२०८१ मंसिर ९
                           

विकास निर्माणको गतिविधिको रोडम्याप तयार गर्न वृहत विकास सम्मेलनको आयोजना गरिने – सांसद माधव सापकोटा

पौष १९, जिल्लाको विकास निर्माणको गतिविधिको रोडम्याप तयार गर्न वृहत विकास सम्मेलनको आयोजना गरिने सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद माधव सापकोटाले बताएका छन् । बलेफी गाउँपालिका–४ मा रहेको सेतीदेवि माविको ४४ औं वार्षिक उत्सव तथा ३२ औं अविभावक सम्मेलनको उद्घाटन गर्दै सापकोटाले सो कुरा बताएका हुन् ।
जिल्लाको शैक्षिक स्तर सुधार्न र व्यवसायिक शिक्षालाई अगाडि बढाउन आफ्नो तर्फवाट विशेष योजना ल्याउने बताउँदै सापकोटाले शैक्षिक जनशक्तिले बिबेकपूर्ण ढंगले काम गरे मात्र शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सकिने उनको तर्क थियो ।
तातोपानी नाकालाई दुई तर्फी रुपमा संचालनमा आउने गरि छिट्टै संचालनमा ल्याउन पहल भईरहेको सापकोटाको भनाई थियो । बाह्रविसे तातोपानी खण्डको सडकलाई मर्मत सम्भार गर्न रकमको ब्यबस्थापन भएकाले छिट्टै कार्य प्रारम्भ हुने सापकोटाको भनाई थियो ।
सभामा बागमती प्रदेशकी प्रदेश सदस्य अमृता नेपाल, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य प्रतापसिं तामाङ, बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा, वडा अध्यक्षहरु सूर्ये तमाङ, रमेश श्रेष्ठ, तेजवहादुर पराजुली, पूर्व वडा अध्यक्ष कालिप्रसाद लामा, हरिशिद्वी क्याम्पसका प्रमुख माल्सिङ तामाङ, शिक्षकहरु यदुनाथ नेपाल, रेशम तामाङ, अभिभावक हरिवहादुर तामाङ लगाएतकाकाले मन्तब्य राखेका थिए ।
सभामा प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने लेखा प्रमुख रेखबहादुर तामाङले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सभामा शिक्षक तथा विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गर्नुका साथै विज्ञान प्रयोगशाला प्रदर्शनी गरेका थिए । सभा शिक्षक अभिभावक संघका अध्यक्ष सत्यमा तामाङको अध्यक्षतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्