२०८१ कार्तिक २
                           

चीनको उत्तरी सीमा तातोपानी नाका बन्न थाल्यो सहज

सिन्धुपाल्चोक ,१२ चैत
रामकृष्ण थापा -चीनको उत्तरी सीमा तातोपानी नाका सहज बन्न थालेको छ । पाँच कन्टेनर सामान आयात हुँदै आएको तातोपानी नाकाबाट अहिले दैनिक १० देखि १५ कन्टेनर सामान भित्रिन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । एक चिनियाँ कन्टेनर सामान तातोपानी सुक्खा बन्दरगाहमा ल्याएपछि दुई नेपाली कन्टेनरमा पल्टी गरिन्छ । मासिक तीन सय कन्टेनरसम्म सामान आयात हुन थालेको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानिधि केसीले जानकारी दिए । आयात बढेसँगै स्थानीय मजदुरले काम पाएका छन् । भन्सार यार्डमा क्यु सिस्टममा ६ सयभन्दा बढी मजदुर सामान लोड–अनलोड गर्छन् ।

भूकम्पपछि ‘हुक एन्ड ड्रप’ प्रणालीमार्फत चिनियाँ क्षेत्रबाट तातोपानी भन्सारसम्म सामान ल्याउने गरिएको छ । ‘आयात बढेको छ । निकासी खुलाउने तयारी पनि भइरहेको छ,’ वैशाखदेखि निकासी सुरु हुने संकेत चिनियाँ अधिकारीले गराएको बताउँदै उनले भने, ‘तातोपानी नाकाबाट व्यापार विस्तार हुने निश्चित भएको छ ।’ अंग्रेजी महिनाको मे १ बाट निकासी सुरु हुने र केही महिनाभित्रै दुवैतर्फी आवतजावत पनि सुरु हुने चिनियाँ अधिकारीको भनाइँ उद्धृत गर्दै केसीले बताउनुभयो।

भूकम्पपछि तातोपानीपारि खासा बजारलाई चीनले पहिलेभन्दा राम्रोसँग पुनर्निर्माण गरेको छ । साँघुरो बजार भएकाले नेपाली कन्टेनरलाई खासा प्रवेश नगराउने जाङ्मुपोर्टका अधिकारीले तयारी गरेका छन् ।नेपाली पर्यटकहरू भने खासा पुगेर आफूलाई मन लागेको सामग्री किन्न पाउने व्यवस्था पहिलेजस्तै हुने स्रोतको भनाइ छ । रसुवागढी नाकाबाट अप्रिल १ देखि नेपाली व्यापारी, पर्यटक र कन्टेनर चिनियाँ बजार केरुङ जान अनुमति पाउनेछन ।

खासालाई चीन सरकारले पर्यटकको हब बनाउने योजना बनाएकाले यहाँ पनि पर्यटकलाई छिट्टै प्रवेशाज्ञा दिन लागेको खासास्थित चिनियाँ अधिकारीले बताए । नाका सञ्चालनका लागि नेपाल–चीन अधिकारीबीच ४ फागुनमा बैठक बसेको थियो । ७ चैतमा सीमा सुरक्षासम्बन्धी बैठक सम्पन्न भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ‘महिनाको एकपल्ट सीमासम्बन्धी बैठक गर्नुको अर्थ चीन तातोपानी नाकालाई सहज बनाउन चाहन्छ भन्ने हो,’ न्यौपानेले भने ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष दोर्जे लामाले नाका सुचारु हुँदा सीमाक्षेत्र, भोटेकोसी र बाह्रबिसेका जनतालाई राहत मिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्