२०८१ भाद्र २३
                           

चुनावी प्रतिवद्धता पुरा गर्दै सिन्धु १ का सांसद, मुख्यमन्त्रीद्वारा जुरे पहिरो पीडितको रकम स्थानीय तहलाई हस्तान्तरण

चुनावी प्रतिवद्धता पुरा गर्दै सिन्धु १ का सांसद, मुख्यमन्त्रीद्वारा जुरे पहिरो पीडितको रकम स्थानीय तहलाई हस्तान्तरण , २ जेठ, सिन्धुपाल्चोक । वाम लोकतान्त्रिक गठबन्धन बनाएर संघ तथा प्रदेशको चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले कार्तिका २२ गते सिन्धुपाल्चोक, क्षेत्र नं १ को प्रतिवद्धता पत्र सार्वजनिक गरे ।
सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव सापकोटा ‘सुबोध’, प्रदेश क बाट प्रत्यक्षतर्फ मसिना खड्का भण्डारी र ख बाट सरल सहयात्री पौडेल तथा माओवादीबाट समानुपातिकतर्फ अमृता नेपाल प्रभाले सार्वजनिक गरेको प्रतिवद्धतामा तातोपानी नाका सुचारु गर्ने, जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट संकलीत रकम पीडितलाई हस्तान्तरण गर्ने जस्ता कार्यक्रम राखिएका थिए ।
सिन्धुपाल्चोक क्षेत्र नं १ मा अहिले चारै जना जनप्रतिनिधिका रुपमा प्रतिनिधि र प्रदेश सभामा छन् । यो विचमा संघीय सांसद माधव सापकोटा सुबोधको नेतृत्व र प्रेदश सांसदको समेत पहलमा गत वैशाख १८ देखि ८ बर्ष पछि तातोपानी नाकाबाट दोहोरो निकासी सुरु भएको छ । यस्तै ९ बर्ष देखि जिल्ला विपद् व्यवस्थापन समितिको नाममा रहेको जुरे पहिरो पीडितको नाममा सर्बसाधारणबाट उठेको रकम पीडितहरुको माग अनुसार नै उनीहरुकै खातामा जाने व्यवस्था भएको छ ।
मन्त्रीपरिषदले रकम फुकुवा गरेपछि जिल्ला विपद व्यवस्थापन समितिले स्थानीय पालिकालाई रकम हस्तान्तरणको चाँजोपाँजो मिलायो । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले सापकोटा, भण्डारी, पौडेल र नेपाल चारैजना सांसदको उपस्थितिमा जुरे पहिरो पीडितको नामको रकम वितरणका लागि स्थानीय पालिकालाई चेक र आधिकारीक काजगपत्र हस्तान्तरण गरे । चुनावी प्रतिवद्धता पुरा भएपछि लहरै बसेका सांसदहरुले तालि बजाए । स्थानीय तहका जनप्रतिनिधिले पनि खुसी व्यक्त गरे ।
यति मात्रै होइन, दलहरुले प्रतिवद्धता पत्रमा ‘वर्षातको समयमा मौसमी स्थानान्तरण, पालिका स्तरमा खाद्य तथा गैरखाद्य सामग्रीको भण्डारण, जोखिमयुक्त बस्तिमा भौगर्भिक अध्ययन जस्ता विषयमा आवश्यक पहल गरी बजेट व्यवस्थापनमा जोड दिइने’ विषय उल्लेख गरेका थिए । सोही अनुसार कामका लागि गरिएको आग्रहमा मुख्यमन्त्री जमरकट्टेलले बहुप्रकोपबाट पीडा भोग्न बाध्य सिन्धुपाल्चोकका स्थानीय तहहरुलाई विपद् पूर्व तयारी र अन्य सरसहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले हरेक मन्त्रालय १३ वटै जिल्लामा कार्यान्वयन इकाई मार्फत कार्यक्रम लागू गरिने जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकद्वारा सुकुटेमा आयोजित विपद् व्यवस्थापन सम्बन्धी छलफलमा मुख्यमन्त्री जमरकट्टेल, प्रतिनिधि सभा सदस्य माधब सापकोटा, बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै बागमती प्रदेश सभा सदस्यहरु सरल सहयात्री, मसिना खड्का भण्डारी, अमृता नेपाल, माईली तामाङ, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, विपद सम्पर्क व्यक्तिहरु, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्