२०८१ भाद्र २३
                           

घरघरमा पुगी कुकुरहरूलाई रेविज विरुद्धको खोप

साउन १६ — पाँचपोखरी थाङ्पाल गाँउपालिका वडा नं ४ थाङ्पालकोटमा घरघरमा पुगी कुकुरहरूलाई रेविज विरुद्धको खोप दिइएको छ । रेविजको लक्षण देखिने बौलाहा कुकुरको संख्या बढ्दै गएपछि वडा नं ४ का जनप्रतिनिधि, गाउँपालिकाका पशु सेवा शाखाका कर्मचारी, वडाका पशु प्राविधिकहरु र स्थानिय युवाहरु घरघरमा नै पुगेर खोप कार्यक्रम संचालन गरिएको हो ।

बौलाहा कुकुरको टोकाईबाट आईतबार एकै दिन पाँच जना घाईते भएका थिए । सोमबार ती बौलाहा कुकुरलाई नियन्त्रणमा लिएको र बाँकी कुकुरलाई नियन्त्रणमा लिने कार्य जारी रहेको वडा पशु प्राविधिक फुन्चोक लामाले बताउनुभयो ।

वडा र गाँउपालिकाको सहकार्यमा तुरुन्तै बौलाहा कुकुरलाई नियन्त्रण गर्दै रेविज विरुद्धको खोप अभियान सञ्चालन गरेको वडा नं ४ का अध्यक्ष कुल बहादुर बस्नेतले बताउनुभयो । उहाँले गाँउपालिका भरि एक चरण रेविज विरुद्धको खोप लगाउन बाँकी कुकुरहरू लाई खोप दिने अभियान चलाउनु पर्ने र बौलाहा तथा व्यवहारिसे कुकुरहरूलाई व्यवस्थापन गर्न गाउँपालिकाले तत्कालै कार्य अगाडि बढाउनु पर्ने पनि उल्लेख गर्नुभयो ।

कुकुरहरूलाई छाडा नछोड्न र सडकमा छाडा छोडिएका कुकुर बाट होसियार हुन सर्वसाधारणलाई गाउँपालिकाले विज्ञप्ति मार्फत अनुरोध समेत गरेको छ । साथै बौलाहा कुकुर देखेमा सम्बन्धित वडा कार्यलय तथा कृषि पशु सेवा ईकाई, पशु सेवा शाखा र गाँउपालिका कार्यलयमा जानकारी गराउन पनि सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्