२०८१ भाद्र २३
                           

सुनकोशीद्वारा पालिकाभरका दिर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण

सिन्धुपाल्चोक ,१८चैत
सुनकोशी गाउँपालिकाले पालिकाभरका दिर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरणको सुरुवात गरेको छ । सुगर, प्रेसर,दम र मानसिक रोगीहरुका लागि गाउँपालिकाले निःशुल्क औषधी दिन लागेको हो ।

गाउँपालिकाले सुनकोशी–५ सुनखानीबाट निःशुल्क औषधी वितरणको औपचारिक सुरुवात गरेको छ । दिर्घरोगीहरुलाई उहाँहरुले सेवन गर्दे आउनु भएको औषधी प्रदान गर्दे गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले प्रदान गरेर सुरुवात गर्नु भएको थियो ।

गाउँपालिकाले औषधी वितरण सँगै एक दिनको वृहत्त स्वास्थ्य शिवीर समेत आयोजना गरेको छ । काठमाडौको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेको ग्रामीण समुदायलाई लक्षीत गरेर वडा कार्यालयको भवनमा शिवीर आयोजना गरिएको थियो ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दिर्घरोगीहरुलाई वडामा निवेदन दिन आग्रह गरिएको थियो । त्यही निवेदनका आधारमा गाउँपालिकाभरका ४ सय बढीलाई अब पालिकाले निःशुल्क औषधी उपलब्ध गराउने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।

न्युनतम एक हजार देखि बढीमा २० हजार रुपियाँ सम्मको मासिक औषधी सेवन गर्ने बिरामीहरु गाउँपालिका भित्र रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

अन्य दिर्घरोगीहरुले पछि पनि निवेदन दिएको र त्यसको निर्णय पछि मात्रै उहाँहरुलाई औषधी उपलब्धता गराउने स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले बताउनु भयो ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा नै दिर्घरोगीहरुलाई निःशुल्क औषधी उपलब्ध गराउने नीति पास गरेको थियो ।

पालिकाले घर आँगनामा नै आफुहरुले सेवन गरिरहेको औषधी उपलब्धता गराउदा खुसी लागेको सुनकोशी–५ का स्थानीय लालबहादुर थामी र स्वस्थनी थापा कार्कीले बताउनु भयो ।
बृहत स्वास्थ्य शिविरमा स्त्री रोगको विशेषज्ञ सेवा, नाक, कान, घाटीको विशेषज्ञ सेवा लगायत प्रेसर, सुगर, दम र सामान्य चिकित्सक सेवा संचालन गरिएको थियो । शिविर बाट जम्मा २५२ जनाले सेवा लिएका छन् ।

जसमध्ये स्त्री रोग सम्बन्धी ५० जना, नाक, कान घाटी सम्बन्धी ५१ र सुगर, प्रेसर, दम र सामान्य चिकित्सामा १५१ जनाले सेवा लिएका थिए । स्त्री रोग तर्फ २ जना संकास्पद पाठेघर मुखको क्यान्सर पत्ता लागे भने १७ जना मलिाको आङ खस्ने समस्या भइ रिङ्ग प्रेसरी राखी उपचार गरिएको छ । गाउँपालिकाले ग्रामीण महिला अल्ट्रासाउण्ड(भिडीयो एक्सरे) सेवा समेत सुरुवात गरेको छ । पहिलो दिन ५ जना गर्भवती महिलाहरुले भिडियो एक्सरे को सेवा लिएका छन् ।

शिविरको अवसरमा गाउँपालिकाल स्थानीय देविस्थान स्वास्थ्य चौकीलार्ई अक्सिजन कन्सनटे«टर, कम्प्युटर सेट, अटोक्लेभ लगायत विभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्