२०८१ मंसिर ७
                           

सिन्धुपाल्चोकमा ५ जना महिला मात्र उम्मेदवार

कार्तिक २ — आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकबाट जम्मा ५ जना महिलाको मात्र उम्मेदवारी परेको छ ।प्रतिनिधिसभातर्फ २ जना र प्रदेशसभातर्फ ३ जना गरि जम्मा ५ जना महिलाले मात्र उम्मेदवारी दर्ता गराएका हुन् । महिला पुरुष गरि कूल ५७ जनाले उम्मेदवारी दिएको मध्य ८ प्रतिशत महिलाले मात्र यस पटकको निर्वाचनमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचनको कार्यालय सिन्धुपाल्चोक जनाएको छ ।

मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले पुरुष उम्मेदवारलाई मात्र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र न २ मा माया गुरुङलाई उम्मेदवारी बनाएको छ भने मजदुर किसान पार्टीले भक्तपुरकी हरिलक्ष्मी दनेखुलाई क्षेत्र न १ बाट उम्मेदवार बनाएको छ । गुरुङ भने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका निवासी हुनु हुन्छ । उहाँ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सोही गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेर पराजित हुनु भएको थियो ।

प्रदेशसभा सदस्यका लागि भने सिन्धुपाल्चोकमा ३ जना महिला उम्मेदवारले मात्र प्रत्यक्षतर्फबाट उम्मेदवारी दिएका छन् । क्षेत्र न १, प्रदेशसभा (क) मा नेपाली काँग्रेसको तर्फबाट मसिना खड्का, राप्रपाको तर्फबाट निर्मला श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । क्षेत्र न १ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ महिला पुरुष गरि जम्मा १४ जनाले उम्मेदवारी दिएका छन् । तर यो क्षेत्रबाट कुनै पनि महिलाले उम्मेदवारी दिएका छैनन् । क्षेत्र न १, प्रदेशसभा (क) मा महिला पुरुष गरि जम्मा ९ जनाले उम्मेदवारी दिए पनि २ जना मात्र महिला उम्मेदवार छन् । क्षेत्र न २, प्रदेशसभा( ख) मा ६ जनाले उम्मेदवारी दिएका छन् । यो प्रदेशसभाबाट भने कुनै पनि महिलाको उम्मेदवारी परेका छैनन् ।

प्रतिनिधिसभा क्षेत्र न २, प्रदेशसभा (ख) बाट नेमकिपाले भक्तपुर निवासी राजमति लबजुको मात्र उम्मेदवारी परेको छ । प्रदेशसभा (क) बाट भने कुनै पनि महिलाको उम्मेदवारी परेका छैन । प्रतिनिधिसभा सदस्यका क्षेत्र न २ बाट महिला पुरुष गरि जम्मा १३ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा सदस्यका लागि (क) बाट ७ जना र (ख) बाट ८ जना गरि जम्मा १५ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्