दिपक खत्री,साउन ३१ ÷जुगलको तेम्बाथान ,दिपु र तेगाका जेष्ठ नागरीकलाई १२ हजार सामाजिक सुरक्षा भत्ता लिन ७ हजार सम्म खर्चगर्नुपर्ने बाध्यता छ । यहाँका जेष्ठ नागरीक सामाजिक सुरक्षा भत्ता बुझ्न कै लागि २ दिन पैदल हिँडेर जुगलको डाडे बजार पुग्छन् । त्रैमासिक रुपमा सरकारले दिने १२ हजार भत्ता लिन जादा ७ हजार रकम त खाना , खाजा र बास बसेकै ठाउँमा खर्च गर्नुपर्ने अवस्था रहेको जेष्ठ नागरीक फुर्वा शेर्पाको गुनासो छ ।
भत्ता लिन जादा र फर्कदा ४ दिनको पैदल यात्रा गर्नुपर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उहाँको गुनासो छ । १ सय १० माथी घरधुरी रहेको यहाँको बस्तीका जेष्ठ नागरिक,अशत्तलाइ सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ती छ । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले बैंकिङ प्रणालीबाट दिन शुरु गरेपछि दुर दराजका नागरीकलाई ठुलै सास्ती छ । भत्ता लिन संरक्षक बसेकाहरु पनि बैंकिङ प्रणाली लागू भएयता लगातारको हिडाई र खर्चले निकै कष्ट खेप्नुपरेको स्थानिय पासाङ शेर्पा बताउनुहुन्छ ।
राज्यले ज्येष्ठ नागरिकहरुले पनि बैंक खाताबाट नै पैसा निकाल्नुपर्ने योजना बनाए पनि सडक सन्जाल नपुगेका दुर्गम भेगका ज्येष्ठ नागरिकलाई यसले सास्ती दिएको छ । सिन्धुपाल्चोकको सबैभन्दा उत्तरी भेगमा पर्ने जुगल हिमाल फेदीको गाउँमा पुग्न मात्रै जिल्लाको गाडी पुग्ने बिन्दु बोल्देबाट कम्तीमा १ दिनकोे अक्कर उकालो छिचोल्नुपर्छ । सडकले गाउँ नजोडिएका कारण तेम्बाथान एवं नजिकका दिपु, तेगा, साङ्लुङ टोलका मानिस दुई रात बास बस्दै भत्ता लिन पुग्छन् । फर्कदा फेरी २ रात बास बस्दै घर पुग्नुपर्छ ।
जेष्ठ नागरीक र अशक्तहरुले सरकारले प्रत्यक तिन तिन महिनामा दिने भत्ता लिन ब्यहोर्नुपरेको सास्तीबारे जानकार रहेको जुगल ३ का वडा अध्यक्ष लक्ष्मण दोङ बताउनुहुन्छ । बैक संग छलफल चलाउने र कार्यपालिका बैठकमा यो विषयमा कुरा उठाएको अध्यक्ष दोङले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्तामा लापरबाही भएको थाहा पाएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले बैंकिङ प्रणाली लागू गरेको थियोे । तर वृद्धभत्ताको भरमा बाँचिरहेका यहाँका अशक्त वृद्धवृद्धालाई बैंकिङ प्रणालीले ठूलो सास्ती , अनावस्यक खर्च र समस्या उत्पन्न भएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्