२०८१ भाद्र २३
                           

चँदुवाले चिटिक्क चौतारा । के के हुँदै छ भोलि चौतारामा?

चौतारा/ नेवार समुदायभित्र मनाईने गाईजात्रा र नेपाली हिन्दुहरुको महान् चाड कृष्ण जन्माष्टमीलाई लक्षित गर्दै सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराको आकाशभरि नै चँदुवाले सझाइएको छ ।

परापूर्वकालदेखि मनाइँदै आएको गाइजात्रा पर्व र कृष्ण जन्माष्टमीलाई अझ आकर्षक र भव्यरुपमा मनाउन चौताराको पूरानो बजारलाई दुलही झै शृंगारिएको हो ।

हरेक गाईजात्रामा यहाँ भव्य मेला लाग्दै आएको छ । यस वर्ष पनि अझ भव्यरुपमा मनाउन सिन्धु नेवा खलले विभिन्न कार्यक्रमहरुको तयारी गरेको छ । बजारमा सरसफाई गरिएको छ भने चँदुवाले आकाश ढाकेको छ । नेवा खलको अनुसार यसपटक सानासाना बालबालिकाहरुले धिमे बाजा बजाउने छन् भने बुहारी र छोरीहरु घिन्ताङघिसी ट्वाकमा नाच्ने छन् । दिउँसो ३ बजेबाट सुरु हुने गाईजात्रा कार्यक्रममा स्थानीय कविहरुबीच व्यँग्यत्मक कविता बाचन प्रतियोगिता हुने छ । लाखे लगायत विभिन्न झाकी र मरुनी प्रस्तुत हुने छ । कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बीरेन्द्र रत्न शाक्यका अनुसार यसपटक पनि गाईजात्राको अवसरमा कृष्ण मन्दिरको भित्तामा हास्य व्यँग्यात्मक हस्त लिखित भित्ते पत्रिका टाँसिने छ । जुन प्रत्यक गाईजात्रामा यहाँका स्थानीयहरुका लागि आकर्षणको केन्द्र बन्दै आएको छ ।

२०३६ सालबाट सुरु भएको व्यँग्यात्मक भित्ते पत्रिकामा स्थानीय राजनीतिक, सामाजिक, साँस्कृतिक र प्रशासनीक विकृति र विसंगतिविरुद्धका सामाग्रीहरुले स्थान पाउँदै आएको छ । त्यस्तै यसपटक गाईजात्रा र क्वाँटी पूनि ( जनै पूर्णिमा )एकै दिन परेको हुनाले गाईजात्रा मनाउन आउने भक्तजन एवम् सहभागि सबैलाई क्वाँटी खुवाउने कार्यक्रम पनि रहेको स्थानीय राजेश श्रेष्ठले जानकारी दिनु भयो । यससँगै गाइजात्रा हुने नियमित कार्यक्रम बाजागाजासहित तहामचा र गाईले बजार परिक्रममा गरिने पनि खलले जनाएको छ ।

त्यस्तै कृष्ण जन्माष्टमीको दिन पनि यहाँ भव्य मेला लाग्ने गर्दछ । मेलामा विभिन्न झाँकी, बाजागाजासहित कृष्णको प्रतिमालाई रथारोहण गरि बजार परिक्रमा गर्ने चलन छ भने रातभरि साँस्कृतिक कार्यक्रम हुने गर्छ ।

कुनै पनि संस्कृतिले त्यहाँको समाजको चित्रण पनि गर्दैन, त्यो समुदायको पहिचान पनि प्रर्दशन गर्छ । आफ्नो लोप हुँदै गएको कला र संस्कृति संरक्षण गर्न यतिखेर चौताराका नेवार समुदाय कम्मर कसेर लागेका छन् । समुदायले एकताको प्रर्दशन गर्दै यसपटक गाईजात्रालाई भव्यरुपमा मनाउन लागेको छ । यसअघि लाखे नाच कपालीहरुले नाच्दै आएका थिए । यसपटक सो नाच नाच संकटमा परेपछि समुदायका व्यक्तिहरु आफै नाच्ने तयारी गरेका छन् भने संस्कृतिलाई जोगाउन आवश्यक आर्थिक स्रोतका लागि विभिन्न व्यक्तिहरुले स्वतस्फूर्त आर्थिक सहयोग गरेका छन् । त्यस्तै आवश्यक सामाग्री खरिद गर्नका लागि सञ्चारकर्मी सुरेश कसजू लगायतले आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै घिन्ताङघिसी ट्वाक नाच्ने, धिमे बजाउने र साँस्कृतिककर्मी, स्वयम्सेवकहरुका लागि भेषमा एकरुपता ल्याउनका लागि वडा अध्यक्ष शिव श्रेष्ठ, सविन हार्डवयर र जिगिषा हार्डवयरले टिसर्ट सौजन्य गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्