२०८१ भाद्र २३
                           

डा. शुभेच्छुको चौतारासँग शैक्षिक सम्बन्ध ,क्याम्पसको पुस्तकालयलाई महत्वपूर्ण उपहार

चौतारा ,३० पुुस
डा. रमेश शुभेच्छु पुस्तकप्रेमी साहित्यकार हुन् । उहाँको घरको पुस्तकालय कुनै क्याम्पसको पुस्तकालय भन्दा कम देखिँदैन । अहिले धेरै अध्येताहरु महत्वपूर्ण पुस्तक खोज्दै उहाँका निवासमा पुग्छन् । उहाँ सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पसका अतिथि प्राध्यापक हुन् । उहाँ २०७९ साल पुस अन्तिम साता क्याम्पसको काम लिएर चौतारा पुग्नुभएको थियो । त्यस अवसरमा उहाँले क्याम्पसको पुस्तकालयलाई महत्वपूर्ण पुस्तकहरु उपहार गर्नुभएको छ ।

चौतारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र दङ्गाललाई पुस्तक हस्तान्तरण गर्दै शुभेच्छुले ज्ञान भण्डारमा केही थोपा ज्ञानका स्रोतसामग्री थप गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । शुभेच्छुले आफ्नो सङ्कलनमा रहेका पाँच दर्जन जति पुस्तक क्याम्पसको पुस्तकालयलाई हस्तान्तरण गर्नुभएको थियो । पुस्तक बुझ्दै चौतारा क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र दङ्गालले शुभेच्छु सरले क्याम्पसको विकासमा बौद्धिक र प्राज्ञिक सहयोग गर्दै आउनुभएको बताउनुभयो ।

क्याम्पसका प्रशासक कृष्णगोपाल श्रेष्ठका अनुसार शुभेच्छु सर काठमाडौँबाट आउँदा केही न केही नयाँ कुरा बोकेर आउनुहुन्छ । यस पटक त उहाँ विद्यावारिधि गरेको प्रमाणपत्र पनि बोकेर आउनुभयो र एक बोरा किताब पनि बोकेर आउनुभयो । पुस्तक हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी गीता सापकोटाका अनुसार शुभेच्छुले थुप्रै ठाउँमा पुस्तकालय स्थापनाका लागि सहयोग गर्नका साथै स्थापित पुस्तकालयमा पुस्तक उपहार गर्दै आउनुभएको छ ।

उहाँ पुस्तक प्रदर्शनीहरुमा मनपरेका पुस्तक केही प्रति बढी किनेर आफ्नो घरको पुस्तकालयमा राख्नका साथै अन्य पुस्तकालयलाई उपहार गर्नुहुन्छ ।कतै पुस्तक दिन लाग्दा केही नजिकका साथीहरुलाई पनि अनुरोध गर्नुहुन्छ । यस पटक पनि उहाँले आफ्ना छिमेकी साहित्यकार मित्र दिल पौडेलसँग केही पुस्तक सङ्कलनका लागि सहयोग माग्नुभएको थियो ।

शुभेच्छुका अनुसार समाजको विकास भवन, भ्युटावर, पुलपुलेसा र चिल्ला सडक एवम् अग्ला भवनले मात्र हुँदैन । सभ्य समाज विकासका लागि पुस्तकालय, विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरु बन्नुपर्छ । यी सबै पक्षको जग पुस्तकालय हो । डा. शुभेच्छुको चौतारासँग शैक्षिक सम्बन्ध रहेको छ ।
पुस्तक हस्तान्तरण गर्दै

प्रतिक्रिया दिनुहोस्