दीपा अर्याल ÷ असोज ९ —
देशको समग्र विकासका लागि शिक्षालाई मुख्य मेरुदण्डका रुपमा लिइन्छ । शिक्षाले व्यक्तिको सर्वांगीण विकास गरी असल, योग्य र सभ्य नागरिक तयार पार्न मद्दत गर्दछ। सभ्य नागरिकले समाज र देशको विकासमा अहम भूमिका खेल्न सक्छन्।
मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र भौतिक विकासका लागि योग्य र सक्षम जनशक्ति उत्पादन गर्ने मुख्य आधार शिक्षा नै हो। राज्यले निर्माण गरेको लक्ष्य र उद्देश्य परिपूर्ति गर्ने आधारशिला गुणस्तरीय शिक्षा हो।
नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । देश र समाजको उन्नतिका लागि सीपमूलक, वैज्ञानिक र व्यावहारिक शिक्षा आवश्यक पर्दछ । तथापि, शिक्षाको पहुँचमा नै मुख्य चुनौती देखिएको छ।
विशेष गरी ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षाको पहुँच पुग्न सकेको देखिँदैन। तसर्थ, अधिकांश ग्रामीण भूभागले भरिएको हाम्रो देशका लागि अझै बढी चुनौती र अवरोध थपिएको छ ।
शिक्षासँग प्रत्यक्ष सम्बन्ध जोडिएका विषयवस्तु र घटनाक्रम हेरौं–
घटना १: सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं ३ बस्ने फूलमाया (नाम परिवर्तन) ९ वर्षकी भइन् । उनको परिवारमा बुवा, आमा, दाजु, भाइ र बहिनी गरी ६ जना छन् ।
उनको बुवाले ज्याला मजदुरी गरी सिंगो परिवारको गुजारा चलाउँछन् । उनकी आमा मानसिक बिरामी छिन् । बिरामी आमा आफूलाई नै सम्हाल्न नसक्ने अवस्थामा छिन् ।
बिरामी आमाले ९ वर्षकी फूलमाया र भाइ–बहिनीलाई सम्हाल्न सक्दिनन् । दर्दनाक अवस्थामा गुज्रिएको यो परिवारका कलिला बालबालिका विद्यालयको गेट र कक्षासम्म पुग्न बहुत कठिन छ ।
घटना २: सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिका वडा नं २ बस्ने समर (नाम परिवर्तन) १८ वर्षको भए । उनको परिवारमा सातजना सदस्य छन् । उनी र भाइलाई बहुअपांगताले गाजेको छ । उनी घिस्रिएर हिँडडुल गर्छन् । उनका भाइ घिस्रिन पनि सक्दैनन् । उनीहरुको बोली पनि प्रस्ट छैन । दुवैजना विद्यालय शिक्षाबाट वञ्चित भएका छन् । विद्यालयको गेट र कक्षाकोठा नदेखेका समरले डोजर चालक बन्ने सपना चाहिँ देख्न छाडेका छैनन् ।
घटना ३: सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिका वडा नं ३ बस्ने रमा (नाम परिवर्तन) को चारजनाको परिवार छ । उनको पारिवारिक अवस्था ज्यादै दयनीय छ । परिवारको कमजोर आर्थिक स्थितिकै कारण कक्षा ८ पढ्दै गर्दा उनले विद्यालय छाडिन् । दिदी साइनो गाउँकै एक महिलाले उनलाई काठमाडौंको एउटा होटेलमा काम खोजिदिइन् । अहिले उनी त्यहीँ काम गर्दै छिन् ।
घटना ४: सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं ३ बस्ने सम्झना (नाम परिवर्तन) को परिवारमा ५ जना सदस्यहरु छन् । परिवारको सम्पत्तिको नाममा थोरै खेतबारी छ, जहाँको उत्पादनले वर्षभरि खाना पुग्दैन । परिवारको खर्च जुटाउन उनका बुवाले ज्याला–मजदुरी गर्छन । तर, उनका बुवा–आमा नै रक्सी सेवन गर्ने भएकाले कमाएको पैसा त्यतिकै सिधिन्छ । त्यसकारण घरको आर्थिक अवस्थामा सुधार आउन सकेन । घरको प्रतिकूल वातावरणले गर्दा कक्षा ८ पास गरेपछि सम्झनाले विद्यालय छाडिन् । अहिले उनी भाइ र बहिनीका लागि विद्यालय जाने वातावरण सिर्जना गर्दै छिन् ।
घटना ५: सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिका वडा नं ३ बस्ने रमेश (नाम परिवर्तन) की आमाले सानैमा छाडेर गइन् । आमाले छाडेर गएपछि बुवाले कान्छीआमा ल्याए । उनका बुवा ज्याला–मजदुरी गर्छन् । परिवारको आर्थिक स्थिति साह्रै कमजोर छ । १० वर्षीय रमेश काठमाडौेंमा गएर गुम्बा शिक्षा लिइरहेका छन् । माथि उल्लिखित घटना प्रतिनिधिमूलक मात्र हुन् । यी घटना राजधानी काठमाडौंसँग सिमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाका हुन् । यी प्रतिनिधिमूलक घटनालाई मात्र विश्लेषण गर्ने हो भने अन्य हिमाली तथा पिछडिएको जिल्लाहरुको शैक्षिक अवस्था अत्यन्तै नाजुक भएको सजिलै अनुमान लगाउन सकिन्छ । यी घटनाहरुसँग जोडिएका मुख्य चुनौतीहरुको विश्लेषण गरौं ।
चुनौती
ग्रामीण परिवेशमा गुणस्तरीय शिक्षाका लागि चुनौती तथा अवरोधहरुको थुप्रो छ । ती अवरोध हटाउन सकिएन भने ठूलो संख्यामा बालबालिका शिक्षाबाट वञ्चित हुने निश्चित छ । मुख्य चुनौतीहरु यस प्रकार छन्-
कमजोर आर्थिक अवस्था
भोको पेटले केही गर्न सक्दैन । गरिबीको चरम भुँमरीमा रहेका परिवारले आफ्ना सन्ततिहरुको शिक्षाका लागि केही गर्न सक्दैन । चरम गरिबी र अभावले गर्दा जोखिममा रहेका गरिब परिवारले आफ्ना बालबालिकाको पढाइलाई निरन्तरता दिन सकिरहेका छैनन् ।
उमेर बढ्दै गएपछि ती बालबालिकालाई घरायसी तथा बालश्रम प्रयोग हुने क्षेत्रमा काममा लगाइने गरेको पाइन्छ । माथि उल्लखित घटनामा झैँ थुप्रै रमा र सम्झनाहरु अतिगरिब परिवारमा जन्मिएकै कारण शिक्षाको उज्ज्यालो ज्योतिबाट वञ्चित भएका हुन् । देशैभरि हजारौंको संख्यामा रमा र सम्झनाहरु रहेका छन् ।
अपांगतामैत्री पूर्वाधार नहुनु
घर–समाजको प्रतिकूल वातावरणले गर्दा अपांगता भएका बालबालिकाले कष्टपूर्ण जीवन बिताइरहेका छन् । समाज तथा विद्यालयबारे धारणागत बाधा तथा अवरोध मुख्य रुपमा रहेका पाइन्छन् । भौगोलिक विकटताका साथै भौतिक पूर्वाधार निर्माणमा अपांगतामैत्री संरचना निर्माण नहुनु अर्को मुख्य बाधा हो ।
अपांगता भएका बालबालिकालाई विशेष अनुकलतायुक्त वातावरण सिर्जना निर्माण गर्नु भन्दा पनि अशक्त र असम्भवको दृष्टिकोणले हेरिन्छ। अपांगतामैत्री वातावरण निर्माण गर्नुलाई बोझ र झन्झटका रुपमा लिने गरिन्छ । तसर्थ, अधिकांश अपांगता भएका बालबालिका विद्यालय पुग्न सकेको छैनन् ।
विद्यालयको गेटसम्म पुगेका अपांगता भएका बालबालिका निरन्तर विद्यालय आउन सकेका छैनन् । देशका विभिन्न कुनाकाप्चाहरुमा धेरै समिरहरुले विद्यालयको गेट देखेका छैनन् ।
भौगोलिक विकटता
नेपालको भौगोलिक परिवेश जटिल र कठिन छ । बस्ती तथा गाउँहरु टाढा–टाढासम्म छरिएका छन् । सबै गाउँबस्तीहरुमा माध्यमिक तहसम्म पढाइ हुने विद्यालय छैनन् ।
कक्षा १ देखि ५ सम्म पढाइ हुने गाउँ–बस्तीहरु धेरै छन् । अझै पनि गाउँघरमा कक्षा ३ वा ५ सम्मको पढाइ सम्पन्न भएपछि टाढाको गाउँसम्म हिँड्नुपर्ने अवस्था छ ।
अर्को विकल्प भनेको माध्यमिक तहको विद्यालय भएको गाउँ या स्थान वरपरमा डेरा गरी बस्नुपर्ने अवस्था छ । गरिब परिवारले बालबालिकाका लागि उक्त व्यवस्थापन गर्नसक्ने क्षमता छैन । तसर्थ, आफ्नो घरभन्दा टाढा विद्यालय रहेका बालबालिका माध्यमिक तह पूरा नगर्दै विद्यालय छाड्ने गर्छन । .
गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयप्रति आकर्षण
पछिल्लो समय गुणस्तरीय शिक्षा भनेको अंग्रेजी बोल्ने र जान्ने भन्ने भ्रम र सोचबाट अधिकांश अभिभावक प्रभावित भएको देखिन्छ । यसले गर्दा अभिभावकहरु निजी बोर्डिङ स्कुलप्रति आकर्षित भएको पाइन्छ ।
सरकारी सामुदायिक विद्यालयको गुणस्तर खस्किनु यसो हुनुको महत्वपूर्ण कारण हो । मध्यम तथा न्यून आर्थिक अवस्था भएका परिवारले आफ्ना बालबालिकालाई कहिले सरकारी र कहिले निजी बोर्डिङ स्कुलमा पढाउने गर्दा शिक्षामा एकरुपता र निरन्तरता भएको पाइँदैन ।
सामुदायिक विद्यालयप्रति अभिभावकको चासो कम
संविधानमा निःशुल्क शिक्षाको हक सुनिश्चित गरिएको भए पनि व्यवहारमा भने शिक्षा निःशुल्क र सबैको पहँुचमा पुगेको देखिँदैन । गुम्बा शिक्षामा निःशुल्क शिक्षा र खाने बस्नेको व्यवस्था भएकै कारण विपन्न परिवारका विद्यार्थीले यसलाई विकल्पका रुपमा लिने गरेका छन् ।
निःशुल्क भनिए पनि कतिपय सरकारी विद्यालयले विद्यार्थीसँग शुल्क लिने गरेको पाइन्छ । सरकारी विद्यालयको पढाइ गुणस्तरीय नभएको कारणले गर्दा पनि त्यहाँको शिक्षाप्रति अभिभावकको कम चासो भएको देखिन्छ ।
२०७८ सालमा जस्ट नेपाल फाउन्डेसन (शिक्षामा कार्यरत गैरसरकारी संस्था) ले हेलम्बु गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा गरेको सर्वेक्षण अनुसार ३३ वटा सामुदायिक विद्यालयका ७९ जना बालबालिकाले पढाइ पूरा नगरी विद्यालय छाडेका थिए । त्यही वर्ष विद्यालय परिवर्तन तथा स्थानान्तरण गर्ने विद्यार्थीको संख्या २ सय ९७ रहेको छ ।
कानुनमा के छ ?
नेपालको संविधान २०७२ को धारा ३१ (१) मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने उल्लेख गरिएको छ । धारा ३१ (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तह सम्मको शिक्षा निःशुल्क पाउने हक रहेको उल्लेख छ ।
त्यसैगरी, धारा ३१ (३) अनुसार अपांगता भएका र आर्थिक रुपमा विपन्न नागरिकलाई निःशुल्क उच्च शिक्षा पाउने हक छ । बालबालिकाले शिक्षा पाउनु पर्ने कुरालाई मौलिक हकमा राखिएको छ । साथै, समावेशी शिक्षाको अवधारणाअनुरुप शिक्षा प्रदान गर्ने कुरा प्रस्टसँग उल्लेख गरिएको छ ।
अब के गर्नु पर्ला ?
स्थानीय तहको भूमिका
स्थानीय तह आमजनतासँग निकट रहेको हुन्छ । जनताको अवस्थाबारे स्थानीय निकायका पदाधिकारी जानकार हुन्छन् । जोखिममा रहेका परिवारको बारेमा स्थानीय तहलाई विस्तृत सूचना र ज्ञान रहेको हुन्छ ।
गरिब तथा जोखिममा रहेका परिवारले बालबालिकालाई विद्यालय पठाउन नसकेको वास्तविक कारण तिनीहरुलाई थाहा हुन्छ । त्यसैले ती कमजोर आर्थिक र सामाजिक अवस्थामा गुज्रिएको परिवारको वास्तविक अवस्थाको विश्लेषण गरी सीपमूलक तथा व्यवसायिक जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
परिवारको आर्थिक अवस्था राम्रो भएको अवस्थामा अभिभावकले छोराछोरीलाई स्कुल नपठाइ घरायसी तथा आयआर्जनमूलक काममा लगाउँदैनन् । विपन्न बालबालिकालाई पर्याप्त मात्रामा पुग्ने गरी शैक्षिक तथा अन्य आवश्यक सामाग्री प्रदान गर्नुपर्छ । देश संघीय व्यवस्थामा प्रवेश गरेपछि गुणस्तरीय शिक्षा तथा शिक्षकशिक्षिकाको क्षमता अभिवृद्धि, नियमन तथा अनुगमनको जिम्मेवारी स्थानीय तहलाई रहेको हुँदा सोही अनुसारको रणनीति र कार्ययोजना तयार गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
विद्यालयको भूमिका
बालबालिकाहरुको सिकाइको आवश्यकता फरक–फरक हुन सक्छ । फरकपन तथा विविधतालाई सहज रुपमा स्वीकार गरी विद्यालयले सबै बालबालिकालाई अनुकूल हुने सिकाइ पद्धतिको विकास गर्नुपर्छ । बालमैत्री तथा अपांगतामैत्री विद्यालय स्थापना गर्नुपर्दछ ।
सबैलाई न्याय हुने भौतिक तथा अन्य वातावरणको विकास गर्नुपर्छ । सबै बालबालिकाका लागि समान अवसर सिर्जना गर्नुपर्छ ।
अपांगता भएका बालबालिकालाई विशेष अवसर सिर्जना गर्नुपर्ने देखिन्छ । विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक समितिले विद्यालयको नियमित अनुगमन गर्नुपर्दछ । गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रशासन र शिक्षकशिक्षिकाहरुलाई आवश्यक सहजीकरण गर्नुपर्दछ ।
अभिभावकको भूमिका
बालबालिकाहरुको पहिलो पाठशाला भनेको आफ्नो घर हो । बालबालिकाको बौद्धिक विकास तथा राम्रो आचरणका लागि घरको वातावरण र परिवारका सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । आफ्नो घर र समाजबाट बालबालिकको शिक्षा र ज्ञानको सुरुआती जग बसालिएको हुन्छ । बालबालिकालाई विद्यालय जानका लागि अनुकुल वातावरण निर्माण गर्ने जिम्मेवारी अभिभावकको हुन्छ ।
उनीहरुलाई नियमित विद्यालय पठाउने, गृहकार्य गराउने, विद्यालयमा बालबालिकाको पढाइको स्तरबारे जानकारी लिने आदि काम अभिभावकले गर्नुपर्छ । साथै, विद्यालयको गतिविधि बुझ्ने तथा पठनपाठन प्रभावकारी बनाउन अभिभावकले सघाउनुपर्छ ।
अभिभावकले शिक्षकशिक्षिकाको अध्यापन कार्यबारे जानकारी राख्ने, उनीहरुलाई सहयोग गर्ने र विद्यालयको अनुगमन गर्ने आदि कार्य गरेको खण्डमा गुणस्तरीय शिक्षाका लागि योगदान पुग्ने निश्चित छ ।
निष्कर्ष
अन्तमा, गरिबी तथा चरम आर्थिक सामाजिक समस्याले जेलिएका परिवारको स्थितिमा सुधार ल्याउन सकिएन भने कलिला बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुने निश्चित छ । तसर्थ, ती जोखिमयुक्त अवस्थाबाट गुज्रिएका परिवारको जीवनस्तर उकास्न विशेष सहायताको योजना ल्याउनुपर्ने देखिन्छ ।
नीति–नियममा सबैका लागि निःशुल्क शिक्षा भनिए पनि अतिगरिब तथा जोखिममा रहेका बालबालिकाले शिक्षा प्राप्त गर्न सकेका छैनन् । उनीहरु शिक्षा पाउनुपर्ने आधारभूत अधिकारबाट वञ्चित भएका छन् ।
अतिगरिब तथा जोखिममा रहेका बालबालिकाको शिक्षाका लागि सरकारी तथा गैरसरकारी संघसंस्था, विद्यालय र सरोकारवालाहरुले समता र न्याययुक्त आँखाले हेर्नुपर्छ, अनि, त्यसअनुसार व्यवहारमा विशेष व्यवस्था लागू गर्नुपर्छ ।
(अर्याल शिक्षासँग सम्बन्धित गैरसरकारी संस्थामा सिन्धुपाल्चोक जिल्लामा कार्यरत छिन्)
प्रतिक्रिया दिनुहोस्