२०८१ भाद्र २३
                           

नाकामा रोकिएका सबै कन्टेनर दसैँअघि आउने, संसदीय सहयोगसम्बन्धी समझदारी

भदौ २८, चीनले स्वशासित क्षेत्र तिब्बतमा कोरोना महामारीका कारण रोकिएका सबै कन्टेनर दसैँअघि नै नेपाल आउन दिने आश्वासन दिएको छ । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली झाङ्सुले सभामुख अग्निप्रसाद सापकोटासँग सोमबार भएको औपचारिक वार्तामा रोकिएका सबै कन्टेनर नेपाल पठाइदिने आश्वासन दिएका हुन् । सभामुख सापकोटाको निमन्त्रणामा ली नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल चारदिने नेपाल भ्रमणमा छ ।

नेपाली व्यापारीले सडकमार्गबाट ल्याउँदै गरेका सामान बोकेका कन्टेनर चीन नाकामा रोकिएका छन् । नेपाल सरकारले कूटनीतिक च्यानलमार्फत यसका लागि प्रयास गर्दै आएको थियो । तैपनि चिनियाँ पक्षले यसलाई सम्बोधन गरेको थिएन । सभामुख सापकोटाले औपचारिक वार्तामा सीमानाका र तिब्बतका विभिन्न ठाउँमा रोकिएका कन्टेनर पठाइदिन आग्रह गरेपछि जनकंग्रेस अध्यक्ष लीले सकारात्मक जवाफ दिएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पक्षले नेपालतर्फ प्रस्थान गरेर कोभिडका कारण तिब्बतका विभिन्न ठाउँमा रोकिएका सबै कन्टेनरलाई दसैँभन्दा अघि नै नेपाल प्रवेश गर्न दिने आश्वस्त पारेको छ । ‘नेपालमा चाडपर्व आउनुभन्दा अगाडि नै सकेसम्म चाँडो कन्टेनर नेपाल पठाउने आश्वासन चिनियाँ पक्षले दिएको छ,’ परराष्ट्रले विज्ञप्तिमा जनाएको छ ।

नेपाल पक्षले चीनसँग बढ्दो व्यापारघाटा अन्त्य गर्न सहयोग गर्नुपर्नेमा जोड दिएको थियो । यसमा चीन पक्षले नेपालको आवश्यकता सम्बोधन गर्ने उपयुक्त उपाय अपनाउने आश्वासन दिएको परराष्ट्रले जनाएको छ । नेपाली जनताको जीविकोपार्जनमा सहयोग हुने क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्तालाई प्रोत्साहन गर्ने आश्वासन पनि चिनियाँ पक्षले दिएको छ ।

वार्तामा दुई देशबीच उत्कृष्ट सम्बन्ध र आपसी सहयोग रहेको चर्चा भएको थियो । सभामुख सापकोटाले एक चीन नीतिप्रति प्रतिबद्धता जनाएका थिए । अध्यक्ष लीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताका लागि चीनको समर्थन निरन्तर रहने आश्वासन दिएका थिए । नेपालको विकास प्रयासमा भएको सहयोगप्रति आभार व्यक्त गर्दै सापकोटाले महामारीपछिको पुनरुत्थान तथा नेपालका अन्य विकास प्राथमिकताहरूमा थप चिनियाँ सहयोग हुने विश्वास व्यक्त गरे । अध्यक्ष लीले संस्थागत तहमा नेपालको संसद्को आवश्यकताका आधारमा सहायता उपलब्ध गराउने आश्वासन दिएको परराष्ट्रले जनाएको छ । उनीहरूबीच बिआरआईअन्तर्गत परियोजना कार्यान्वयनमा पनि छलफल भएको थियो ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले नेपालमा आसन्न संघीय संसद् र प्रदेश सभाको निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । नेपालमा ४ मंसिरमा प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनको मिति तय भएको छ । नेपालमा संसदीय र प्रादेशिक निर्वाचन घोषणापछि भ्रमण गर्ने ली पहिलो र सबैभन्दा उच्च चिनियाँ नेता हुन् ।

अध्यक्ष ली ६७ सदस्यीय प्रतिनिधिमण्डलसहित विशेष विमानबाट सोमबार काठमाडौं आएका हुन् । चिनियाँ शीर्ष नेता लीलाई सभामुख सापकोटा, परराष्ट्रसचिव भरतराज पौड्यालसहित उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । चिनियाँ राष्ट्रपति सी जिनपिङले ०७६ असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरेपछिको यो सबैभन्दा उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल हो । अध्यक्ष ली र प्रतिनिधिमण्डलको सम्मानमा सभामुख सापकोटाले साँझ रात्रिभोज आयोजना गरेका थिए ।

शीर्ष नेतासँग आज वार्ता
अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लीको बेग्लाबेग्लै भेटवार्ता तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलबारै परराष्ट्रमन्त्री डा. नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार वार्ता गर्ने समय तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी बिहीबार नेपाल भ्रमण सकेर दक्षिण कोरियाको भ्रमणमा जानेछन् ।

सभामुख सापकोटा र लीबीच ६बुँदे समझदारीपत्र
नेपाल र छिमेकी चीनका संसद्बीच न्यूनतम पाँच वर्षका लागि सोमबार ‘अन्तर्संसदीय सहयोग’सम्बन्धी ६बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख सापकोटा र अध्यक्ष ली झाङ्सुबीच संघीय संसद्भवन नयाँ वानेश्वरमा भएको औपचारिक वार्तापछि समझदारी भएको हो । दुई सभामुखले विगतमा दुई देशबीच भएका बिआरआई कार्यान्वयनका लागि सहजीकरण गर्ने र एक–अर्काको मूल हित र सरोकारका विषयमा साथ दिने वचनबद्धता जनाएका छन् । तीन पृष्ठ लामो समझदारीपत्रमा सभामुख सापकोटा र अध्यक्ष लीले हस्ताक्षर गरेका छन् ।

नेपालको संघीय संसद्को प्रतिनिधिसभा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीचको मैत्रीपूर्ण सम्बन्ध र सहयोग सुदृढ गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको संसद् सचिवालयले जनाएको छ । ‘दुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)मार्फत समेत दुई राष्ट्रबीच अन्तरआबद्धता वृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछन्,’ समझदारीपत्रको पाँचौँ बुँदामा छ ।

उनीहरूबीच बिआरआईअन्तर्गत सहयोगसम्बन्धी समझदारीलाई अन्तरहिमालय बहुआयामिक अन्तरआबद्धता सञ्जालको खाकाअन्तर्गत विभिन्न क्षेत्रमा अन्तरआबद्धता अभिवृद्धि गर्ने पनि सहमति भएको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलका उपनेता, प्रमुख सचेतकसहित सहभागी प्रतिनिधिमण्डलस्तरीय वार्तामा सभामुख सापकोटाले एक चीन नीतिप्रति नेपाल र नेपाली जनताका तर्फबाट प्रतिबद्धता दोहोर्‍याएका थिए ।

समझदारीपत्रमा यो उल्लेख नभए पनि कूटनीतिक भाषामा यसलाई पुनर्पुष्टि गरिएको छ । ‘आपसी विश्वास सुदृढ र विकास गर्न एक–अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न एक–अर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकासपथको सम्मान गर्न तथा एक–अर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन्,’ समझदारीपत्रमा छ ।

चिनियाँ राष्ट्रिय जनकंग्रेस त्यहाँको प्रतिनिधिसभासरहको निकाय हो । दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवद्र्धन गर्न दुवै सभामुखले सक्रिय भूमिका निर्वाह गर्ने पनि समझदारी गरेका छन् । उनीहरूले इन्टरपार्लियामेन्टरी युनियनलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनको खाकाअन्तर्गत सहयोग सुदृढ गर्न सहमति जनाएका छन् । उनीहरूले संसदीय मैत्री समूहबीच आपसमा सहकार्यका लागि सहजीकरण गर्ने वचनबद्धता जनाएका छन् ।

समझदारीपत्र भनिए पनि सन्धिजस्तो प्रावधान राखेर समझदारीपत्रको अवधि न्यूनतम पाँच वर्ष तोकिएको छ । पाँच वर्ष पुग्नुभन्दा ६ महिनाअघि कुनै सरकारले सूचना दिएर पत्र लेखेमा सम्झौतापत्र रद्द हुने भनिएको छ । कुनै सरकारले पत्र नलेखे समझदारीपत्र स्वतः नवीकरण हुने सम्झौतापत्रमा उल्लेख छ । समझदारीपत्र कार्यान्वयनका क्रममा संशोधन वा परिमार्जन गर्न सकिने पनि प्रावधान राखिएको छ । कार्यान्वयनमा विवाद उत्पन्न भए आपसी समझदारीका आधारमा समाधान गर्ने समझदारीपत्रमा उल्लेख छ ,नया पत्रीका दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्