भदौ ५, चौतारा सांगाचोकगढी नगरपालिका १ स्याउले स्थित सेति देवि मा.वि. मा महिनावारी हुने उमेर समुहका महिला तथा किशोरीहरु अभिमुखिकरण तथा फ्रिडम किट ब्याग वितरण गरीएको छ । फ्रिडम किट ब्याग बेलायतको सहयोग तथा रेडियो सिन्धुको समन्वयमा भएको अभिमुखीकरण कार्यक्रममा विद्यालयका किशोरीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा फ्रिडम किट ब्यागका नेपाली दुत निर्मला श्रेष्ठ संगै सरीता श्रेष्ठ, सुमि श्रेष्ठ ,सुप्रिन्स श्रेष्ठले महिनावारीको बेला अपनाउनुपर्ने सुरक्षा, सरसफाई र प्याड प्रयोगको उपयुक्त तरिकाका बारेमा जानकारी गराउनुभएको थियो ।
अभिमुखीकरण कार्यक्रम पश्चात्त १ सय ७९ किशोरी तथा १३ जना महिला शिक्षकलाई महिनावारीको समयमा प्रयोगमा आउने आवश्यक सामाग्रीहरु सहितको किट ब्याग प्रदान गरियो । आयोजकका अनुसार किट ब्यागमा रहेका सामाग्रीहरु नेपालमै उत्पादन गरिएको हो ।धोएर पटक पटक प्रयोग गर्न सकिने भएकाले आर्थिक रुपमा तथा बातावरण प्रदुषण समेत नहुने भएकाले पर्यावरणिय रुपमा यो उपयोगि रहेको छ ।
महिनावारीको समयमा आवश्यक सुरक्षाको उपाय अपनाउन नसक्दा नेपालमा धेरै महिलाहरु बाँझोपन र गर्भ खेर जाने जस्ता समस्याको शिकार बन्नु परेको अवस्थामा थोरै भएपनि चेतनामुलक कार्यक्रमले राहत पुगोस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको फ्रिडम किट ब्यागका नेपाली प्रतिनिधि श्रेष्ठको भनाई छ । ‘‘महिनावारी भयो भनेर कोहि पनि लजाउन वा डराउन पर्दैन, यो त भएन भने पो डराउनुपर्छ’’ श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा चौतारा सांगाचोकगढी १ का अध्यक्ष क्ष्ुवलाल श्रेष्ठले एकजना महिला स्वस्थ भईन भने मात्र परिवार स्वस्थ हुने र परिवार स्वस्थ भएमा सबै खुसी हुने भएकोले महिनावारीको समयमा उचित सुरक्षाका उपाय अपनाउन आग्रह गर्नुभयो ।
यस संस्थाले सिन्धुपाल्चोक लगायतका विभिन्न जिल्लामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी किशोरीहरुलाई महिनावारीमा प्रयोगमा आउने किट ब्याग वितरण गरेको विद्यालयका प्रधानध्यापक शालिक राम ओलीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्