२०८१ भाद्र २३
                           

समुदाय र समाज परिचालन गरेर मात्रै बालविवाह न्यूनिकरण सम्भव ः मेयर सापकोटा

साउन १८, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बालविवाह न्यूनिकरणका लागी समुदायको संस्कार परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्रले आयोजना गरेको बालविवाह न्यूनीकरण सम्बन्धि छलफल तथा परामर्श कार्यक्रममा यस्तो बताउनुभएको हो ।

उहाँले समुदाय र समाज परिचालन गरेर मात्रै बालविवाह न्यूनिकरण हुने समेत बताउनुभएको छ ।चौतारा साँगाचोकगढी नगरपालिमा रहेको बालविवाहको अवस्थाको सर्वेक्षण गरेर तत्काल नगरपालिकाले निति तथा कार्यक्रम बनाउने समेत उहाँले बताउनुभएको छ । समाजसँग प्रत्यक्ष संलग्न रहने कार्यक्रमहरुको प्रथामिकिकरण गरेर कार्यक्रमहरु अगाडी सारेको बताउदै नगरप्रमुख सापकोटाले यस विषयमा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समेत सहकार्य गरेर प्रभावकारी कार्यक्रम बनाउने उदघोष गर्नुभएको छ ।

यस्तै छलफल कार्यक्रममा उपप्रमुख सिता थापाले महिला तथा बालवालिकाको क्षेत्रमा आफु संवेदनशिल भएर उभिएको बताउदै अबका दिनहरुमा समेत नगरपालिकाले स्रोत सुनिश्चितता गरेर बालविवाह न्यूनीकरण, महिला हिंसा र यौन दुव्र्यवहार जस्ता कार्यक्रमहरु प्रथामिकतामा राखेर संचालन गर्ने बताउनुभयो ।

छलफलका क्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले बालविवाह न्यूनीकरणका लागि जनचेतनाको अभिवृद्धी नै अन्तिम बिकल्प रहेको बताउदै जनचेतना अभिवृद्धीको लागि सबैले सहकार्य गरेर अगि बढनुपर्ने बताउनुभयो । आदिवासी जनजाति महिला उत्थान केन्द्रको अध्यक्ष पनमाया तामांगको अध्यक्षतामा भएको छलफल कार्यक्रममा वडाध्यक्ष, पत्रकार र किशोरी समुहका किशोरीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्