२०८१ पुष ५
                           

विदेशबाट फर्केका नेपालीहरूको सञ्जाल

सुरेन्द्र नेपाल श्रेष्ठ– विदेशबाट फर्केका नेपालीहरू पनि सङ्गठित हुन थालेका छन् । नेकपा एमाले रिटर्नी फेडेरेसन नेपाल नामक छुट्टै जनवर्गीय सङ्गठन निर्माण गरी राष्ट्रिय सम्मेलन गर्याे । माओवादी केन्द्रले यही जेठ २६ गते रिटर्नी सेन्टर नेपालको पहिलो राष्ट्रिय भेलाको आयोजना गर्दै छ । जेठको पहिलो हप्ता सम्पन्न स्थायी समितिको निर्णय अनुसार अब यो सेन्टर माओवादी पार्टीको चौबिसौँ जनसङ्गठन बन्नेछ । यो भेलाको पूर्ण सफलताको शुभकामनासहित यस विषयमा मेरा केही अनुभव प्रस्तुत गरेको छु ।

गैरआवासीय नेपाली सङ्गठित हुन थालेपछि नेपालमा लगानी गर्ने विषयले सबैभन्दा बढी महत्त्व पायो । हुनेखाने केही व्यक्ति तथा ससाना समूहमा विविध क्षेत्रमा लगानी सुरु पनि भए । सङ्गठन निर्माण भएसँगै यसको चहलपहल बढ्दै गयो । विस्तारै यसप्रति देशबाहिर र भित्र बस्नेहरूको आकर्षण बढ्दै गयो । सङ्गठन विस्तार र विकासको साथसाथै यसको नेतृत्व प्राप्त गर्ने होडले त झन् द्रुत गति लिन थाल्यो । यही गतिलाई अन्ततः धेरैले नेपालमा आर्थिक वर्चस्व देखाउने माध्यम बनाउन थालियो । पैसा भएका सुकिलामुकिलाहरूले नेपालका घरानियाँसँग प्रतिस्पर्धा गर्न खोजेको आरोप लाग्न थाल्यो । हामीले सोचेका सामूहिक लगानीका कुरालाई खासै व्यावहारिक रूपमा प्रयोग गर्ने प्रयास पर्याप्त रूपमा भएनन् ।

विश्वासिलो लगानी साझेदारको खोजी
छिटफुट केही व्यक्ति मिलेर भने व्यवसायहरू सञ्चालन भएका छन् । त्यसमा प्रायः केही समय विदेशमा बसेर नेपाल फर्किनेहरूको बढी सहभागिता देखिन्छ । विदेशमा बसोबास गरे पनि आफूसँग बचेको केही रकम नेपालमा लगानी गर्न पाए हुने भन्नेहरू उल्लेख्य भेटिन्छन् । तर आफू नै भौतिक रूपमा उपस्थित हुन नपाउने र जिम्मा लिने साथीहरूको आर्थिक नैतिकतामा प्रश्न खडा भएकाले धेरैले आफ्नो लगानी मात्र हैन पुरानो मित्रता र पारिवारिक सम्बन्ध पनि गुमाउन परेका अनेक उदाहरण छन् । विदेशमा दुःख गरेर जम्मा गरेको कोषलाई आफ्नो सिप अनुसारको काममा लगानी गर्नेहरू पनि पर्याप्त लगानी गर्न नसकिने र अन्य थुप्रै व्यावहारिक कारणले असफल भएका छन् । घरपरिवार समाज र देशमा बसेर उद्यमी बन्ने सपना धेरैको पूरा हुन सकेको छैन । त्यसपछिको विकल्प भनेको जसरी पनि पहिला भन्दा राम्रो देशमा फर्कनु नै हो । एक पटक देशमा गएर केही गर्छु भन्ने व्यक्ति प्रयास गर्दा पनि हार खाएर पुनः विदेश जानु भनेको प्रायजसोको हकमा सधैँका लागि विदेश पलायन हुनु हो । विदेशमा कमाएको पैसा सकाएर पुनः विदेश जान ऋण खोज्न पर्ने अवस्था आएपछि यस्तो परिणाम आउनु अन्यथा मान्न पनि भएन ।

वैदेशिक रोजगारीमा जानेको अस्पष्ट तथ्याङ्क

विदेश जानेहरूको यकिन तथ्याङ्क हामीसँग छैन । अनुमानको भरमा अहिले त एक करोड भन्न थालिएको छ । बेलायतको एनआरएनले यहाँ कति नेपाली छौँ सङ्ख्या पत्ता लगाउने प्रयास गर्याे । आफूले सकेसम्म उपलब्ध स्रोतका आधारमा त्यो काम भए पनि हामीले अनुमान गरे जस्तो दुई लाख हाराहारीको हिसाब मिलान गर्न सकिएन । कतिपय व्यावहारिक कठिनाइका कारण पनि यस्तो भएको हो । त्यति बेलादेखि पटक पटक विभिन्न माध्यमबाट हामी विदेशमा बस्नेहरूको वास्तविक तथ्याङ्क नेपाल सरकारसँग हुन् पर्छ भन्ने कुरा उठाउँदै आएको छु । श्रम स्वीकृति वा विद्यार्थी भिसा प्राप्त गरी बाहिर जानेहरूको तथ्याङ्क प्राप्त गर्न त्यति असहज नहोला । तर को कति फर्केका छन् त्यो रेकर्ड राख्ने चलन नभएको कारण र अन्य माध्यमबाट धेरै बाहिर जाने हुँदा दुरुस्त राख्न सम्भव छैन । सम्बन्धित देशको दूतावासमार्फत तथ्याङ्क सङ्कलन गर्न खोजियो भने पनि गैरकानुनी तवरले बस्नेहरूलाई समावेश गर्न सकिँदैन । २०७८ सालको जनगणनाले पनि विदेशमा बस्नेहरूको सङ्ख्या निकै कम (करिब बाइस लाख) मात्र देखायो । तथ्याङ्क भनेको शरीरमा रोगको निदानका लागि लक्ष्यणहरूको जाँच गरे जस्तै कुनै पनि समाज वा देशको वास्तविकता बुझ्ने आधार हो ।

सञ्जाल निर्माण गरी आर्जित सिपको उपयोग गर्न

नेपाल बाहिर बस्नेहरूबिच राम्रो सङ्गठन निर्माण गरी विदेशबाट फर्केकासँग उत्पादनमा सहकार्य गर्न सकियो भने अहिलेसम्म देखिएका समस्या न्यून हुन जाने देखिन्छ । विदेशबाट सिकेर आएको सिपलाई विदेशमा बस्नेहरू समेतको संग्लग्नतामा इमानदारितापूर्वक काम गर्ने हो भने आवश्यक सिप र पुँजी उपलब्ध हुन सहज हुन्छ । विदेशको अनुभव लिएर स्वदेश फर्केका व्यक्तिहरूलाई आर्थिक रूपमा भरथेग गर्न सकियो भने लागनी अपुग हुने समस्या कम हुनेछ । विदेशमा पैसा त पात टिपे जस्तो हुन्छ भन्ने मानसिकता भएकाहरूसँग साझेदारी गर्नुभन्दा कति इमानदार र मेहनत गर्नुपर्छ भनेर भोगेर गएकाहरूसँग काम गर्न सहज हुन्छ । आफ्नो आँखाले देखेको, पाखुराले गरेको काम स्वदेश गएर गर्न सकियो भने मरुभूमिलाई जङ्गल बनाउनेहरूले नेपाललाई पर्याप्त रूपमा योगदान पुर्याउन सकिने छ ।

 

यही पृष्ठभूमिमा सन् २०१३ मा स्विजरल्यान्डमा भएको युरोप स्तरीय क्षेत्रीय भेलामा मैले गैरआवासीय नेपाली सङ्गठनलाई साँच्चै प्रभावकारी गराउने हो भने विदेशबाट नेपाल फर्कनेहरूको पनि एउटा सञ्जाल बनाउनुपर्छ भन्ने प्रस्ताव राखेको थिए । जबसम्म उत्पादनको अभियानमा धेरैभन्दा धेरैलाई सहभागिता गराउन सकिँदैन केवल केही धनाढ्यहरूको पछाडि लागेर ठुलो सङ्गठन निर्माण गरेर मात्र हामीले खोजेको समृद्धि आउन सक्दैन । आफू क्रेडिट कार्ड घोटेर सङ्गठन बनाउन देश विदेश घुम्ने, व्यापार व्यवसाय र पारिवारिक सम्बन्ध ध्वस्त बनाउने अनि देश बनाउन हिँडेको भन्नु आत्मरति मात्र हो । त्यसैले महिला पुरुष समाज रूपी रथका दुई पाङ्ग्रा भनिएजस्तै विदेशमा बस्ने र फर्केकाहरूको एउटा बलियो सञ्जाल बनाउन आवश्यक छ ।

नेपाल फर्कनुहुने सबै साथीहरूले आफू जुन देशबाट फर्केको हो त्यही देशबाट फर्केका साथीहरूबीच सञ्जाल निर्माण गरौँ । त्यसपछि अन्य देशबाट फर्केकाहरूबीच नयाँ सञ्जाल बनाउन सकिन्छ ।

सञ्जाल निर्माणको प्रयास

सञ्जाल निर्माणका लागि नेपाल फर्केका केही साथीहरूसँग मैले सम्पर्क गरेँ । एनआरएनभित्र पनि यो कुरा उठान भयो । पार्टीका केही जिम्मेदार साथीहरूसँग पनि सम्पर्क गरियो । यस बारेमा संस्थापक अधक्ष्यसँग स्विजरल्यान्डमा नै संस्थाले पहल कदमी नलिने हो भने म पार्टीमा कुरा राख्छु भनेको थिएँ । तर जवाफमा ‘होइन यो हामीले नै गर्नुपर्ने काम हो, सबै पार्टीले बनायो भने भ्रातृ सङ्गठन भइहाल्छ नि’ भनेको अहिले पनि सम्झना छ । नभन्दै दस वर्षपछाडि यही अवस्था आयो ।

गैरआवासीय नेपाली सङ्घका पूर्वसल्लाहाकार मित्र चन्द्रबहादुर रोकाहा दुबई छाडेर नेपाल गइसकपछि हजारे अभियानले संस्थामा राम्रो प्रभाव छाडिरहेका हालका केन्द्रीय उपाध्यक्ष मित्र डिबी छेत्री समेतले पटक पटक छलफल गरेका थियौँ । हामी तीनै जना पार्टीमा पनि सक्रिय थियौँ नै । चन्द्रजीले यसबारे राम्रो तयारी गर्दै जानुभयो । हामी विदेशमा नै भएकाले त्यति सहभागी हुन सकेनौँ । केही समय पछाडि यसबारेमा मध्यपूर्वबाट फर्केका केही साथी पनि सक्रिय भएको खबर पढ्न पाइयो । विशेषतः वैदेशिक रोजगारबाट फर्केका युवालाई नेपाल सरकार अन्तर्गतको युवा परिषद्मार्फत् केही सहयोग प्रदान गरिनुपर्ने अवधारणासहित विदेशबाट फर्केकाहरूको छुट्टै सञ्जाल निर्माण गर्ने तयारी भयो । अन्ततः २०७५ असार २७ गते नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्को आयोजनामा वैदेशिक रोजगारबाट फर्केका युवाको राष्ट्रिय भेला गर्याे । यसले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन यही जेठ २४ गते सम्पन्न गरेको छ ।

नेकपाको विभाजनपछि चन्द्रजी एमालेमा नै अड्किनुभयो । उहाँले देशभरि व्यापक सम्पर्क सम्बन्ध कायम गरी थुप्रै जिल्ला, नगर, गाउँ स्तरीय सङ्गठन निर्माण गर्ने काममा सक्रिय रहनु भयो । यो संस्थालाई पार्टीको छुट्टै जनवर्गीय सङ्गठनका रूपमा केन्द्रीय फ््रयाक्सन नै निर्माण गरी २०७८ पुसमा राष्ट्रिय सम्मेलनमार्फत संस्थापक अध्यक्षको जिम्मेवारी लिनु भई गत वर्ष भएको महाधिवेशनमा जिम्मेवारी हस्तान्तरण गर्नु भयो ।

परिणाममुखी कार्य गर्न जरुरी

अब यो प्रक्रिया अन्य पार्टीले पनि थालनी गर्ने छन् । राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि मात्र यो शक्ति प्रयोग हुने हो भने त्यसले खासै महत्त्व राख्ने छैन । माग प्रस्तुत गर्ने अनि पूरा नभए आन्दोलन गर्ने अन्य जनवर्गीय सङ्गठनको जस्तो पुरानै शैली अवलम्बन गर्नुको कुनै अर्थ रहने छैन । यो सञ्जाललाई पार्टीभित्र अनावश्यक रूपमा होडबाजी गर्ने माध्यम बनाउन खोजिएको आरोप आउनेछ । आन्तरिक द्वन्द्वमा बढी समय र शक्ति प्रयोग हुने सम्भावना धेरै रहनेछ । यस्तो तितो अनुभव हामीले विगत तीन वर्षदेखि विदेशमा बस्ने १०२ जनाको वित्तीय सञ्जाल ‘नव निर्माण’ कम्पनीको स्थापना र सञ्चालन गर्दैगर्दा भोगेका छौँ । हामीले हाम्रो सम्पूर्ण शक्ति र स्रोत उत्पादनमा प्रयोग गर्नुपर्ने बेला हो अहिले ।

राजनीतिक व्यवस्था परिवर्तनका लागि लामो समय बिताइसकेका छौँ । अब पनि वास्तविक अवस्था परिवर्तन गर्न सकिएन भने देशको पहलकदमी अरूकै हातमा जाने निश्चित छ । त्यसैले यो सञ्जाललाई कर्मकाण्डी सङ्गठनको रूपमा मात्र (गाउँदेखि केन्द्रसम्म) बिस्तार नगरी सम्भव भएका केही स्थानहरूमा सबैले देखिने गरी प्रत्यक्ष अनुभूति हुने गरी केही काम गरेर देखाउन सक्नुपर्छ । एक ठाउँमा भएको राम्रो काम अर्काे ठाउँमा सिको गर्न त्यति गाह्रो हुँदैन । काम गर्दै जाँदा समस्या थपिँदै जाने र त्यसलाई समाधान गर्दै जानुपर्छ । तर सबैभन्दा ठुलो प्रश्न भनेको इमानदारिता नै हो । त्यसमा पनि आर्थिक नैतिकता कायम राख्न नसक्नु हाम्रो मुख्य समस्या हो । राम्रा उदाहरण देखाउन सकिने खालका काम गरियो भने संसारभरिका नेपालीहरूको एउटा सफल वित्तीय संस्थामार्फत उपलब्धिमूलक कार्य गर्न सकिने छ ।

देशबाहिर रहेका हामीले समेत एउटा साझा संस्थालाई सग्लो रूपमा राख्न नसकेको अवस्थामा देशभित्र नै विदेशबाट फर्केका नेपालीको एउटा मात्र सञ्जाल होस् भन्ने कामना मात्रै हुने भयो । तर हामी सबैले उत्पादनमा नै प्रतिस्पर्धा गर्ने हो भने जति धेरै संस्था भए त्यति फाइदा हुने देखिन्छ । कतिपय व्यवसायमा सहकार्य गर्न सकिने छ । आउनु होस् समृद्ध नेपाल निर्माणका लागि उत्पादनमा स्वस्थ प्रतिस्पर्धा गरौँ । रातोपाटी 

सिन्धुपाल्चोक, हाल : बेलायत

प्रतिक्रिया दिनुहोस्