२०८१ कार्तिक २
                           

सिन्धुपाल्चोकमा बनेका पार्कहरूमा भएन संरक्षण

सिन्धुपाल्चोकका विभिन्न स्थानमा निर्माण गरिएका पार्कहरू जीर्ण भएका छन् ।लाखौँ लगानी गरेर निर्माण गरिएका पार्कहरूको उचित संरक्षण हुन नसकेपछि जीर्ण भएका हुन् ।

२०७७ सालमा निर्माण गरिएको सदरमुकाम चौतारास्थित बाल उद्यान अहिले जीर्ण बनेको छ । बालबालिकाहरूलाई मनोरञ्जन दिने उद्देश्यले झण्डै ३५ लाख लागतमा निर्माण गरिएको यो उद्यानको सम्पूर्ण संरचनाहरू बिग्रेको र भत्केको छ ।

बागमती प्रदेश सरकारको २५ लाख र डिभिजन बन कार्यालयको रु १० लाख लागतमा निर्माण भएको यो पार्कको सुरुका दिनहरूमा बालबालिकाहरूको भीड लाग्ने गरेता पनि अहिले भने शुन्य नै छ । उचित संरक्षण हुन नसक्दा त्यहाँ रहेका चिप्लेटी, पिङ लगायतका संरचनाहरू कवाडीमा परिणत भइसकेका छन् ।

त्यस्तैत्रिपुरा सुन्दरी गाउँपालिका पिस्करस्थित निर्माण गरिएको शहीद पार्कको स्थिति त झन् कन्तबिजोग नै छ । २०४० सालमा तत्कालीन पञ्चायत विरुद्ध आयोजना गरिएको कार्यक्रममा प्रहरीबाट अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्यु भएका स्थानीय वीर बहादुर थामी र इले थामीको सम्झना र सम्मानमा शालिकसहित निर्माण गरिएको पार्कको हविगत हेर्दा जो कोही मन चहराउन सक्छ ।

गत वर्षमा मात्र निर्माण भएको शहीद कञ्चन प्रियदर्शी स्मृति पार्क पनि दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको छ । सशस्त्र द्वन्द्वको क्रममा मारिनुभएका जिल्लाका साहित्यकार तथा पत्रकार कञ्चन प्रियदर्शीको शालिकसहितको यो पार्क बागमती प्रदेश सरकारकै १८ लाख लागतमा चौतारा साँगाचोकगढी वडा न ६ मा निर्माण भएको हो ।

२०६४ सालमा बलेफी गाउँपालिका विञ्जेलमा थालिएको शहीद स्मृति पार्क भने १६ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । पार्कभित्रका अधिकांश संरचना भत्किएका छन् भने पार्क वरिपरिको घेराबार पनि जीर्ण बनी बनिसकेको छ । २०६४ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सशस्त्र द्वन्द्वमा सहादत प्राप्त शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कका लागि सुरुमा २० लाख बजेट विनियोजन भएको र निरन्तररुपमा पार्क निर्माणका लागि बजेट विनियोजन हुँदै आएको स्थानीय महेश नेपालले बताउनुभयो ।

यस वर्ष पनि सो पार्कका लागि बलेफी गाउँपालिकाले रु दुई लाख बजेट विनियोजन गरेको जानकारी दिँदै बजेटको सही सदुपयोग हुन नसक्दा पार्क निर्माण कार्य अलपत्र भएको उहाँको भनाई छ ।

डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्थित विभिन्न सामुदायिक वनमा निर्माण गरिएका पार्कहरूको अवस्था पनि दयनीय बन्दै गई रहेको छ ।

पार्क निर्माणपछि उचित संरक्षण हुन नसक्दा जिल्लामा निर्मित अधिकांश पार्कहरू जीर्ण बन्दै गइरहेता पनि सरोकारवाला निकायको ध्यान भने त्यतातर्फ गएको देखिँदैन ।

१२ स्थानीय तह रहेका सिन्धुपाल्चोकको अधिकांश पालिकाभित्र साना र ठूला बजेटका पार्कहरू निर्माण भएका छन् । खासगरि शहीदको सम्झना र  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण थालिएका यस्ता पार्कहरूका उचित संरक्षण, सम्वद्र्धन नहुँदा कतिपय जीर्ण भइसकेका छन् भने कतिपय पार्कहरू निर्माण थालिएर पनि अपर्याप्त बजेटका कारण लथालिङ्ग अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्