२०८१ भाद्र २३
                           

विभिन्न ठाउँमा पहिरो गएपछि मेयर सापकोटाद्वारा निरीक्षण र तत्काल राहत प्रदान

चौतारा/ चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न भागमा पहिरो गएपछि मेयर कृष्णप्रसाद सापकोटा घटनास्थलमै पुगि पहिरो प्रभावितहरुको समस्याको सम्वोधन गर्नु भएको छ ।

गए राति अविरल वर्षासँगै चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३, जंगलछाप, वडा न १२ लप्से, वडा न १० र ९ को विभिन्न ठाउँमा पहिरोले क्षति पुर्याएको स्थानमा विहानदेखि नै अवलोकन गर्दै मेयर सापकोटाले ती ठाउँमा पहिरो नियन्त्रण र प्रभावितहरुका लागि तत्काल राहत वितरणको व्यवस्था गर्नु भएको हो ।

वडा न ९ र १० सीमानामा पर्ने अधेरी खोला पसेर बस्तीलाई क्षति पुर्याएपछि नगरपालिकाले तत्कालै बाढी नियन्त्रणका लागि ६० थान उपलव्ध गराएको छ । त्यस्तै वडा न १०, १३ र १४ मा पहिरो नियन्त्रणका लागि ७० थान त्रिपाल र प्रभावितहरुलाई तत्काल बसोबास गर्नका लागि १६ थान टेण्ट उपलव्ध गराइएको छ ।

अविरल वर्षासँगै आएको पहिरोले चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३, जंगलछापमा दुई घर पुरिएको थियो भने १८ घर उच्च जोखिममा रहेको छ ।

बस्तीमाथिबाट पहिरो जाँदा वडा न १२ लप्सेमा विष्णुराज गिरीको घर पुरिनका साथै ८ वटा बाख्रा बोको पुरिएको प्रहरीले जनाएको छ । वडा न ९ को जल्कीने भैंसे सडक खण्ड पूर्ण रुपले अवरुद्ध भएको छ भने बन्देउ चौतारा सडक खण्डको ५० भन्दा बढी ठाउँमा साना र ठूलो पहिरो गएको छ । पहिरो गएर बाटो अवरुद्ध भएपछि विहानदेखि सवारी आवागमन पनि अवरुद्ध भएको थियो । वडा न १० कै जल्किनेदेखि हर्रे डाँडासम्मका सडक दायाँबायाँका करिब २० घर पहिरोको उच्च जोखिममा परेको छ भने ठाउँ ठाउँमा सडक भासिएको छ ।

अधेरी खोला बस्ती भित्र पस्दा रमाइलो डाँडाको ३ घर उच्च जोखिममा परेको छ । वडा न १३ को धेरै ठाउँहरुमा पहिरो जाँदा झण्डै ३० घर जोखिममा परेको वडा अध्यक्ष रामप्रसाद गौतमले जानकारी दिनु भयो ।

नगरको विभिन्न ठाउँमा पहिरो गएपछि विहानैदेखि प्रहरी र स्थानीय उद्धार तथा राहतमा जुटेका छन् । ारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, उपमेयर सीता थापा, वडा न १० र १३ का वडा अध्यक्ष निरबहादुर तामाङ, रामप्रसाद सापकोटा, नगर विपद व्यवस्थापन समितिका संयोजक चिरन कटटेल, पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, सुरेश कसजू, कमला पाख्रिन लगायतले पहिरोग्रस्त सबै स्थानमा अनुगमन गरेका थिए ।

नगरपालिकाले आजै विपद व्यवस्थापनको बैठक बसी पहिरो नियन्त्रण गर्नका लागि विभिन्न योजना बनाएको छ । वडा अध्यक्ष रामप्रसाद गौतम, निरबहादुर तामाङ र उद्धव नेपालले वडाको बस्तुस्थितिको जानकारी दिनु भयो भने प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र पत्रकार महासंघको अध्यक्ष जीवन श्रेष्ठले विपत्त प्रतिकार्य र पूर्वतयारीका लागि नगरले गम्भीर भएर लाग्न आग्रह गर्नु भयो ।

मेयर सापकोटोले सुझावहरुलाई कार्यान्वयको तहमा लैजाँदै तत्काललाई बाढी पहिरो नियन्त्रण र प्रभावितहरुका लागि उद्धार र राहतका लागि अघि बढ्ने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्