२०८१ कार्तिक २
                           

सिक्दै सिकाउँदै चिनियाँसँगै नेपाली मजदुर

रामकृष्ण थापा-चौतारा अस्पताल निर्माणमा तल्लिन चिनियाँ मजदुर जिल्ला समन्वय समितिको पुरानो प्रिफ्याब आवासमा बस्छन् । दैनिक १० घण्टाभन्दा बढी शारीरिक श्रम गर्ने उनीहरुमा कुनै थकान छैन । हरेक बिहान चार बजेदेखि उनीहरुको दैनिकी सुरु हुन्छ ।
चाइना चियुआन इन्जिनियरिङ कर्पोरेशन एण्ड सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडमा कार्यरत ३६ वर्षीय मिस्टर लिउबो र ३७ वर्षीय इन्जिनियर मिस्टर गुओ बाओचियाङ सधैँ बिहान चार बजे उठिसक्छन् । लिउबो हरेक दिनको समीक्षा र रिपोर्ट तयारी गर्छन् । बाओचियाङ फिल्डमा रहेर कामदारलाई निर्माणको प्रविधि सिकाउँछन् । काममा ठूला–साना भन्ने कुनै विभेद छैन । सबैले आफ्नो क्षमताअनुसार १० घण्टा काममा बिताउँछन् ।

बिहान ६ बजे ब्रेकफास्ट तयार हुन्छ । ब्रेकफास्टमा कुखुराको अण्डा, सुप, मेज पोरिज र चिनियाँ रोटी समावेश छन् । त्यसपछि पाँच घण्टा काममा लाग्छन् । दिउँसोको १२ बजे लन्च तयार हुन्छ । लन्चमा बफ मिट, अण्डा सुप, मटन सुप, माछा, कुखुराको सुप र थोरै भात समावेश गरिएका छन् । मध्यान्ह र बेलुका खाने खाना उस्तै हुन्छ । बेलुकाको खाना ६ बजे खाइन्छ । खानामा फलफूल पनि दिइन्छ । चिनियाँ सेफ याङ चाङ्लियनले स्वादिष्ट खाना तयार पार्छन् । हप्तामा तीन पटक खानाको किसिम परिवर्तन हुन्छ । खानामा सबैभन्दा लोकप्रिय चिनियाँ रोटी हो । जुन, गहुँ र खमीर (इष्ट) को पिठोबाट तयार पारिन्छ । चिनियाँ मजदुरलाई खसीको मासु निकै मन पर्छ ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गत रहेको एजेन्सी फर इन्टरनेशनल इकोनोमिक्स कर्पोरेशनले चाइना चियुआन इन्जिनियरिङ कर्पोरेशन एण्ड सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडलाई नेपाललगायत २० देशको ५० प्रोजेक्ट सम्पन्न गर्न विदेश पठाएको हो । रुवाण्डा, नेपाल र बंगलादेशको विभिन्न निर्माण सम्पन्न गरिसकेका लिउबोले चिनियाँ सभ्यता भनेको मानव समुदायको हितलाई विस्तार गर्नु रहेको बताए । अस्पताल, विद्यालय, सोलार पावर, सरकारी भवन, उद्योगधन्दा, कन्फ्युसियस इन्स्टिच्युटजस्ता प्रोजेक्ट सम्पन्न गर्न सरकारले आफूलाई नेपाललगायत देशमा पठाएको उनले जानकारी दिए । चौतारा अस्पतालमा २३ चिनियाँ र ४० नेपाली मजदुर छन् । चिनियाँहरु बिस्तारै काम गर्छन् । तर, बस्दैनन् । दक्ष चिनियाँले नेपाली मजदुरलाई निर्माणको सीप र प्रविधिको ज्ञान सिकाउँछन् । नेपाली र चिनियाँ मिलेर काम गर्दा थकाइ नै महसुस नहुने इन्जिनियर बाओचियाङको अनुभव छ । चिनियाँसँग काम गर्दा नेपाली कामदार सीप र प्रविधिमा पोख्त भएका छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्न आएका चिनियाँलाई उसको सरकारले पठाएको हो । उनीहरुले वर्षमा २० दिन छुट्टी पाउँछन् । सो बखत घर फर्केर परिवारसँग रमाउँछन् । चीन सरकारले उनीहरुको परिवारको सम्पूर्ण जिम्मेवारी लिन्छ । हरेक वर्ष २० दिन आफ्नो परिवारसँग बसेर माया र अनुभव साझा गर्दै आएका लिउबोले विशाल चीन बनाउन हरेक नागरिकले योगदान गरेको बताए । ‘विश्वभरका मानवजातिको सेवाका लागि चीन सरकारले अघि सारेको साझा भविष्यको नीति कार्यान्वयन गर्न हामीले घरपरिवार छोडेर राष्ट्रलाई सहयोग गरिरहेका छौं,’ उनले भने ।
एक अर्ब १५ करोड लागतमा निर्माणाधीन ३९ बेडको चौतारा अस्पतालको काममा व्यस्त ४० नेपालीलाई हरेक महिना तोकिएको समयमा पारिश्रमिक दिइन्छ । नेपाली कामदारले मासिक ४२ देखि ५० हजारसम्म पारिश्रमिक बुझ्छन् । कुनै महिनामा बोनस पनि दिइन्छ । निर्माणमा खटिँदा इन्जिनियर, टेक्निसियन र लेबर सबै एकापसमा जोडिएर काम गर्छन् । चिनियाँहरु कुनै दिन १५ घण्टासम्म काम गर्छन् । विदेश बसेर कमाएको रकम स्वदेश फर्कँदा लिएर जान्छन् ।

प्रतिक्रिया दिनुहोस्