२०८१ भाद्र २३
                           

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

असोज २२, सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ ।मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गर्नुभयो। २०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित भएका उहाँ २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिनुभएको हो। यो पटक पनि उहाँ टिकटका आकांक्षी हुनुहुन्थ्यो । माओवादीले सापकोटासँगै माधव सापकोटाको नाम सिफारिस गरेको थियो । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत पनि क्षेत्र नम्बर १ कै टिकटका आकांक्षी थिए ।

सापकोटा र बस्नेतकै कारण सिन्धुपाल्चोकको टिकट बाँडफाँट सत्ता गठबन्धनका नेताहरुका लागि कठिन बनेको थियो । अहिले सिन्धुपाल्चोक १ माओवादी केन्द्र र २ कांग्रेसको भागमा परेको छ ।तर सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उहाँले भन्नुभयो, ‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः प्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्