२०८१ भाद्र २३
                           

जन जागृति माविले मनायो ७२ औं वार्षिकोत्सव

सिन्धुपाल्चोक ,२९ पुस –चौतारा सागाचोकगढी नगरपालिका–१२ स्थित जन जागृति माध्यमिक विद्यालयले स्थापनाको ७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयमा आयोजित वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको हो  । कार्यक्रममा प्रमुख अतिथि विद्यालयका पूर्व शिक्षक एवं प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा,विषेश अतिथि संविधानसभा सदस्य गंगा पराजुली,चौतारा सागाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा,उप प्रमुख सीता थापा रहनुभएको थियो । त्यस्तै अतिथिहरुमा विभिन्न संघ सस्थाका प्रतिनिधि,जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

सोही अवसरमा चौतारा सागाचोकगढी नगरपालिका–१२ बिर्ताथोक निवासी गौरीशंकर पराजुलीले स्वर्गीय माता पिताको नाममा १ लाख ११ हजार १ सयको अक्षयकोष घोषणा गर्नुभएको छ । अस्ट्रेलिया बस्नुहुने जमुना पराजुलीले विद्यालयमा पुस्तक खरिद गर्नका लागि ४८ हजार आर्थिक सहयोग गर्नुभएको छ भने भुतपुर्व विद्यार्थी मिलन समाजबाट बुक कर्नरका लागि ३० हजार बराबरको ५ वटा र्‍याक उपलब्ध गराएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अकल लामाको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा नगर प्रमुख कृष्णप्रसाद सापकोटा,विद्यालयको पुर्वविद्यार्थी तथा नगर उपप्रमुख सीता थापा, पुर्व शिक्षक तथा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली,नेपाली काङ्ग्रेसका नेता केशवराज गिरी,पूर्वविद्यार्थी मिलन समाजका सचिव हरिबहादुर कार्की, वडा नम्बर १२ का वडाध्यक्ष दीपेन्द्र प्रसाद नेपाल लगायतले शुभकामना दिनुभएको थियो ।

प्रमुख अतिथि प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले वार्षिकोत्सवको उद्घाटन दीप प्रज्वलन गरि गर्नुभएको थियोे । विद्यालयका प्रधानाध्यापक पदमप्रसाद पराजुलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे भने कार्यक्रमको संचालन विद्यालयका शिक्षक धुर्बराज गिरीले गर्नुभएको थियो ।

प्रमुख अतिथि सापकोटाले देशभक्ती र सदाचार भन्दा ठूलो केहि पनि नभएकोले शिक्षक,कर्मचारी,जनप्रतिनिधि सबैले देशभक्ती र सदाचारलाई सिरोधार्य गरेर लाग्ने हो भने राम्रो परिणाम दिन सक्ने बताउनुभयो । विद्यालय राम्रो बनाउन शिक्षक आफ्नो ठाउँ राम्रो बनाउन जनप्रतिनिधि र देश बनाउन आ आफ्नो ठाउँबाट अगाडि बढेका प्रतिनिधिले चरित्रवान र देशभक्ति र सदाचारलाई ख्याल गरेर काम गर्ने हो भने धेरै राम्रो गर्न सकिने भएकोले त्यसै अनुसार अगाडि बढ्न आग्रह गर्नुभयो ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यालयका बिब्यसका पुर्वअध्यक्ष नारायण गिरी,दधिराम पराजुली,बिष्णुमाया गिरी लगाएतलाई सम्मान गरिएको थियो भने विद्यालयले आयोजना गरेको विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद लगायतका प्रतियोगितात्मक क्रियाकलापहरु सञ्चालन गरेकोमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।   अशोक पराजुली

प्रतिक्रिया दिनुहोस्