२०८१ भाद्र २३
                           

हेलम्बु –५ उर्लेनीमा पहिरो जादा २१ घर उच्च जोखिममा ,कष्टपूर्ण दैनिकी बिताउदै स्थानिय

भदौ १४— गत साउन २७ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा पहिरो जादा २१ घर उच्च जोखिममा छन् । तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे पनि पहिरोले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च जोखिममा रहेको पहिरो प्रभावित कान्छामान तामाङले बताउनुभयो ।

हेलम्बु गाउँपालिकाले उपलब्ध गराएको टेण्टमा उनिहरु अहिले बसेका छन् । तर प्रभावितले कष्टपूर्ण दैनिकी बिताइरहनुपरेको गुनासो गरेका छन् । पहिरो गएलगत्तै वडा कार्यालय र गाउँपालिकाले त्रिपाल, टेण्टलगायतका सामग्री उपलब्ध गराएको थियो । तत्कालै अन्यत्र सरेर बसेका प्रभावित स्थायी रूपमै स्थानान्तरण हुन चाहन्छन् ।

उर्लेनीको बिसौनीबाट साप्रेसम्म करिब पाँच सय मिटर लामो पहिरो खस्दा त्यहाँका नागरिकको जनजीवन कष्टकर बनेको हो । सिंगो गाउँ नै पहिरोको जोखिममा रहेको प्रभावितको भनाई छ । पहिरोले बस्तीमात्र होइन, तालामाराङ खोला आसपासका सयौँ रोपनी खेतीयोग्य जमिनसमेत जोखिममा छन् ।

हेलम्बु गाउँपालिका–५ मा पहिरो गएपछि दैनिक खोला बाढी आउने र मेलम्ची नगरपालिका–६ का नदीतटीय क्षेत्रका खेत धमाधम कटान भइरहेको स्थानीय सानोकान्छा तामाङले बताउनुभयो । यसका कारण केही बस्ती र खेतीयोग्य जमिन थप उच्च जोखिममा देखिएका छन् । पहिरो प्रभावितसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै वडाध्यक्ष दीपकुमार तामाङले प्रभावितको माग र आवश्यकताका आधारमा गाउँपालिका र अन्य निकायसँग स्थानान्तरणसँगै स्थायी आवास निमार्णका लागि पहल गर्ने बताउनुभयो । पहिरोको जोखिम कायममै रहेकाले आवश्यक सतर्कता अपनाउन गाउँपालिकाले स्थानियलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्