२०८१ भाद्र २३
                           

नगर स्तरीय बाल भेला ,सञ्जाल पुनर्गठन तथा अनुशिक्षण कार्यक्रम सम्पन्न

माघ २७ – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले नगर स्तरीय बाल भेला ,सञ्जाल पुनर्गठन तथा अनुशिक्षण कार्यक्रम संचालन गरेको छ । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरपालिका कार्यबाहक प्रमुख तथा उपप्रमुख सिता थापाले तालिमको सहजिकरणले विद्यालयमा बाल क्लव संचालन गर्न सहज हुने र दायित्व बोध गराउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले विद्यालयका शिक्षक र वडा अध्यक्षहरुलाई समेत बाल क्लबलाई सक्रिय बनाइराख्ने विषयमा चासो र सरोकार राख्न सुझाव दिनुभयो ।

पछिल्लो क्रममा बालबालिका सामाजिक संजालको गलत प्रयोग र कुलतमा फस्ने जोखिम वढ्दै गएकोमा उहाँले चिन्ता ब्यक्त गर्दै रचनात्मक भएर काम गर्न सुझाव समेत दिनुभयो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका वडा अध्यक्ष रामप्रसाद गौतमले १३ नम्बर वडामा जस्तै नगरका अन्य वडालाई पनि बाल मैत्री वडा घोषण गर्न लागिपरेको बताउनुभयो ।

कार्यक्रममा नगरभरीका बाल क्लवमा प्रतिनिधित्व गर्ने विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । आजै सम्पन्न कार्यक्रम पश्चात नगर स्तरीय बाल सञ्जाल समेत गठन भएको छ । भेलाबाट नगर बाल सञ्जाल अध्यक्षमा वडा नम्बर ५ का सृजन सुवेदी चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा सुस्मिता ढुङ्गेल ,सचिवमा निरुता श्रेष्ठ ,उपसचिवमा श्रेया नेपाल र कोषाध्यक्षमा सृजन श्रेष्ठ सहित २१ सदस्य कार्यसमिति चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्