२०८१ भाद्र २३
                           

पर्यटन प्रवर्धनका लागि जुगल बेसक्याम्प ‘ने-पेमाछाल’मा विविध कार्यक्रम

२ वैशाख, सिन्धुपाल्चोक । संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल अन्तरगतका आठ हिमालको आधार शिविर नजिक ने-पेमाछाल उपत्यकामा पर्यटन प्रवर्धनका विविध कार्यक्रम गरिएका छन् ।

शनिबार ने-पेमाछालमा आयोजित पर्यटन प्रवर्धन कार्यक्रममा पुगेर निवर्तमान सभामुख एवं सो क्षेत्रबाट लगातार तीन पटकका जनप्रतिनिधि अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमाल कुमार श्रेष्ठलगायत हौसला प्रदान गरे । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने-पेमाछालमा लामा गुरुहरुले पूजा, जिन्लब, डुप्सी ,छेवाङ तथा धार्मिक पर्यटन प्रवर्धनका लागि विधि पुर्वक विविध कार्यक्रम गरेको सिन्धु पर्यटन परिषद्का सचिव मिलम तामाङले जानकारी दिए ।

जिल्लाको पर्यटन प्रबर्द्धनका लागि भन्दै जुगल गाउँपालिकाको आयोजनामा नयाँ बर्षको अवसरमा ने-पेमाछालमा प्रवर्धनात्मक कार्यक्रम आयोजना गरिएको जुगल गाउँपालिकाका अध्यक्ष स्याङ्बोले जानकारी दिए । कार्यक्रममा सहभागीता जनाउन चार दिन अघि नै हिंडेका आन्तरिक पर्यटक ने-पेमाछालमा जम्मा भएका थिए । अतिथिहरु भने शनिबार दिउँसो काठमाडौंबाट हेलिकोप्टर चढेर कार्यक्रम स्थल पुगेका थिए ।
गाउँपालिका आफैंले छानेका यात्रीहरुलाई पालिका प्रमुख स्याङ्बो र उपाध्यक्ष श्रेष्ठले चनौटे स्थित रत्नराज्य माविबाट चार दिन अघि बिदाई गरेका थिए ।

थप पाँच चुचुराको आरोहण खुलेपछि थपियो उत्साह

२०७५ सालबाट आरोहण खुल्ला गरिएको जुगल अन्तरगतका अन्य हिमाल समेत खुल्ला गर्ने सरकारी निर्णयले यस क्षेत्रमा खुसी थपिएको छ । काठमाडौंबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तब्यका हिमाल आरोहण खुल्ला गर्ने निर्णयलेp सिन्धु पर्यटनमा थप टेवा पुग्ने विश्वास सम्वन्धित क्षेत्रका विज्ञहरुको छ । गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जुगल हिमाल अन्तरगत ‘जुगल १’ देखि ‘जुगल ५’ नामाकरण भएका थप पाँच चुचुरा आरोहण खुल्ला गर्ने र पाँच वर्ष सम्म शुल्क नलिने निर्णग गरेको थियो ।

जुगल आरोहण खुल्ला गर्न सुरुमा निवर्तमा सभामुख अग्निप्रसाद सापकोटा र पछिल्लो समयमा संघीय सांसद माधव सापकोटा ‘सुबोध’ र प्रदेश सभा सदस्य सरल सहयात्रीले पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्