२०८१ मंसिर ६
                           

झ्याँडी नमुना वस्तीमा बस पुग्दा स्थानीय हषिर्त

अशोक पराजुली /असोज ९- जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याँडी नमुना माझी वस्तीमा बस पुग्दा स्थानीय हषिर्त भएका छन् । पूर्व अरनिको यातायात सेवा प्रा.लि.को यात्रुबाहक बस झ्याँडी पुग्दा स्थानीयले खादा माला सहित बस चालक तथा समितिका पदाधिकारीलाई भब्य स्वागत गरे ।

पूर्व अरनिको यातायात सेवा प्रालिले सो स्थान सम्म शनिबारबाट बस सेवा सुरु गरेको छ ।
बस सेवाको उद्घघाटन गर्दै पूर्व अरनिको यातायात सेवा प्रालिका उपाध्यक्ष दिनेश श्रेष्ठले स्थानीय युवाहरुको सक्रिय पहल र उत्साहले समितिलाई बस सञ्चालन गर्न प्रेरित गरेको र अब यस रुटमा नियमित बस सेवा सञ्चालन हुने बताए । उद्घघाटन समारोहका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ का अध्यक्ष उद्दव नेपालले निकै चुनौतीका बिच बस सेवा सञ्चालनमा आएको र अब नियमित बस सेवा सञ्चालनका निमित्त स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ का निर्वाचित वडा सदस्य नेत्रबिक्रम माझी,वडा नम्बर १४ का निबर्तमान वडा सदस्य मिलन माझी स्थानीय इन्द्रजित माझी,श्रीकृष्ण माझी लगाएत युवाहरू र पूर्व अरनिको यातायात प्रा.लि.का सदस्य तथा यातायात ब्यबसायी जीवन श्रेष्ठको प्रत्यक्ष पहल र सहजीकरणमा अरनिको यातायातले बस सेवा सञ्चालन सुरु गरेको हो ।

स्थानीयवासीले यातायातको साधन यात्रु बस सञ्चालन नहुँदा सदरमुकाम चौतारा सम्म जान पनि घन्टौं पैदल हिड्नुपर्ने र स्थानीय बजार दोलालघाट सम्म पुग्न पनि निकै सास्ती ब्यहोर्नु परेकाेले बस सञ्चालन गर्नका लागि स्थानीयबीच छलफल गरेर बस सञ्चालन समिति नै गठन गरिएको समितिका अध्यक्ष मिलन माझीले बताए ।

नियमित बस सेवा सुरु भएपछि सर्वसाधारणलाई जिल्ला सदरमुकाम चौतारा तथा काठमाडौं आउजाउ गर्न सहज हुने भएको छ । बस चढ्नका लागि बन्देउ र साँगाचोक सम्म धाउनु पर्ने स्थानीयको बाध्यता हटेको छ ।

यस अघि झ्याँडी,भिमटार,जामुनेबासीले बस चढ्न दुई घण्टा भन्दाबढी पैदल हिँड्नु पर्दथ्यो । अब काठमाडौंबाट काभ्रेको दोलालघाट हुँदै बन्देउ,महादेवटार,एक्लेबेसी,जामुने,भिमटारबाट झ्याँडी नमुना वस्तीसम्म बस सेवा सञ्चालन भएको छ ।

अरनिको यातायात अन्तर्गत जुगल यातायातको बस काठमाडौंबाट दैनिक १:१५ बजे छुट्नेछ र झ्याँडी नमुना बस्तीमा बास बस्नेछ । त्यस्तै झ्याँडी नमुना बस्तीबाट काठमाडौंको लागि बिहान ७:३० बजे छुट्ने छ । बस सञ्चालन भएसँगै इन्द्रावती जलाधार क्षेत्रका चार सय घर परिवार लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्