२०८१ भाद्र २३
                           

सांसद सापकोटाको अथक प्रयासपछि जुरे पहिरो प्रभावितले पाए राहत

चौतारा । सांसद माधव सापकोटाको अथक प्रयासपछि पहिरोबाट प्रभावित भएकाहरुको नाममा संकलित रकम नगदै प्रदान भएको छ ।
प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले लामो समयदेखि जुरे प्रभावितहरुको नाममा संकलित रकम नगदै वितरणका लागि निरन्तर प्रयास गर्दै आउनु भएको थियो । आफू निर्वाचित भएसँगै प्रभावितहरुलाई नगदै राहत वितरण गर्न संसदबाट सरकारको ध्यान अकार्षण गर्दै आउनु भएका सांसद सापकोटाको निरन्तरण र अथक प्रयासका कारण पीडितलाई मंगलबार रकम वितरण भएको हो ।
चुनावी घोषणापत्रमा प्रतिवद्धता जाहेर गरेका सापकोटाले आफ्नो प्रतिवद्धता पुरा भएकोमा खुशी व्यक्त गर्नु भयो ।
जुरे पहिरोबाट घरबार गुमाउनका साथै स्वजनसमेत गुमाएका पहिरो प्रभावितहरुले ८ वर्षपछि नगद राहत पाएका हुन् ।
मंगलबार बागमति प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्मरकट्टेलले जुरे पहिरो प्रभावितहरुका लागि २ करोड २४ लाख ६६ हजार ६५७ रुपैयाको चेक सम्वन्धित पालिकाका प्रमुखहरुलाई हस्तान्तरण गर्नुभएको हो ।
२०७१ सालमा तत्कालिन माँखा गाविसको जुरेमा गएको पहिरोमा परि १४२ जनाको ज्यान जानका साथै करोडौंको भौतिक सम्पति क्षति भएको थियो । पहिरोपछि जनस्तरबाट संकलित सो रकम आज हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।
संकलित उक्त रकम पटकपटक वितरणको प्रयास भए पनि सफल भने हुन सकेको थिएन । तत्कालिन जिल्ला दैवी प्रकोप उद्धार समितिको बैंक खातामा जम्मा भएको सो रकम समितिद्वारा तयार गरेको मापदण्ड अनुसार नै वितरण गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानले बताउँनुभयो ।
मापदण्ड अनुसार परिवारको मृत्यु भएकाहरुलाई “क” घरजग्गा, सम्पति क्षति भएकालाई “ख” पहिरोमा मात्र जग्गा परेकाहरुलाई “ग” बर्गमा विभाजित गरि रकम वितरण गरिएको छ । यस आधारमा ४ हजारदेखि १ लाख ५४ हजारसम्म जनही प्रभावितहरुले पाएका छन् ।
प्रभावितहरुको बैंक खातामा जम्मा हुनेगरि बाह्रविसे नगरपालिका, बलेफी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुखहरुलाई चेक प्रदान गरेको छ ।
विपद् व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम बनाइनेछ – मुख्यमन्त्री जम्मरकट्टेल
बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्मरकट्टेलले विपद् व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम बनाईने बताउनु भएको छ ।

जिल्ला बिपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले आयोजना गरेको बिपद व्यवस्थापन विषयक छलफल कार्यक्रमको मंगलबार सुकुटेमा उद्घाटन गर्दै मुख्यमन्त्री जम्मरकट्टेल मनसुनजन्य पूर्वतयारीका लागि यही जेठ महिनाभित्र स्थानीयतहमा बजेटको व्यवस्थापन गर्ने बताउनुभयो ।
बिपद व्यवस्थापनका लागि जिल्ला विपद ब्यवस्थापन समितिमा पठाईएको बजेट खर्च हुन नसकेर फ्रीज भएको बताउँदै उहाँले कार्यविधि बनाएर स्थानीय तहमा नै विपद बजेट पठाउने योजना बनेको खुलासा गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रदेश सदस्य सरल सहयात्री, मसिना खड्का, अमृता नेपाल, माइली तामाङ, स्थानीयतहका प्रमुख एवम् उपप्रमुख लगायतको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहका जनप्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य, सरसफाइ र खानेपानीमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
नेपाली जनता कृषिमा आश्रति नभएको भए मूलुक चलाउन मुस्किल हुने बताउँदै मुख्यमन्त्री जम्मरकट्टेलले कृषि क्षेत्रमा हालसम्म सरकारले गरेको लगानी खेर गएको धारणा व्यक्त गर्नुभयो । “एकातिर कृषकले मूलुक धानेको छ भने अर्कोतिर सरकाले कृषि क्षेत्रमा गरेको लगानी खेर गएको छ” मुख्यमन्त्री जम्मरकट्टेलले भन्नुभयो “त्यही भएर पनि अब व्यक्तिगत र निजी फर्मलाई दिंदै आएको अनुदानलाई निरुत्साहित गर्दै समुदायमा आधारित उत्पादनको मोडेललाई मात्र अनुदान दिने वागमति सरकारको योजना रहेको छ” ।
उहाँले काठमाण्डू र ललितपुर बाहेक बागमति प्रदेशको बाँकी जिल्लालाई उत्पादनको पकेट जिल्ला घोषणा गर्ने तयारी रहेको पनि जानकारी गराउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले विपद् पूर्वतयारीका लागि स्थानीय तहलाई विशेष अधिकारसहितको बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य माधव सापकोटाले मनसुनजन्य विपद् निकट आइसकेको हुँदा सबै चनाखो हुनुपर्ने बताउनुभयो ।
मनसुन सुरुभएपछि मनसुनजन्य विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनिकरण गर्न लागि पूर्वतयारीमा जुट्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्