२०८१ भाद्र २३
                           

डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकका चार जना पक्राउ

पुस २१,  अमेरिकन डलर देखाएर ठगी गर्ने चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकका चार जनालाई सार्वजनिक गरिएको हो ।

उनीहरूलाई प्रहरीले बुधबार दिउँसो करिब ३ बजे नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे–३ का २१ वर्षीय सोमबहादुर डुम्जन, ३३ वर्षीय दिवस डुम्जन, बाह्रविसे–४ का २८ वर्षीय शेरबहादुर तामाङ र सिन्धुपाल्चोक जिल्लाकै त्रिपुरा गाउँपालिकाका २८ वर्षीय देवा डुम्जन रहेका छन् ।

विशेष सूचनाको आधारमा अवैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिसहरू भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खटिएको थियो ।

ठगीमा संलग्न एक जना भने फरार रहेको मकवानपुरका प्रहरी प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ अमेरिकी डलर, ६ हजार २ सय १० नेपाली रुपैयाँ, कागजको नक्कली नोट ८ बन्डल, ५ थान मोबाइल र ३ थान गुलेली बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २ सय ४९ र २ सय ५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढिरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।इकान्तिपुरबाट

 

प्रतिक्रिया दिनुहोस्