२०८१ मंसिर ६
                           

गठबन्धनलाई नरिवल जत्तिकै बलियो बनाउँन सुनकोसीका मतदाताको अपिल

दिपक खत्री ,कार्तिक २० — सिन्धुपाल्चोक सुनकोसीका मतदाताले लोकतान्त्रिक वाम गठबन्धनलाई नरिवल जस्तै बलियो बनाउन अपिल गरेका छन् । घरदैलो अभियानमा पुगेका गठबन्धनका साझा उम्मेदवारहरु माधव सापकोटा सुबोध, सरल सहयात्री र गठबन्धन दल आवद्ध नेताहरूसँगको भेटघाट एवं छलफलमा स्थानीयले आफुहरु ईमान्दारीका साथ भोट दिन तयार रहेको बताए ।


सुनखानीका स्थानिय गोकुल ध्वज थापाले अहिले भोट दिने तर भोली काम गर्दा चिन्दैनौ भन्न नपाउने बताईरहदा आफुहरु ४० वर्षको युवा भएको र एउटा माघले जाडो नजाने भन्दै नेता माधव सापकोटा सुबोधले गाली र रिस नगर्ने गरी काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । नेपाली कांग्रेसको गढ मानिने सुनकोसीमा मतदाता भेट्न पुगेका उम्मेदवारलाई नागरिकले आफ्नो गाउँको योजनाबारे कागजमै बुँदा उतारेर दिएका छन् । स्थानिय चुनावमा ४३ मतको अन्तरले पालिकामा एमाले र माओवादीको गठबन्धनका कारण हार ब्यहोरेको विगतको प्रतिशोध विर्सदै विकासका लागी भोट दिन कन्जुस्याइँ नराख्ने तर मोहन बस्नेतले पुरा गर्छु भनेका अधुरा योजना पुरा गर्ने प्रतिवद्धता मागेका छन् । पहिलो पटक गठबन्धनका साझा उम्मेदवारहरुलाई आफ्नो सुनखानीमा भेट्दै गर्नुभएका थर्क बहादुर बराल युवा र नया अनुहार भएकोले केहि गर्छन् कि भन्ने आफूमा आशा पलाएको भन्दै नया अनुहार हेर्ने चाहाना रहेको बताउनुहुन्छ ।


सुनकोसी गाउँपालिका वडा नम्बर ५ मा ९२ वर्षीया माइली तामाङ आफ्नो छोराका जनयुद्धका साथी माधव सापकोटा सुबोध र सरल सहयात्री पौडेल उम्मेदवार बनेर आउदा खुशी देखिनुहुन्थ्यो । जितका लागि आशीर्वाद दिन आउनुभएको उहाँ कार्यक्रम अवधिभर मञ्चमानै संगै बस्नुभयो ।
मतदाताले विगत बिर्सेर मतदान गर्छौं भनिरहँदा संघीय संसदका लागि उम्मेदवार माधव सापकोटा सुबोधले सबैलाई समेटेर लैजाने, साझा प्रतिनिधि भएर काम गर्ने एवं अधुरा कामहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रदेश सभाका उम्मेदवार सरल सहयात्री पौडेलले परम्परा बदल्न आएको र जनतासँगै बसेर योजना निर्माण र विकासका काम गर्ने प्रतिवद्धता जनाउनुभयो । गठबन्धनले सुनकोसीको पुरानाकोट गाउँ , अदुवाबारी, डाँडागाउँ, तिनघरे, जामुने, रैकर डाँडा र तित्रेमा यमुना डाँडा, सुनखानी, रतनकोट टिम्मुरेलगायतका क्षेत्रमा घरदैलो, मतदाता भेटघाट एवं कोणसभा आयोजना गरिसकेको छ ।


सबै उमेर समुहका नागरिकको उपस्थिति, उम्मेदवारहरुलाई भव्य स्वागत एवं शुभकामना दिने सुनकोसीको दृश्यले हौसला थपेको प्रदेश सभा उम्मेदवार सरल सहयात्री पौडेल बताउनहुन्छ । सुनकोसीका गठबन्धन एकतावद्ध रहेको उहाँको तर्क छ ।
सुनकोसी गाउँपालिकाका पूर्व अध्यक्ष श्रवण कुमार जिसीले कोणसभाहरूलाई सम्बोधन गर्दा गठबन्धनलाई पालिकाबाट ७० प्रतिशत मत खसाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उम्मदवार संगै कांग्रेसका नेता कार्यकर्ता ,चर्चित तेक्वान्दो खेलाडी प्रेम भण्डारी, वाइसिएल, तरुण दलका कार्यकता मतदातालाई भेट्न र मतदाता शिक्षा दिन ब्यस्त थिए । स्थानीय निर्वाचनमा भएको गठबन्धनलाई पुरानो कुरा बिर्सेर अघि बढ्ने अठोट गरेका गठबन्धनले सुनकोसीबाट नयाँ सन्देश दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्