२०८१ भाद्र २३
                           

जाने हैन त स्याबल पोखरी (फोटो फिचरसहित)

साउन ३०, सुन्दरता कस्लाई मन नपर्ला र ! सुन्दर तस्बिर हेर्ने मन सबैको हुन्छ । सुन्दरताले मनमा अनेकौं थरिका रंग भर्छ । सुन्दरताले नै दुःख पीडा भुलाउँछ । मन शान्त र सुमधुर बनाउँछ । हिमालको काखमा रहेका यस्तै कतिपय ताल, पोखरी र प्राकृतिक सुन्दरताले पर्यटकहरुलाई मोहित बनाउछ ।

पर्यटकहरुले भ्रमणको बेला विभिन्न जातजातिका, धर्म, संस्कृति र जीवनशैलीको अध्यन गर्न सक्दछन । अर्को तर्फ यात्रामा विविधतापूर्ण मौसम, प्राकृतिक खोल्सामा कलकल गर्दै बग्दै गरेको पानी, पहाडबाट खसेको झरना र हिमालको अवलोकन गर्न समेत सक्दछन ।

जसमा छन् एक पटक पुग्नै पर्ने सुन्दर पर्यटकिय धार्मिकस्थल सिन्धुपाल्चोक जिल्लाको जुुगल गाउँपालिका वडा न.३ मा अवस्थित ऐतिहासिक तथा पर्यटकीय स्थल स्याबल , सत्य , न्याखर्क पोखरी ।समुद्री सतहबाट ४२०० मिटर उचाइमा अवस्थित स्यापल पोखरी , ४३६५ मिटर उचाईमा सत्य पोखरी (बौलाह) , ४३६७ मिटर उचाईमा न्याखर्क पोखरी पवित्र धार्मिक तीर्थस्थलका रुपमा परिचित छन् । विशेष गरि यो स्याबल प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक पोखरी हो । स्याबल पोखरीको लगभग लम्बाई ५०० मिटर र चौडाई ३०० मिटर रहेको छ भने यसको आकार अण्डाको छ ।

लामा गुरु निमा शेर्पाका अनुसार खर्कमा चर्न गएको चौरीहरु एकाएक हराउन थाले । एक दिन गोठालो चौरी खोज्दै जादा स्यापल पोखरीको डिलको सिलामा दुध आफै दिएको देखे । त्यसपछि यहाँ साक्षत महादेव बस्ने थाहा पाए । पछि स्थानियले पुजा गर्दै बरदान माग्न थाले । आँखा चिम्लेर बरदान माग्दा चौरीको भुत्ला हाँतमा परेकाहरुको चौरीको गोठ बड्न थाल्यो र आम्दानी वढ्यो ।१३ पुस्तादेखि तेम्बाथान , दिपु, तेगाका स्थानिय जनै पुर्णिमाका दिन झाक्री सहित पुजा गर्न र वरदान माग्न स्यापल पोखरी पुग्ने गरेका छन् । धन माग्नेले धन, सन्तान माग्नेले सन्तान पाएको भन्दै स्यापल पोखरी महादेव प्रति स्थानियको विश्वास बलियो छ ।

यो ठाउँ राजधानी काठमाण्डौको सबैभन्दा नजिक रहेको जुगल हिमालको काखमा अवस्थित छ । धार्मिक तथा सांस्कृतिक महत्व प्राकृतिक र धार्मिक महत्व बोकेको यस स्याबल पोखरीमा प्रत्येक बर्षको जनै पूर्णिमामा मेला लाग्ने गर्दछ । स्थानिय जनै पूर्णिमाको दुई दिन अगाडि विधि विधानका साँथ तेम्बाथानबाट झाक्री सहित जात्राको लागि प्रस्थान गर्छन् । लगभग ५ घण्टाको ठाडो उकालो चड्दै सुपखर्कको चौरी गोठमा पुग्छन् । त्यहा रातभर नाचगान रमाईलो गरेपछि भोलिपल्ट लगभग ५ घण्टाको उकालो पछि स्यापल खर्कको गोठमा बास बस्न पुग्छन् ।

पूर्णिमाको दिन र रातभरि पनि धामी–झाँक्रीको झाँकी हेर्न पाइन्छ । स्थानीय शेर्पा भेषभुषा र आफ्नै भाषामा उनीहरुले झाँक्री नाच प्रदर्शन गर्ने गर्छन् । स्याबलमा स्याबल पोखरी महादेबको मन्दिर छ । मन्दिरमा फलफुल , चौरीको दुध, सुनपाती फुल लिएर भक्तजनहरु चढाउन जान्छन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु
जुगल गाउँपालिका वडा ३ मा रहेको स्यापल पोखरी महादेवको मन्दिरमा आई पूजा गरेमा धन ,सुख, शान्ति र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल स्थानिय माझ ज्यादै लोकप्रिय रहेको छ ।
महादेवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा भएकाले पनि यो तीर्थस्थल ज्यादै लोकप्रिय हुन पुगेको रहेछ । यहाँ रहेको महादेवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रुपमा लिइन्छ ।

प्राकृतिक सुन्दरताको अनुपम उपहार मानिने स्याबल विशेषगरी सडक पूर्वाधारको अभावको कारण खासै चर्चामा आउन सकेको छैन् । स्थानिय भन्छन्, “मागेको बरदान धमाधम पुराभएपछि हाम्रा पुर्खा हरुले आफुहरु मात्र पुग्नुपर्छ , बाहिर यो कुरा भन्नुहुन्न भनेर लुकाएका कारण चर्चामा नआएको हो । ” स्थानिय युवाहरु अब भने धार्मिक र पर्यटकिय सम्भावना बोकेको क्षेत्रलाई प्रचारमा ल्याउनुपर्छ भन्नेमा लागेका छन् । पवित्र धार्मिक स्थल र मनोरम उच्च हिमाली दृश्यको अवलोकन गर्न चाहनेको लागिका लागी नयाँ गन्तव्य भएकोले स्यापल पोखरी नया गन्तब्य बन्दै छ ।

प्राकृतिक सौन्दर्य
सबै सुन्दरता भएर पनि अझै अपूर्ण छ जुगल गा।पा।वडा ३ का तेम्बाथान , दिपु , तेगा । यहाँ स्यापल पोखरी , सत्य (बौलाह)पोखरी , न्याखर्क पोखरी अहिले पनि पर्यटकको नजरमा भने पुग्न सकेका छैनन् । तर पैदलयात्रा नै रुचाउने व्यतिmहरुका माझ यि पोखरीहरुले अहिले बिस्तारै चर्चा कमाउन थालेका छन् ।

जुगल गाउँपालिकाको तेम्बाथान , दिपु , तेगा भौगोलिक हिसाबले विकट छ । तर यहाँको सुन्दरता र स्वस्थ वातावरणले सबै पिडा, दुःखलाई बिर्साउँछ । वरिपरि पहाडै पहाडले ढाकेको छ । यहाँका गाउँ हेर्दा कुनै सहरभन्दा कम छैन । पानी पर्दा होस् घाम पर्दा । यस ठाउँको मान्म आफैमा फरक छ ।

चिसो हावा, पहाड र हिमालको काख, हरियाली वातावरण भएको स्यापल पोखरी अत्यन्तै सुन्दर छ । प्रकृति र धार्मिक आस्थाको यो सुन्दर संगम आकर्षक स्थान हो । स्याबल पोखरी रहेको स्थलबाट करिव १ घण्टाको उकालो पश्चात त्यो क्षेत्रको ४७०० मिटरको अग्लो डाँडामा पुगिन्छ । सो डाँडाबाट जुगल हिमालको मनोरम दृश्यलाई आँखामा टासिने गरी देख्न सकिन्छ । अनेक दृश्यानुभूतिले स्यापल पुग्ने यात्रुहरूलाई मन्त्र मुग्ध बनाउँछ ।

यो क्षेत्र आर्थिक स्रोतका लागि , कृषि अर्गानिक सुनपाती, धुपी, निगालो, थरीथरीका गुराँस, सल्ला लगायतका दुर्लभ वनस्पति यार्सागुम्बा र बहुमूल्य जडिबुटीको पकेट क्षेत्र रहेको छ । यस वरपरको भू–भाग आलुखेतीका लागि पनि प्रख्यात छ ।

पर्यटकीय सम्भावना
जुगल गाउँपालिकाको यो क्षेत्र पर्यटनको सम्भावना बोकेको नया गन्तब्य हो । यहाको प्राकृतिक सौन्दर्य तथा धार्मिक तथा सांस्कृतिक पक्षले गर्दा यहाँ पर्यटकीय सम्भावना राम्रो छ । स्याबल पोखरी स्वच्छ पानीमा नीलो आकाशको छायाँका कारण गाढा नीलो देखिन्छ । सुन्दर प्राकृतिक चौर , भञ्ज्याङ, त कहिले भीर देखिने अग्ला पहाडहरु, चरिरहेका चौरीहरुले वातावरण निकै रोचक लाग्छ ।

परम्परादेखिनै व्यवसायका लागि पालिँदै आएका चौरी यस क्षेत्रको एउटा पहिचान पनि हो । लेकाली शितल हावापानी तथा सुन्दर घाँसे मैदानमा चरिरहेका चौरीहरुले यहाँ पुगेका पर्यटकको ध्यान अन्त जानै दिदैन् । आँखामा देखिने निलो दह हेरिरहुँजस्तो, वरीपरि घुमिरहुँ जस्तो लाग्छ । जति फोटो लिए पनि थाकिदैन् । यात्राको थकान बिर्सिएर स्यापल , सत्य (बौलाह ), सर्प आकारको न्याखर्क ९लामो० पोखरीमा रमाउँदा साँच्चै धर्तीमै स्वर्ग भेटिन्छ ।

कसरी पुग्ने ?
पहिलो दिन सदरमुकाम चौतारा बाट बलेफि जलबिरे , जुगलकै कार्तिके , पाङगारपु सम्म गाडिमा जान सकिन्छ । काठमाडौंबाट जानेहरु पनि पाङगारपु सम्म बस वा अन्य सवारी साधनका माध्यमले जान सक्छन् ।
पाङगारपु पुगेपछि पैदल यात्रा गरेर दोस्रो दिन बोल्दे , गुम्बा , ल्हाक्याप भीर, नेसम खोला हुदै तेम्बाथान पुगेर बास बस्न सकिन्छ । गुम्बाबाट थारै अगाडि लागेपछि ल्हाक्याप भीरमा जंगलको बाटो सानो बाटो भएकाले केही असहज हुनसक्छ ।
तेम्बाथान सम्म बाटो र खानपिनका लागि गाउँमा राम्रै व्यवस्था छ । तर, तेस्रो दिन तेम्बाथानदेखि अगाडि जान पनि जंगलकै बाटो पर्ने भएकाले केही असहज महसुस पर्न सक्छ । ठाउँ ठाउँमा गोठ तथा छाप्राहरु भेटिन्छन् । तेम्बाथानबाट सुपखर्क ,देउराली हुँदै यी पोखरीमा पुग्न सकिन्छ ।

यहाँ स्याबल पोखरी मात्रै नभएर स्याबल पोखरीबाट १ घण्टा पैदल यात्रा पश्चात ४६०० मिटर उचाईमा रहेको रहस्यमय सत्य (बौलाह)पोखरी ,न्याखर्क (लामो)पोखरी पुग्न सकिन्छ । न्याखर्क ,सत्य पोखरीमा पनि मनोकांक्षा पूरा हुने स्थानीय बताउँछन् ।

अद्रभुत रहस्य बोकेको सत्य पोखरी
४२०० मिटरको हाईटमा रहेको स्यापल पोखरी पुगेपछि एक घण्टाको उकालो र ओरालो गर्दै अद्रभुत रहस्य बोकेको सत्य पोखरी पुग्न सकिन्छ । स्थानियले यो पोखरीलाई बौलाहा पोखरी समेत भन्छन् । मान्छेको आवाज सुन्नासाथ विचबाट पानीको फोका उम्लन थाल्ने र अचानक हुस्सु र कुहिरोले छोप्ने भएकाले यसलाई स्थानियले बौलाहा पोखरी भन्ने गरेका हुन् ।

पहिलो पटक यो पोखरी अवलोकनमा जानुभएका पर्यटक सुजन खत्री यसलाई बौलाहा नभएर सत्य पोखरी भन्नुपर्ने तर्क गर्नुहुन्छ । मान्छेको बोली पर्नासाथ पोखरीको पानी उम्लनु र अचानक केहि सेकेण्डमा हुस्सुले डाक्नु अनि मान्छेको चहलपहल कम हुनासाथ सामान्य अवस्थामा देखिनु आफैमा अद्भुत रहेको उहाँको बुझाई छ । अर्का पर्यटक अवि लामा आफुलाई यो पोखरी अवलोकन गरेपछि पहिलोपटक दैवि शक्तीमाथी विश्वास लागेको बताउँनुहुन्छ ।

विगतमा एक गोठालोले गोरुलाई ढुङ्गाले हिकाउदा सिंङबाट रगत झरेको र गोरु र गोठालो त्यहि मरेका थिए । अर्को पटक पोखरी आसपास चरीरहेको एउटा भेडाँलाई कुकुरले टोक्दा रगत बगेको र भेडा र कुकुर पनि मरेको स्थानियको कथन छ । यस्तै एक पटक एक गोठालाले भेडा काटेर सो पोखरीमा सफा गर्दा पोखरी सुकेको र व्यत्तिपनि मरेको स्थानिय बताउँछन् । जुठो , फोहोर र रगतका छिटा पर्दा पोखरी क्षेत्रमा यस्ता घटना भएपछि यसलाई स्थानियले बौलाहा पोखरी भनेका हुन् । यस्ता घटना आफ्ना पुर्खाबाट सुनेका स्थानिय अहिले पनि पोखरी छेउछाउ यात्रा गर्न डराउछन् ।

यात्रा गर्नै परे नबोलीकन चुपचाप हिड्ने गर्छन् । तर साक्षत् भगवानको बास भएकाले यँहा बास गर्ने देवताले जुठो ,फोहोर र रगतका छिटा पर्दा नसहेर यस्ता घटना भएका धर्ममा आस्था राख्नेहरु बताउछन् । अहिलेको कलि युगमा पनि पोखरीले देखाउन चमत्कारले अझै सत्यको र देवताको अस्तीत्व छ भन्ने कुरामा विश्वास गर्न बाध्य बनेको भिमसेन कार्कीको बुझाई छ । जुगल ३ का अध्यक्ष लक्ष्मण दोङ सबैको समन्वयमा पोखरीमा देखिने रहस्यबारे आफुहरु अध्यन गर्न तत्पर रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्