२०८१ भाद्र २३
                           

सरस्वती माविले मनायो ५९ औं वार्षिकोत्सव

कृष्ण ढुंगाना /असोज ७- हेलम्बु गाउँपालिका ४, ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ५९ औ वार्षिकोत्सव सम्पन्न भएको छ । बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवं प्रदेस सभा सदस्य माननीय युवराज दुलालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सिन्धुपाल्चोक जिल्लाकै पुराना विद्यालय मध्येको एक मानिने उक्त विद्यालय असार १ पछि आएको बाढीका कारण उच्च जोखिममा समेत रहेको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी दुलालले बाढीका कारण जोखिममा रहेको मेलम्ची नदी आसपासका निजी तथा सार्वजनिक सम्पत्तिहरुको संरक्षण र पुनःनिर्माणको लागि केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गरी नेतृत्वदायी भूमिकामा आफू क्रियाशिल रहेको बताउनुभयो । मेलम्ची पुननिर्माण राज्यको दायित्वभित्र रहेकोले सबै तहका सरकार आफ्नो जिम्मेवारीबाट पन्छन नमिल्ने उहाँको भनाइ थियो । साथै उहाँले सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयका सम्बद्ध पक्षहरु निरन्तर क्रियाशिलता आवश्यक हुनुका साथै जहाँ विद्यालय राम्रा भएका छन् त्यहाँ विद्यालय व्यवस्थापन र शिक्षक कर्मचारीको लगनशीलताबाट नै भएको उल्लेख गर्दै सबै यस तर्फ लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीका विभिन्न साँस्कृतिक प्रस्तुतीहरुका साथै विद्यालयका विभिन्न गतिबिधिहरुमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । प्रधानाध्यापक सिताराम ढकालले विद्यालयका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विभिन्न राजनैतिक दलका प्रतिनिधि एवं शुभेच्छुकहरुले शुकामना मन्तव्य राख्नुएको थियो । सहभागी वक्ताहरुले विद्यालयको संरक्षण र शैक्षिक सुधारको लागि विद्यालय र स्थानीय सरकारको समेत उत्तिकै चासो हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्