२०८१ भाद्र २३
                           

डिजिटल पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम चाैतारामा सकियो

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाद्वारा आयोजित डिजिटल पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम समापन भएको छ ।
जिल्लामा क्रियाशिल पत्रकारहरुलाई डिजिटल पत्रकारिता सम्वन्धी क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

तालिमको अन्तिम दिन पत्रकारहरुलाई आचार संहिताको विषयमा पनि प्रशिक्षित गरिएको थियो । प्रेस काउन्सिल नेपालले आचार संहिताको बारेमा थप तालिम दिएको महासंंघको अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भूसाल, उपअधिकृत एवम् सूचना अधिकारी रामशरण बोहोराले सञ्चारकर्ममा लागेका पत्रकारहरुलाई आचार संहिताको महत्व र आवश्यकतामाथि प्रकाश पार्दैे स्वच्छ मर्यादित र विश्वसनीय सामाग्रीको संप्रेषणबाट समाज पर्ने प्रभावको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
खासगरि उपअधिकृत बोहराले दिनु भएको प्रशिक्षणबाट पत्रकार आचारसंहिताको बारेमा थप ज्ञान हासिल भएको तालिममा सहभागि निर्मल बस्नेतले बताउनु भयो । कर्म गरेर मात्र हुँदैन, पत्रकार हुँ भनेर ठाँटिए मात्र पनि हुँदैन बस्नेतले भन्नुभयो त्यससँगै जोडिएर आउने नियम र कानूनको बारेमा पनि सञ्चारकर्मीहरु अपडेट हुनुपर्ने आवश्यकता छ ।

पछिल्लो समय डिजिटल पत्रकारिताको प्रभाव बढ्दै गइहेको सन्दर्भमा पत्रकार महासंघले समयसापेक्ष पत्रकारको क्षमता अभिवृद्धिका लागि डिजिटल पत्रकारिता तालिमको आयोजना गरेकोमा सहभागी केशव अधिकारीले खुशी व्यक्त गर्नुभयो । क्षमता अभिवृद्धि तालिमसँगै सूचनाको हक र पत्रकार आचार संहिताको बारेमा पनि बुझने अवसर पाएकोमा उहाँ झन खुशी हुनुहुन्छ । पछिल्लो समय भिओर्स बढाउन र भाइरल हुन जस्तोसुकै समाचार पनि प्रकाशन गर्ने क्रम बढिरहेका बेला आचार संहिताको तालिमले त्यस्तो क्रममा न्यूनिकरण आउने अधिकारीले बताउनु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको अर्थिक सहयोगमा महासंघले जिल्लाका सरकारी कार्यालय, पालिकाका सूचना अधिकारी र सञ्चारकर्मीहरुलाई यसअघि सूचनाको हक विषयक अभिमुखी कार्यक्रम गरेको थियो ।

नगरपालिकाकै सहयोगमा भएको डिजिटल पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिमको समापनमा नगरप्रमुख कृष्णप्रसाद सापकोटाले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्दै समग्र सञ्चार क्षेत्रको विकास गर्न नगरपालिका कटिवद्ध रहेको बताउनुभयो । उहाँले सञ्चारको सवलिकरण पनि विकासको अर्को आयम भएको बताउनुभयो ।
त्यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचरसंहिता कडाइका साथ लागु गर्नका लागि काउन्सिलले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । मर्यादित र विश्वसनीय पत्रकारिताले नै सकारात्मक परिवर्तन आउने हुनाले सबै सञ्चारकर्मीले मर्यादित पत्रकारिता गर्न उहाँले अनुृरोध गर्नृुभयो । राजनीतिक परिवर्तनका लागि सञ्चारकर्मीहरुले खेलेको भूमिकाको स्मरण गर्दै उहाँले अहिले त्यही सञ्चारकर्मीहरु सत्यतथ्य सूचना संप्रेषण गर्न चुकिरहेकोमा दुख व्यक्त गर्नुभयो ।
अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सचिव विदुर आर्चायले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्