२०८१ भाद्र २३
                           

नगरपालिकाको आर्थिक सहयोगमा भिमटारमा बन्यो नगरपालिकाकै नमुना गोरेटो बाटो

अशोक पराजुली/भिमटार,साँगाचोक

नगरकै नमुना गोरेटो बाटो बनाउने अभियानसहित चौतारा साँगाचोकगढी नगरपालिका ११ भिमटारमा अपाङ्ग मैत्री पक्की गोरेटो बाटो निर्माण गरिएको छ । भिमटारको माख्लो गाउँदेखि तल्लो गाउँसम्म र गाउँ देखि इन्द्रावती माध्यमिक विद्यालयको आँगन सम्म नै पक्की गोरेटो बाटो बनेपछि स्थानीयमा खुसी छाएको छ । आधुनिक गोरेटो बाटोले वृद्धवृद्धा,अपाङ्ग,बालबालिका लगायतलाई सजिलो भएको चौतारा साँगाचोकगढी नगरपालिका -११ का वडा सदस्य नेत्रबहादुर माझीले बताए ।

प्राविधिक स्टिमेट अनुसार गोरेटो बाटोको चौडाइ ३.५ फुटको रहेको छ । दुई तर्फ फर्मा राखी प्लम ढलान गरिएको र बिचको भागमा डस्ट चिप्सको प्रयोग गरि त्यसलाई जाम गराएर बगरका एक साइजका ढुङ्गा बिच्छ्याएर ढुङ्गाको खाली भागमा सिमेन्ट बालुवाको घोला प्रयोग गरिएको छ,हिड्दा नचिप्लियोस् भनेर ढुङ्गालाई नछोपिएको निर्माण समितिका अध्यक्ष एवं निबर्तमान वडा अध्यक्ष सुशीलबहादुर माझीले बताए ।

अध्यक्ष माझीका अनुसार नगरपालिकाभित्रकै नमुना गोरेटो बाटोको रुपमा नयाँ तरिकाले स्थानीय स्रोत साधनको प्रयोग गरि बाटो बनाइएको छ । उक्त गोरेटो बाटो निर्माण गर्नको लागि चौतारा साँगाचोकगढी नगरपालिकाले यसै आर्थिक बर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेपछि नगरपालिका कार्यालयको आर्थिक सहयोगमा गोरेटो बाटो निर्माण गरिएको अध्यक्ष माझीले बताए । उनका अनुसार उक्त गोरेटो बाटोको पुच्छारदेखि सिरान टोलसम्म र विद्यालय सम्म बनाइएको पक्की गोरेटो बाटोको लम्बाइ ८ सय ३० मिटर छ ।

विद्यार्थीहरुलाई स्कुल आउजाउ गर्न पनि निकै कठिनाइ भएको थियो । खेतका आलिका डिलबाट हिंड्दा कति बच्चाहरू त आलिमा चिप्लिएर लड्ने र बर्षाको समयमा त लडेर किताब कापी, लगाएको ड्रेस समेत हिलाम्मे भएर स्कुल नै नपुग्दै बच्चा घर फर्किएर आउने गरेका थिए । बाटो बनेपछि हामीलाई भन्दा पनि स्कुल जाने बालबालिकालाई चै ज्यादै सजिलो भएको छ – स्थानीय शंकर माझीले बताए ।

स्थानीयवासीले विद्यालयबाट झ्याडीतिर जाने करिब ३ सय मिटर गोरेटो बाटो निर्माणमा समेत सहयोग गरी दिन नगरपालिकालाई अनुरोध गरेका छन् । भिमटारमा सीमान्तकृत माझी समुदायको मात्रै बसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्