानीय सरकार र जिल्ला विपत व्यवस्थापन समिति पनि जानकार छ । तर बाढीको जोखिममा रहेका बस्ती सार्नको विकल्प नभए पनि स्थानीयस्तरबाट त्यो सम्भव नभएको जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङ्रबोको भनाई छ ।
प्रत्येक वर्ष वर्षाका बेला आउन सक्ने बाढी र पहिरोलाई दृष्टिगत गर्दै दीर्घकालीन रणनीति बनाउन नसक्दा नदि तटिए क्षेत्रका नागरिक अनिदो बस्नुपर्ने अवस्था छ । तीन तहकै सरकारले यसमा ढिला गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्