२०८१ मंसिर ६
                           

जलवायु परिवर्तनको असर , हिउँ जम्ने डाडापाखा काला पत्थर बन्दै

दिपक खत्री, माघ ३ — सिन्धुपाल्चोकको हेलम्बुका माथिल्लो क्षेत्रमा मंसिर सुरु हुँदा डाँडाकाँडा र पाखा पखेरा हिउँले ढाकिसकेको हुन्थ्यो । प्रत्येक वर्ष हिउँदमा टन्न हिउँ पथ्र्याे । पुस र माघमा त जता हे¥यो उतै सेताम्मे । हिउँ पानीले जमिन ,डाँडा पाखा राम्रोसित भिजाउँथ्यो । तर अहिले समय र मौसम बदलिएको छ । हिउँले चाँदीझैँ टल्कने डाँडा पाखा अहिले उराठ लाग्दा देखिन्छन् । हिमालमै हिउँ देख्न मुस्किल हुन थालेको छ । यहि विशेषताका कारण विदेशी पर्यटक माझ प्रसिद्धि कमाएको हेलम्बुमा प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको छ ।

पछिल्ला वर्षमा एकाएक हिउँ पर्न छाडेपछि यहाँका डाडापाखामा काला पत्थर मात्र देखिन थालेको छ । हिउँ हेर्नकै लागी पुग्ने बाह्य पर्यटक क्रमशः घट्दै जाँदा होमस्टे संचालन गरेर जिवन गुजारा गर्ने देखि ठुलो लगानीमा होटल संचालन गरेका ब्यवसायी समस्यामा छन् । हेलम्बु घुम्न ट्राभल एजेन्सीहरूले एक सातासम्मको टुर प्याकेजमा बाह्य पर्यटकहरू भित्रिने क्रम भने पछिल्ला दिनमा सुन्यकै अवस्थामा रहेको शेर्माथाङका होमस्टे संचालक निमा डोल्मा लामा बताउनुहुन्छ ।

हेलम्बुको तार्केघ्याङ, मेलम्ची घ्याङ, तेजेनथाङ, कुटुम्साङ, घोप्टे घ्याङ, ठाडेपाटी, तार्तुङ हिउँले नढाकेको वर्षौ भयो । हेलम्बु क्षेत्रमा स्थानीय स्रोत र साधनबाट बनाइएका आकर्षक होटल, पाहुना घर, ह्योल्मो जातिको रीतिरिवाज, गुम्बा, घ्याङ, ग्रेटटेल जस्ता संरचनामा पुग्ने पर्यटक हिउँ देख्न र छुन नपाउदा खल्लो भएको अनुभव सुनाउँछन् । प्रसस्त मात्रामा हिउँ पर्दा स्थानीय उत्पादनबाट बनेका परिकार, लाङटाङ राष्ट्रिय निकुञ्ज, मेलम्ची खोलाको छहरा, भौगोलिक विविधताले विगतमा हेलम्बुमा विदेशी पर्यटकको भिड लाग्ने गरेको थियो । पछिल्लो वर्षमा जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुदा यहाँका डाँडाहरूमा हिउँ जम्न छाडेको छ । हिमाली क्षेत्रका बासिन्दा जलवायु परिवर्तनको असर भोगिरहेको स्थानिय मिलन तामाङ बताउनुहुन्छ ।

बढ्दो तापक्रमले हिउँ पग्लिएपछि हिमाली क्षेत्रमा चिसोपना हराउँदा पर्यावरणमा क्रमश असर देखिँदै छ । हिउँ पग्लिएर हिमाल कालै देखिएपछि हेलम्बु गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा कृत्रिम हिउँ उत्पादन गर्नका लागि २० लाख रुपैयाँ बजेट पनि विनियोजन गरेको हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेपाले बताउनुभयो ।

विदेशी पर्यटक हिमालको अनुभव लिदै हाइकिङ र ट्रेकिङका लागी विगतमा हेलम्बु आउने गर्दथे । अहिले हिउँ जम्ने पाहाड नाङ्रगीदै छ । जलवायु परिवर्तनले भोग्नुपरेको हेलम्बुको यो अवस्था मानव जातिका लागि उच्च खतराको घण्टी भएको बातावरण विज्ञ प्रभु बुढाथोकी बताउनुहुन्छ । पर्याप्त हिमपात नहुँदा चिस्यान घट्दै गएको छ । पछिल्ला वर्षमा त हिउँ पर्ने गरेका स्थानहरुमा तुषारो पर्छ । हिउँ कम पर्दा हिमालको सौन्दर्य हराउनुका साथै पर्यटनमा असर मात्रै होइन, कालान्तरमा नदीका मुहान सूक्ने र पिउने पानीकै अभाब हुने जोखिम बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्