२०८१ मंसिर ७
                           

नाका दोहोरो सञ्चालन अाएसङ्गै साम्सद सापकाेटाद्वारा सिन्धुपाल्चोकबासीलाई बधाई

नेपाल र चीनबिचको व्यापारिक तातोपानी नाका दोहोरो सञ्चालन सुरुवात भएको सुखद अवसरमा सम्पूर्ण सिन्धुपाल्चोकबासी, विशेष गरी क्षेत्र नं १ का बासिन्दाहरुलाई बधाई ज्ञापन गर्न चाहन्छु । यसअघि चीनतर्फबाट मात्रै सामाग्री आयात हुँदै आएकोमा दुइदेशबचि भएको सहमती अनुसार आजदेखि नेपालबाट पनि चीनतर्फ सामग्री निर्यात सुरु भएपछि यसले हामीमा फेरी अर्को खुसी सञ्चारित भएको छ ।

मंसिर ४ मा सम्पन्न संघीय निर्वाचनका क्रममा अरनीको राजमार्ग वरपर र खासगरी तातोपानी नाकासँग प्रत्यक्ष सरकोकार राख्ने क्षेत्रका बासिन्दसँग नाकालाई पूर्ववत सञ्चालनका लागि सबैखाले पहल गर्ने प्रतिवद्धता जनाइएको थियो । निर्वाचन लगत्तै २०७९ पुस ५ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री ज्यूलाई सवद्ध व्यक्तित्वहरुसहित भेटगरी यसबारे ध्यानाकर्षण गराईएको थियो ।

संघीय संसदमा २०७९ माघ ५, विशेष समय लिएर पहिलो सम्बोधन मै तातोपानी नाकालाई पूर्ववत सञ्चालनमा ल्याउन सदन र सरकारको विशेष रुपमा ध्यानाकर्षण गराएको थिएँ । २०८० वैशाख ५ गते आकस्मिक समय लिएर लिपिङ क्षेत्रमा नेपालतर्फ अध्यागमन कार्यालय र कर्मचारीको व्यवस्था गरी मानव आवत जावतको कुटनीतिक पहल गर्न फेरि सरकारको ध्यानाकर्षण गराएँ ।

२०८० वैशाख १३,संसदमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजि श्रेष्ठको वक्तव्यपछि प्रश्नोत्तरका क्रममा तातोपानी नाका सञ्चालनका लागि नेपाल सरकारबाट गरिएको तयारी र अध्यागमन कार्यालय व्यवस्थापनबारे जिज्ञासा राख्दै तत्काल यसतर्फ पहल लिन ध्यानाकर्षण गराएका थिएँ । यस अवधिमा नाकाको दोहोरो सञ्चालनका लागि चिनियाँ पक्षसँग औपचारिक एवं अनौपचारिक तवरबाट कुटनीतिक पहल पनि भैरहेको छ ।

चीनसँगको ऐतिहासिक एवं महत्वपूर्ण व्यापारिक नाका दोहोरो सञ्चालनका लागि पहल र प्रयत्नका लागि सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यू, माननीय उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू, निवर्तमान सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाज्यू, अर्थ, गृह, वाणिज्य र परराष्ट्र लगायत मन्त्रालयका अधिकारीहरु, चीनस्थित नेपाली कुटनीतिक नियोगका अधिकारीहरु, सञ्चारकर्मीहरु लगायत सबैमा विशेष आभार व्यक्त गर्दछु ।

यसबिचमा भएका कुटनीतिक भेटघाट एवं उच्चस्तरका पहलका क्रममा प्राप्त सूचना र प्रतिवद्धता अनुसार निकट भविष्यमै मानव आवतजावतसहित तातोपानी नाका पूर्ण रुपमा सुचारु हुने विश्वास दिलाउन चाहन्छु । नेपालतर्फ लिपिङस्थित अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापन, बाह्रविसे–लिपिङ सडक खण्डको मर्मतस्तरोन्नति लगायतका अत्यावश्यक तयारीसहित नाकाको पूर्ण सञ्चालनका लागि निरन्तर पहलकदमी लिइराख्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

माधव सापकोटा ‘सुबोध’
प्रतिनिधि सभा सदस्य,
सिन्धुपाल्चोक क्षेत्र नं १

प्रतिक्रिया दिनुहोस्