२०८१ मंसिर ७
                           

निर्वाचनमा बालबालिकाको प्रयोग रोक्नु सबैको कर्तव्य हो

महेन्द्र कार्की — स्वभावैले अपरिपक्व, चञ्चले स्वभाव, जिज्ञासु सक्रिय, कुनै काम गर्न सहयोगको आबश्यकता भएका, झुटकुरा नवोल्ने,साँचोकुरा बताउने र उमेरमा बालिक मताधिकार नभएका ब्यक्तिहरु नै बालबालिका हुन । बालबालिकालाई बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ वर्ष उमेर पुरा नगरेका ब्यक्तिहरुलाई बालबालिकाको रुपमा परिभाषित गरिएकोछ । बालबालिकाहरुलाई कुनै नयाँ कुरा देख्नासाथ उनिहरु लोभिने र आफ्नो फाईदा वा वेफाईदा के हुन्छ? आफैले छुट्याउन कठिन हुने भएकोले नै बालबालिकालाई विशेष अधिकार र संरक्षणको आवश्यकता भएको हो ।बालबालिकाहरु के र कस्का लागि प्रयोग भइरहेकाछन् वा हुन्छन भन्नेकुरा बालबालिका आफैले पहिचान गर्न नसक्ने हुदाँ ठाँउ विशेष उनिहरुको प्रयोग वा स्वार्थमा प्रयोग हुन्छन।

बालबालिका हरेक नयाँ कुरा सुन्न, हेर्न र बुझ्न चाहन्छन् । निर्वाचनका बेला नयाँ नयाँ पोष्टर, पर्चाहरु र झण्डा देखेपछि उनिहरु झुम्मिनु स्वभाविक देखिन्छ । मानिसको भिडमा बालबालिका जम्मा हुनु र झुम्मिनुलाई आ-आफ्नो स्वार्थ अनुकूल चलाउने अवस्थाको पर्खाईमा रहेका ब्यक्तिहरुले कानुनको बेवास्था गर्दैविभिन्न समूहहरुले मौका कुरेर बसेका हुन्छन् । अत: धमिलो पानीमा माछा मार्ने मनसाय भएका ब्यक्तिहरुले नै आफ्ना स्वार्थहरु पुरा गर्न बालबालिकाको प्रयोग गर्दछन् । बालबालिकाको सर्वोत्तमहित विपरित उनिहरुलाई प्रयोग गर्नु भनेको बालबालिकाको दीर्घजीवनमा असर पुर्याउनु र बालबालिकाको विकास विरोधी कार्य हुनु नै बाल अधिकारको हनन् गर्नु हो ।

नेपालको राज्यप्रणाली संघीय शासन ब्यवस्थामा प्रवेश गरि २०७२ को संविधान निर्माण भएपछिको दोस्रो कार्यकालका लागि २०७९ मंसिर ४ गतेएकैपटक संघ र प्रदेशको निर्वाचन हुदैछ । सरकार शान्तिपूर्ण ढंगबाट निर्वाचन गराउन लागिरहेको छ भने निवाचन आयोगले संघीय र प्रदेश निर्वाचनका लागि आफ्ना सबैखाले तयारी पुरा गरिसकेको बताएकोछ । देश अहिले पूर्ण रुपमा निर्वाचनमय भईरहेको सन्दर्भमा राज्यको मूख्य ध्यान निर्वाचन बाहेक अरु कुनै कुरामा छैन र अन्यत्र ध्यान दिने अवस्था पनि देखिदैन । लोकतान्त्रिक ब्यवस्थाको सुन्दर पक्ष नै निर्वाचन हो जहाँ नागरिकहरुले आफ्ना लागि शासन गर्न जनप्रतिनिधिहरु छनौट गरि पठाउनेछन् र ५ वर्षमा वालिक मताधिकारबाट नै शासन व्यवस्था सञ्चालकहरु छनौट हुने व्यवस्था संविधानले गरेको छ । निर्वाचनमा भाग लिएका राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरु निर्वाचनको प्रचारप्रसारमा जुटिरहेकाछन् । देश पुरै निर्वाचनमय भईरहदाँ निर्वाचन आयोगले राजनितिक दल, उम्मेदवार, दलका भातृसंगठन, सरकार मन्त्री , कर्मचारी, संघ-संस्था, पत्रकार, र नागरिक सबैले आ आफ्नो जिम्मेवारी पालना गर्नका लागि आचासंहिता निर्माण गरि लागू गरेको छ । निर्वाचनमा कुनैपनि राजनीतिक दल र उम्मेदवारले बालबालिकाको प्रयोग गर्न पाउदैनन् र गर्नु हुदैन । निर्वाचनमा बालबालिकाको प्रयोग गर्नु बाल अधिकार विपरितका कार्य हुन्छन् ।

निर्वाचनमा बालबालिकाको प्रयोग विभन्न तरिकाले हुन्छ ।कुनैपनि राजनितिक दल, उम्मेदवार, नेता तथा कार्यकर्ता र भातृसंगठनहरुले बालबालिकालाई जुलुस, र्याली, प्रचार प्रसार आदि कार्यमा संलग्न गराउनु,बालबालिकालाई राजनीतिक दल तथा उम्मेदवारले सभा सम्मेलन आदि कार्यहरुमा कलाकार, वक्ता, सहभागी वा अन्य रुपमा प्रयोग गराउनु,बालबालिकालाई निर्वाचन चिन्ह, दल, राजनीतिक समूह आदिको सङ्केत अङ्कित टि सर्ट, टोपी, स्टिकर टाँस गरी वा शरीरका कुनै पनि अङ्गमा त्यस्तो चिन्ह अंङ्कित गराइ वा टाटु बनाइ परिचालन गराउनु,बालबालिकालाई राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन र राजनीतिक प्रयोजनका विभिन्न कार्यहरुमा श्रमिकको रुपमा कार्य गराउनु (जस्तै पर्चा पोष्टर टाँस्ने, बोक्ने, पाल टाँग्ने, खाना बनाउने, बिजुलीको काम गर्ने, भाँडा माझने, पानी ल्याउने, ख्वाउने, कार्य आदि),बालबालिकालाई परिवार वा समुदायको राजनीतिक तथा साम्प्रदायिक आस्थाको आधारमा द्वन्द्व सिर्जना गर्ने तथा हुल हुज्जत गर्ने गराउने कार्यमा प्रयोग गराउनु,निर्वाचनमा सहभागी तथा विरोधी पक्षहरुले बालबालिकालाई हात हतियार र अन्य यस्तै सामग्रीहरु ओसार पसार तथा बोक्ने कार्यमा प्रयोग गर्ने गराउनु,बालबालिकालाई राजनितिक फाइदाको उद्देश्यले जासुसी, खबरी, सुराकी, सूचना वाहक तथा विरोध कार्य गर्न प्रयोग गराउनु,बालबालिकालाई चन्दा संकलन कार्यमा प्रयोग गराउनु,विद्यालय र विद्यालय हाताभित्र आमसभा, माइकिङ्ग र निर्वाचनका अन्य प्रचारका कामहरु गर्ने गराउनु,विद्यालय तथा शैक्षिक संस्था वा छात्रावासको भित्ता वा पर्खालमा कुनै पनि किसिमको पर्चा टाँसिएको वा राजनीतिक दल तथा उम्मेदवारका पक्षमा तथा विरोधमा भित्तेलेखन गराउनु,विद्यालय समयमा विद्यालयका भौतिक तथा शैक्षिक सामाग्रीहरुको प्रयोग गरिएको, विद्यालय हातामा राजनीतिक दलहरुले निर्वाचन कार्यक्रमहरु आयोजना गर्नु,विद्यालयमा गरिएका राजनीतिक तथा निर्वाचनका कार्यक्रमहरुका कारण विद्यालयका भौतिक सम्पतिमाथि क्षति पुग्नु(जस्तै डेक्स, वेन्च आदि र सोमा हुन पुगेको नोक्सानी),राजनीतिक दल तथा उम्मेदवारका पक्षधरहरुबीच भएका झडप तथा द्वन्द्वका कारण विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमाथि धम्की, कुटपिट र अन्य हानि नोक्सानी पुराउनु,विद्यालयका शिक्षकहरुलाई राजनीतिक दल तथा उम्मदेवारको पक्षमा प्रचार प्रसारमा संलग्न गराएको कारण पठनपाठनमा असर पार्नु,विद्यालय नजिकका स्थानहरुमा आमसभा लगायत सभा सम्मेलनहरु आयोजना गरी विद्यालयको नियमित पठनपाठनलाई असर पार्नु,राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुले मतदाताहरुलाई आफना सन्तानको कसम खाने तथा धर्म भाकल गर्न लगाइ मत पक्का गराउनु,निर्वाचन प्रयोजनका लागि भनी निर्वाचन आयोगद्वारा तोकिएका दिन बाहेक पनि विद्यालय बन्द गर्नु र त्यसबाट बालबालिकाको नियमित पठनपाठनमा असर पार्नु,बालबालिकालाई निर्वाचन केन्द्रमा मतदाताको रुपमा प्रयोग गराउनु,निर्वाचन केन्द्रमा वयस्कको सटट्मा बालबालिकालाई लाइनमा बस्न लगाउनु,निर्वाचन केन्द्र र त्यसका वरपर बालबालिकालाई हुल हुज्जत, झैझगडा तथा द्वन्द्व सिर्जना गर्न प्रयोग गराउनु,निर्वाचन केन्द्र वरपर विभिन्न कारणले पुगेका बालबालिकामाथि हिंसा, कुटपिट, डर त्रास तथा धम्कि र अश्लिल गालीगलौज गर्नु र विजय जुलुस, र्याली आदिमा बालबालिकालाई संलग्न गराउनु,विजय सभा र जुलुस आदिमा बालबालिकालाई कलाकार, वक्ता, नारावाजी, स्वयंसेवक आदिमा प्रयोग गराउनु,निश्चित परिवार, समुदायका बालबालिकामाथि (विपक्षी वा आफूलाई भोट नहालेको निहुँमा अपहेलना, हिंसा, कुटपिट, बेइज्जती गर्नु र बालबालिका बिरुद्ध कसूर गरेको व्यक्ति उम्मेदवार बनाउनुलगायतका विषयहरुमा बालबालिकाको प्रयोग गर्नु नै निर्वाचनमा बालबालिकाको प्रयोग गर्नु हो । निर्वाचनमा आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनको अनुगमन गर्न अनुगमन समिति सम्बन्धी ब्यवस्था गरेको देखिन्छ ।राष्ट्रिय बाल अधिकार परिषदलेप्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९मा बालबालिका र विद्यालयलाई दलगत राजनितिक प्रयोग, परिचालन भएको देखिएमा तत्काल राष्ट्रिय बाल अधिकार परिषदमा अनलाइन फाराम मार्फत जानकारी गराऔँभन्ने आव्ह्वान गरेकोछ ।

निर्वाचनमा बालबालिकाको प्रयोग हुनु निर्वाचन आचारसंहिता उल्लंघन गर्नु हो त्यसैलेविभिन्न राजनीतिक दलका उम्मेदवारहरुलाई निर्वाचनको प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेकोमा कारवाही गर्ने जनाएको छ । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा (२) खण्ड (छ) अनुसार बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्नु वा हड्ताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्ने कार्यलाई बालबालिका बिरुध्दको कसुर मानेको छ । बालबालिकाको प्रयोग गर्ने जो कोहीलाई पचहत्तर हजार रुपैयासम्म जरिवाना र तीन वर्षसम्म कैदको सजायको ब्यवस्था रहेको छ ।कानुनको कार्यान्वयनमा सहयोग गर्नु प्रत्येक नागरिकको कर्तब्य हो ।निर्वाचन सम्बन्धीकुनैपनिदलगत राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग गर्नु भनेको बाल अधिकारको हनन् गर्नु हो तसर्थबाल अधिकारको संरक्षण र कार्यान्वयनमा सहयोग गर्दै निर्वाचन आचारसंहिताको पालना गरौँ ।

सिन्धपाल्चोक चौतारा साँगाचोकगढी १ स्याउलेका लेखक महेन्द्र कार्की लामो समय देखि विभिन्न संघ सस्थामा आवद्ध रहि बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्