२०८१ भाद्र २३
                           

असल पिता बन्न अनुसन्धानले औँल्याएका सुझाव पढ्नुस्

आज कुसे औँसी । यो पर्वलाई बुबाको मुख हेर्ने दिनका रूपमा पनि मनाइँदैछ ।

सन्तानको पालनपोषणमा बुबा र आमाको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । यथार्थमा यो काम आमाले मात्रै गरेको पाइन्छ । नेपाली समाजमा त अपवादबाहेक बुबालाई देख्दा छोराछोरी डराउने गर्छन् । पुरानो जमानाको अवस्था योभन्दा खराब थियो । बुबा घर आउनासाथ केटाकेटी डरले आमाको छेउमा गएर बस्थे । उमेर बढ्दै जाँदा छोराहरू आफ्नो बुबासँग नजिक हुँदै जान्थे । आफूले चाहेअनुसार बुबासँग समय बिताउन पाउँथे । तर छोरीहरू, सधैँ बुबासँग टाढै हुन्थे । उनीहरू बुबाको अगाडि कहिल्यै शिर उठाउन सक्दैनथे ।

UNICEF_NEPAL_GORKHA_JANUARY_2016_NS_01_21661501386.jpg
तस्वीरः युनिसेफ, नेपाल ।

विकसित देशको अवस्था योभन्दा केही अलग त थियो तर त्यहाँ पनि बच्चाको रेखदेखको जिम्मेवारी प्राय: आमाकै काँधमा हुन्थ्यो । कामकाजी आमाबुबा पनि आफू घरमा नहुँदा बच्चा हेर्न कुनै महिलाकै मद्दत लिन्थे । एक महिलाले नै बच्चाको राम्रो रेखदेख गर्न सक्छिन् भन्ने मान्यता थियो ।

तर, विभिन्न अनुसन्धानहरूले बच्चाको शारीरिक, मानसिक र सामाजिक विकासमा बुबाको भूमिका निकै महत्त्वपूर्ण हुने देखाएका छन् ।

बच्चाका विषयमा भएका धेरैजसो अनुसन्धानहरूमा आमाकै भूमिकालाई बढी जोड दिएको पाइन्छ । रेखदेखमा बुबाको महत्त्वबारे उति बयान गरिएको छैन । जबकि, संसारमा बच्चाको रेखदेखको जिम्मा पुरुषले उठाउने समाज थुप्रै छन् । त्यस्तो समाजमा हुर्केका बच्चा कुनै हिसाबले पनि कमजोर छैनन् । उदाहरणका लागि मध्य अफ्रिका गणराज्यको आका समाजमा महिलाहरू कमाउन जान्छन् । घरमा बस्ने पुरुषले बच्चाको हेरचाह गर्छन् । त्यहाँका पुरुष सबैभन्दा असल पिताका रूपमा चिनिन्छन् । यहाँको समाज बराबरीको अधिकारमा आधारित छ ।

सन् १९७० सम्म बच्चाको विकासमा बुबाको भूमिका निकै कम भएको पाइन्थ्यो । उनीहरूको भूमिका केवल आर्थिक जोहोमा सीमित थियो । जबकि, नयाँ अनुसन्धानमा बुबाको भूमिकालाई आमाकै बराबरीमा स्थान दिइएको छ । यसैबाट थाहा हुन्छ– बच्चाको विकासमा बुबाको भूमिका निकै महत्त्वपूर्ण हुन्छ ।

अनुसन्धानकर्ता म्यारियन बेकरम्यान आमा र बुबा दुवै बच्चाका लागि जरुरी रहेको बताउँछिन् । मनोवैज्ञानिक माइकल ल्याम्बका अनुसार, बच्चाको विकासमा बुबा मात्र होइन, सौतेनी बुबा, दाजु, काकाकाकीको भूमिकामा समेत अनुसन्धान गरिएको छ । जसबाट थाहा भएको छ, हजुरआमा, काकीजस्तै बच्चाको पालनपोषणमा उनीहरूको भूमिका पनि महत्त्वपूर्ण छ । इजरायलकी रिसर्चर रुथ फिल्डम्यानको भनाइअनुसार, बच्चाको हेरचाहको समय जेजस्ता हार्मोनल परिवर्तन आमामा हुन्छ, त्यही बुबामा पनि हुन्छ । बच्चा सम्हाल्ने जिम्मेवारी आफूमाथि रहेको कुरा उनको दिमागले स्वीकारेमा बच्चासँग बुबाको लगाव पनि आमाकै जस्तो हुन्छ ।

अनुसन्धानले देखाएअनुसार, बुबाको रेखदेखमा हुर्केका बच्चाहरू समाजमा आफ्नो व्यवहारलाई लिएर खासै निराश हुँदैनन् । जबकि आमाको रेखदेखमा हुर्केका बच्चाको व्यक्तित्वका धेरै पक्ष कमजोर हुन्छन् । यति मात्र होइन, आफ्ना बुबा, हजुरबुबा, काकासँग बढी लगाव भएका बच्चाले शिक्षक र साथीसँग समेत सन्तुलित व्यवहार गर्छन् ।

बच्चाको देखभाल गर्ने तरिका आमा र बुबामा फरक–फरक हुन्छ । आमाले बच्चाको रेखदेखसँगै उसका आवश्यकतालाई ख्याल गर्दै सम्बन्ध बलियो पार्छिन् । तर, बुबाले बच्चासँग खेलेर, उसको मनको कुरा जानेर सम्बन्ध गहिरो बनाउँछन् ।

धेरैजसो बच्चा एड्भेन्चर मन पराउँछन् । अक्सर आमा बच्चालाई चोट लाग्छ भनेर यस्तो गर्न मान्दैनन् । तर, पुरुष आफ्ना बच्चालाई थोरै जोखिम मोल्न दिन तयार हुन्छन् । बुबाको निगरानीमा भएका बच्चा आफ्नो मर्जीले चल्न पाउँछन् । यस्ता बच्चा निडर पनि हुन्छन् ।

अर्गनाइजेसन फर इकोनोमिक को–अपरेसन एण्ड डेभलपमेन्ट (आईसीडी) देशमा बच्चा जन्मिनुमा बुबाको तुलनामा आमालाई बढी पेड मेटरनिटी लिभ दिइन्छ । बेलायतजस्ता देशमा आमा र बुबा दुवैलाई बराबर छुट्टी दिइन्छ । त्यहाँ पनि निकै कम अर्थात् करिब २ प्रतिशत जोडीले मात्रै छुट्टी लिन्छन् ।

बच्चाले हरेक काम खेलैखेलमा सिक्छ । अनुसन्धानमा पाइएअनुसार, बच्चा बुझ्ने हुँदाका क्रममा बच्चासँग समय बिताउँदा, खेल्दा बुबासँग उसको सम्बन्ध  थप बलियो हुन्छ । अनि कुनै कुराको सामना गर्ने क्षमता पनि बढ्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार, बच्चाहरू आफ्नो संसार खेलैखेलमा तयार गर्छन् । बुबाले बच्चालाई बढी समय दिँदा भविष्यमा समस्याहरूको सामना गर्ने साहस बच्चामा बढ्छ । दुई वर्षकै उमेरमा उनीहरू धेरै खालका आकार चिन्न र बुझ्न थाल्छन् । उनीहरूको मानसिक विकास तीव्र रूपमा हुन्छ ।

त्यसैले बुबाले बच्चा थोरै बढोस् भनेर प्रतीक्षा गर्न हुँदैन । आमाले जसरी नै एक बुबाले जन्मेदेखि नै बच्चासँग समय बिताउन थाल्नुपर्छ । उसलाई काखमा लिएर, उसको आँखामा आँखा जुधाएर ऊसँग कुरा गर्नुपर्छ । यद्यपि, बच्चाले यो सबै बुझ्दैन । तर, सम्बन्ध बुझ्न उसलाई सहयोग पुग्छ । आज प्रविधिको जमाना छ । बुबा र बच्चाको सम्बन्धमा धेरै खालका भिडियो अनलाइनमा उपलब्ध छन् ।

विदेशमा त बकाइदा यसका लागि कक्षा नै चलाइन्छ । अवस्था त फेरिँदैछ । तैपनि संसारभर आज पनि रेखदेखको जिम्मेवारी ठूलो संख्यामा आमाले नै निभाउँदै आएका छन् । अब ढिला नगरौँ, महिलासँग काँधमा काँध मिलाएर आफ्नो सन्तानको रेखदेखमा जुटौँ । यो आफ्नो र बच्चाको हितको कुरा हो । ( बीबीसीकाे सहयाेगमा )

प्रतिक्रिया दिनुहोस्