२०८१ भाद्र २३
                           

चौतारामा सिन्धु कला मन्दिर भवन बन्दै

चौतारा ,२१ माघ
रामकृष्ण थापा- कला, साहित्य र नेपाली मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी–५ मा सिन्धु कला मन्दिरको भवन बन्ने भएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले शनिबार भवनको शीलान्यास गरेका छन् । सिन्धु कला मन्दिरले बिगत लामो समयदेखि सदरमुकाम चौतारामा गीतसंगीत, कला र साहित्यको क्षेत्रमा काम गर्दै आएको छ ।

अब औपचारिक रुपमा यसका गतिविधिलाई स्थानीय माझ पु¥याउन भवन निर्माण गरेर अगाडि बढ्ने अठोट लिएको मन्दिरका अध्यक्ष गायक चन्द्रसिंह तमु (घले) ले बताए । भवन निर्माणमा बागमती प्रदेश सरकार र चौतारा साँगाचोकगढी नगरपालिकाले सहायता गर्ने वचनबद्धता आएको छ । भवन निर्माणसँगै गीतसंगीत लगायत कला र साहित्य क्षेत्रको विकासमा थप टेवा पुग्ने छ ।

शीलान्यास गर्दै भौतिक पूर्वाधार विकास मन्त्री दुलालले कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार योजनावद्ध ढंगले लाग्ने बताए । ‘सदरमुकाम चौतारा जिल्लाकै केन्द्र हो । सहरी अवधारणअनुरुप विकास गर्न सिन्धु कला मन्दिरको भवन पनि एउटा अंग हो,’ उनले भने, ‘भवन तयार भएपछि गीतसंगीत, कला र साहित्यका विभिन्न विधाको तालिम र प्रशिक्षण सञ्चालन गर्न सकिन्छ ।’ शिक्षा, स्वास्थ्य, रंगशाला, अरु भौतिक पूर्वाधारजस्तै सिन्धु कला मन्दिरको भवन पनि सहरी क्षेत्र निर्माणको लागि अपरिहार्य रहेको उनले प्रष्ट्याए । भवन बनाउन आवश्यक बजेट जुटाउन लागिपर्ने दुलालले बताए ।

५ नं. वडाका कार्यबाहक अध्यक्ष रामबहादुर घलेले मन्त्री दुलालले सदरमुकाम र समग्र जिल्लाको विकासमा यसअघि खेलेको भूमिकाको प्रशंसा गर्दै राजनीतिक आस्था छोडेर कामको मूल्यांकन गर्दा दुलाल नै विकासको लागि स्थापित नेता बनेको बताए । वडासँग पर्याप्त बजेट नभएपनि भवन बनाउन क्रियाशील हुने उनको भनाइँ छ । शीलान्यास गर्न मन्त्री दुलालसँग चौतारा साँगाचोकगढीकी उपमेयर सीता थापा पनि कार्यक्रमको अन्तिममा आइपुगेकी थिइन् । कार्यक्रम गजलकार हेमन प्रधानले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्