अशोक पराजुली/साँगाचाेक
चौतारा साँगाचोकगढी नगरपालिका -१२ साँगाचाेकमा निशुल्क मुटु परिक्षण शिविर सम्पन्न भएको छ । ‘स्वस्थ मुटु, स्वस्थ जीवन’भन्ने नाराका साथ साँगाचाेक युवा क्लब र महेन्द्र भवन भुतपुर्व विद्यार्थी संघ ( अम्बान) को आयोजनामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मुटुरोग सम्वन्धी निशुल्क परिक्षण आयोजना गरेको हो ।
साँगाचाेक स्थित जन जागृति माध्यमिक विद्यालयमा मंगलवार भएको शिविरमा ५ सय ४५ जनाले सेवा लिएका छन् । शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा.रवि मल्ल सहितको विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण सेवा दिएका थिए ।
शिविरमा विशेषज्ञहरुद्धारा परामर्श सहित इसिजी, इको, ब्लड प्रेसर र सुगर परिक्षण गरी निशुल्क औषधि समेत वितरण गरिएको शिविर आयोजक एवं साँगाचोक युवा क्लबका अध्यक्ष हरि बहादुर श्रेष्ठले वताउनुभयो । शिविर सञ्चालनका लागि चौतारा साँगाचोकगढी नगरपालिका १२ नम्बर वडा कार्यालय, जन जागृति मा.वि.,साँगाचोक आधारभूत स्वास्थ्य केन्द्र तथा प्रसुती सेवा केन्द्र,कमलको फुल महिला बहुउद्देश्यीय सहकारी संस्था,प्रयास महिला बचत तथा ऋण सहकारी संस्था समेतको सहयोग रहेको थियो ।
गाउँमै विशेषज्ञ सेवा सहित निशुल्क परिक्षण सेवा पाएपछि स्थानीय नागरिकले खुसी व्यक्त गरेका थिए । सामाजिक सेवा क्षेत्रमा क्रियाशिल साँगाचोक युवा क्लबले स्वास्थ्य क्षेत्रमा विभिन्न रोगहरु सँग सम्बन्धित शिविरहरु आयोजना गर्दै आएको छ । शिविरमा ५ सय ४५ जनाले सेवा लिएकोमा ५ जनाको भने मुटुमा समस्या भएको र तत्काल सल्यक्रिया गर्नुपर्ने देखिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएको छ । सल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई अस्पतालले निशुल्क उपचारको ब्यबस्था मिलाउने समेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्