मंसिर २६ ÷ राजनीतिक दलहरू संसदीय दलको नेता छान्नका लागि अनौपचारिक छलफलमा जुटेका छन् । यसपटक संसदीय दलको नेता बन्न चाहने आकंक्षीहरू धेरै देखिएपछि नेपाली काँग्रेसमा चुनावै गर्नुपर्ने अवस्था आउने हालसम्म देखिन्छ । प्रधानमन्त्री समेत रहनुभएका सभापति शेरबहादुर देउवा फेरि पनि संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने चाहनामा रहनुभएको छ । तर महामन्त्री गगन थापा पनि संसदीय दलको नेता बन्न चाहनुभएको छ, उहाँलाई अर्का महामन्त्री विश्व प्रकाश शर्माले साथ दिने बताइ सक्नुभएको छ ।
नेता चन्द्र भण्डारीले पार्टीमा अनौपचारिक छलफल भएको भए पनि चुनाव हुनेनहुने बारेमा भने कुनै निर्णय भइनसकेको बताउनुभयो । अन्य दलमा भने पार्टी अध्यक्षलाई चुनौति दिने नेता देखिएका छैनन् । जसका कारण चुनाव हुने सम्भावना कम छ । एमालेमा अध्यक्ष केपी ओली, माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता बन्ने पक्का भएको छ ।
अध्यक्ष उपेन्द्र यादवले निर्वाचन हारेपछि जनता समाजवादी पार्टीमा भने कसलाई संसदीय दलको नेता बनाउने भन्नेमा छलफल सुरु भइनसकेको नेता प्रकाश अधिकारीले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीमा भने सभापति रवि लामिछाने नै संसदीय दलको नेता बन्ने लगभग निश्चित छ । लोसपामा पनि महन्थ ठाकुर नै दलको नेता बन्ने अवस्था रहेको छ । संसदीय दलको नेता नै प्रधानमन्त्री बन्न पाउने प्रावधान भएकाले पनि यसमा नेताहरूले बढि रुची देखाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्