२०८१ भाद्र २३
                           

बालीनाली कुर्न बाघ

सिन्धुपाल्चोक ,२४ फागुन

सुन्दा र पढ्दा अनौठो लाग्न सक्छ, तर भएको यहि छ । बाघले बालीनाली कुर्ने गोठालोको काम गरिरहेको छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेका एक किसानले बाँदरले बालीनाली खाएर हैरान पारेपछि  स्थानीय किसान होमनाथ नेपालले बाँदर कुर्न बाघ गोठालो राख्नुभएको छ ।

यहाँ जिउँदो बाघ हो कि भनेर झुक्किनु पर्दैन, उहाँले बाघको फोटो राखेर ‘फ्लेक्स’ प्रिन्ट गरेर खेतमा ठाउँ ठाउँमा टाँगिदिनु भएको छ । ‘यसपाली आफ्नो र अरुको समेत खेत भाडामा लिएर आलु रोपेको थिएँ, बाँदरले हैरान पार्यो अनि बाघ गोठालो राखें नेपालले भन्नुभयो ।’ उहाले बाघको फ्लेक्स राख्नुको कारण सुनाउनुभयो । उमेरले ३५ बर्षका होमनाथ मेहनती किसान हुनुहुन्छ । यो अक्कल कसरी आयो त रु उनी भन्छन् ‘खेतभरी आलु लगाइयो, उम्रिन पा’को छैन बाँदरले उखेल्न थालिहाल्यो, चिन्ताकै बिचमा यसो गरे हुन्छ कि भन्ने अक्कल आयो ।’ उहाले हाँस्दै सुनाउनुभयो, ‘बाघले काम गर्यो, बाँदर खेतमा पस्न सकेन ।’ उहाले पाँच हजार खर्चमा बाघ अंकित पाँच वटा फ्लेक्स प्रिन्ट गरेर खेतमा टाँग्नु भएको छ ।

बाँदरले सागबारी र लसुनखेतिमा पनि आँखा लगाएपछि बाघ अंकित फ्लेक्स अहिले लसुन कुरिरहेको छ । उहाँको उपायले काम गरेपछि स्थानीय प्रकाश नेपालले पनि एउटा फ्लेक्स लसुनखेतिको कान्लोमा टाँगिदिएको सुनाउँनुभयो । होमनाथको अक्कलले उहाँलाई मात्रै होइन साँधमा खेत भएकाहरुलाई पनि सहयोग पुगेको छ । बाघको फ्लेक्सले दिउँसो आउने बाँदर डराउने भएपनि राति आउने बँदेलजस्ता जनावरका लागि भने उनीहरुले टाढाबाट नदेख्ने भएर काम नगर्ने किसान होमनाथको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्