२०८१ भाद्र २३
                           

मुख्य नाका बन्देउलाई व्यवस्थित र आधुनिक शहरको रुपमा विकास गरिने

साउन १६, जिल्ला भित्रिने मुख्य नाका बन्देउलाई व्यवस्थित र आधुनिक शहरको रुपमा विकास गरिने भएको छ । चौतारा साँगाचोकगढी वडा न ११ मा पर्ने बन्देउलाई पर्यटकीय हबको रुपमा विकास गर्न लागि व्यवस्थित र आधुनिक सहर बसाल्न नगरपालिकाले योजना अघि सारेको हो ।

मध्य पहाडी लोकमार्ग, अरनिको राजमार्ग र चौतारा बन्देउ सडकको संगमस्थलसमेत रहेको बन्देउ पर्यटकीय क्षेत्र दोलालघाट र सुकुटे क्षेत्रको केन्द्रमा रहेको छ । पर्यटकीय हिसाबले पनि प्रवल संभावना बोकेको बन्देउलाई आर्थिक तथा औद्योगिक क्षेत्रको रुपमा विकास गर्नका लागि नगरपालिकाले योजना बनाएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशवन्धुले जानकारी दिनु भयो । खासगरि जिल्ला सदरमुकाम चौतारा प्रवेश गर्ने मुख्य मार्ग र दुईवटा राष्ट्रिय राजमार्गको संगमस्थल भएको कारण बन्देउलाई नयाँ शहरको रुपमा विकास गरि ब्यापारिक र पर्यटकीय केन्द्र बनाउन नगरको योजना रहेको मेयर सापकोटाको भनाई छ । यसका लागि संभाव्यता अध्ययन गरि नयाँ सहरको रुपमा विकास गर्न सहरी विकास तथा भवन निर्माण विभागको नयाँ शहर आयोजनाको कार्यक्रममा समावेश गरिने नगरापालिकाले जनाएको छ ।

बन्देउलाई व्यवस्थित, आर्थिक तथा औद्योगिक शहरको रुपमा विकास गर्नका लागि १२ औं नगरसभाले व्यवस्थित योजना बनाई शहरी विकास मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागलाई अनुरोध गर्ने निर्णय समेत भएको उपमेयर सीता थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्