२०८१ भाद्र २३
                           

‘मिनी रंगशाला’ को निर्माण अलपत्र

 

सुन्दर शिरीष-सिन्धुपाल्चोककाे सदरमुकाम चौतारास्थित टुँडिखेलमा लामो समयदेखि युवाहरूले खेलकुद अभ्यास गर्न पाएका छैनन्।

बागमती प्रदेश सरकारको गौरवको योजनाअन्तर्गतको ‘मिनी रंगशाला’ निर्माण अलपत्र परेपछि खेल गतिविधि ठप्प बन्न पुगेको हो।

प्रदेश सरकारको सार्वजनिक निर्माण कार्यान्वयन एकाई काभ्रेमार्फत ४१ करोड ६२ लाख रुपैयाँ लागतमा २०७६ भाद्र २ गतेदेखि रंगशाला निर्माण थालिएको थियो। जसको शिलान्यास बागमती प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री युवराज दुलालले गरेका थिए।

जिल्लामा खेलकुद गतिविधिलाई लक्षित गरेर निर्माण सुरु गरिएको रंगशालाको काम साढे दुई वर्षमा सकिने गरी सम्झौता गरिएको थियो। सम्झौताको समय २०७७ फागुनमा सकिएपछि पुनः १ वर्षको लागि समय थप गरिएको थियो।

सो समयसीमा पनि सकिएको १३ महिना बितिसकेको छ। रंगशालाको हालसम्म छ वटा प्याराफिटमा तीन निर्माणको चरणमा छ भने तीन वटा प्याराफिटको काम सुरु नै भएको छैन।

ठेकेदारको ढिलासुस्ती लगायतका कारण हालसम्म ३५ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ। ‘हामीले निर्माण व्यवसायीलाई पटक पटक निर्माण सम्पन्न गर्न ताकेता गरेको भएपनि हालसम्म ३५ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको पाइएको छ’, सार्वजनिक निर्माण कार्यान्वयन एकाइ भैंसेपाटी काभ्रेका प्रमुख डा. चन्द्रप्रसाद लुईंटेलले भने। समय थप गर्दा पनि निर्माण पूरा गर्न नसकेका कारण ठेकेदार कम्पनीलाई कालो सूचीमा राखिएको लुइँटेलले जानकारी दिए।  ‘अब नयाँ टेण्डर गरेर निर्माण प्रकृया अघि बढाइनेछ’, उनले भने।

एकाइका अनुसार मिनी रंगशालाको फुटबल मैदान एन्फा (अखिल नेपाल फुटबल संघ) को मापदण्डबमोजिम सय मिटर लम्बाइ र ६५ मिटर चौडाइको हुनेछ। रंगशालामा ६ हजार दर्शक क्षमताको प्याराफिट बन्नेछ भने पाँच सय सवारी साधन अट्ने पार्किङस्थल, ड्रेसिङ रुमलगायत संरचना बनाइनेछ।

सरकारी निकायबाट रंगशालाको पटक पटक अनुगमन हुँदै आएको छ। बुधबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानसहितको टोलीले रंगशालाको अनुगमन गरेको छ। अनुगमन पछि उनले कामलाई तीव्रता दिने विषयमा तुरुन्त काम थाल्ने र आगामी वर्षभित्र निर्माण सम्पन्न गरिने बताइन्।

जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठले समयमै ठेकेदारले काम सम्पन्न गर्दा खेलकुद गतिविधि आयोजनामा समस्या भएको गुनासो गरे। यसअघि जिल्लास्तरका खेलकुद यही खेल मैदानमा हुने गरेको बताउँदै अध्यक्ष श्रेष्ठले भने-‘अहिले केही खेलकुद गर्नुपरे लामोसाँघु पुग्नुपर्छ। रंगशाला निर्माण पनि सुरु हुन सकेको छैन। खेल मैदान नहुँदा निक्कै समस्या परेको छ।’

रंगशाला निर्माणमा ढिलासुस्ती भएपछि स्थानीय क्लबले निर्माणाधीन रंगशालाभित्र सेभेन ए साइड मापदण्ड अनुसारको मैदान तयार गरेका छन्। तोकिएको समयसीमाभित्र रंगशाला निर्माण कार्य सम्पन्न नभएपछि आवश्यक खेलकूद गतिविधिका लागि आफूहरूले निर्माण सामग्रीलाई एक ठाउँमा एकीकृत गरि खेल मैदान तयार गरेको चौतारा स्पोर्टिङ क्लबका अध्यक्ष सविन श्रेष्ठले बताए।

समयमै रंगशालाको निर्माण सम्पन्न हुन नसक्दा सुन्दर टुँडिखेल कुरुप बनेको स्थानीय होटल व्यवसायी रामचन्द्र नेपालले बताए। उनका अनुसार निर्माण स्थलबाट निस्किएको माटोले पानी पर्दा टुँडिखेल हिलाम्मे हुने गरेको छ। जिल्लामा खेलप्रतिको आकर्षण धेरै छ।

तर खेलका लागि पूर्वाधार अभावका कारण जिल्लामा आयोजना हुने प्रतियोगिता खुम्चिँदै गइरहेको जिल्ला भलिबल संघका उपाध्यक्ष रामचन्द्र सापकोटाले बताए। खेलप्रतिको आकर्षण व्यापक भए पनि स्तरीय मैदान अभावले खेल प्रतिभा पलायन हुने स्थिति बनेको सापकोटाको भनाइ

प्रतिक्रिया दिनुहोस्