२०८१ भाद्र २३
                           

सुनकोशी गाउँपालिकाद्धारा जटिल रोगका बिरामीहरुलाई मासिक ५ हजार

सिन्धुपाल्चोक,५ माघ
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाद्धारा जटिल रोगका बिरामीहरुलाई औषधी उपचारका लागी मासिक ५ हजार दिने भएको छ ।
गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका दिर्घरोगका बिरामीहरुका लागि औषधी उपचारमा सहयोग गर्ने उदेश्यले मासिक ५ हजार दिन सुरु गरेको छ ।

नेपाल सरकारले यी चार रोगका बिरामीहरुलाई उपचारमा सहयोग गर्ने उदेश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय सरकारहरुलाई अनुरोध गरेको थियो । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघात विरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ अनुसार सुनकोशी गाउँपालिकाले ३८ जना यो सँग सम्बन्धी बिरामीहरुलाई ६ महिनाको ३० हजारका दरले सम्बन्धीत बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

गाउँपालिकाले उक्त कार्यविधि अनुसार सार्वजनिक सूचना मार्फत सबैलाई निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणीत हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।
गाउँपालिका भित्र सबैभन्दा बढी क्यान्सर रोगका विरामीहरुले उक्त सुविधा लिएका छन् । ३९ जना क्यान्सर रोगी, पाँच जना मृगौला प्रत्यारोपण, सात डायलाइसिस गराएका र तिन जना मेरुदण्डका पक्षघातका बिरामीहरुलाई उक्त सुविधा प्रदान गरिएको दुलालले जानकारी दिनुभयो ।

गाउँपालिकाले दिर्घरोगीहरुलाई निःशुल्क औषधी दिने भएको छ । पालिकाको चालु आर्थिक वर्ष ०७९÷८० को स्वीकृत कार्यविधि अनुसार गाउँपालिका स्थायी ठेगाना भएका र सुगर, प्रेसर, दम र मानसिक रोगका रोगीहरुलाई निःशुल्क औषधी उपलब्ध गराउने भएको छ । गाउँपालिकाले माघ तेस्रो साता देखि चारै रोगका बिरामीहरुलाई सम्बन्धीत वडा,स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्वमसेविकाहरु मार्फत विरामीहरुले नियमित सेवन गर्दे आएको औषधी नै गाउँपालिकाले प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्