२०८१ भाद्र २३
                           

पाठेघरको समस्या भएका ४१ महिलाको निशुल्क शल्यक्रिया  

सिन्धुपाल्चोक ,२७ जेठ
सम्झना कार्की – लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका सिन्धुपाल्चोकका महिलाको निःशुल्क शल्यक्रिया  गरिएको छ। परिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाएर बसेका महिलाले निःशुल्क शल्यक्रिया , उपचार सेवा पाएका हन्। लाजको कारण अस्पताल गई उपचार गराउन नसक्दा कतिपयको अकालमै मृत्यु भएको घटना सिन्धुपाल्चोकको लागि नयाँ भने होइन । स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले सञ्चालन गरेको निःशुल्क पाठेघर चेकजाँज तथा शल्यक्रिया शिविरमा ४१ जना महिलाको निःशुल्क पाठेघरको शल्यक्रिया सेवा लिएका छन्।

पाठेघरको समस्या भएका महिलाहरुको लागी शुक्रबार र शनिवार निशुल्क शिविर आयोजना गरिएको थियो । शिविरमा सेवा लिन आएका दुई जनामा पाठेघर सगैँ पिसाब चुहिने दुईटै समस्या भएकाले अप्रेसन पुर्व नै धुलिखेल पठाईएको स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका प्रमुख अनुप अधिकारीले बताउँनुभयो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजना तथा चौतारा अस्पताल र स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वयमा  शिविर भएकोमा महिलाले नयाँ जीवन पाएका हुन् । शिविरमा पाठेघर खस्ने रोगका पहिलो र दोस्रो चरणका समस्या भोगिरहेका महिलाले शिविरमा जाँच गराएका थिए ।पाठेघरको मुखको क्यान्सर भएकाहरुको समेत जाच गरिएको छ ।  किष्ट मेडिकल कलेजका डा. यम प्रसाद दुवा नेतृत्वको टोलीले पाठेघर खसेका महिलाको शल्यक्रिया तथा निःशुल्क उपचार गरेको हो ।चौतारामा यसरी शल्यक्रिया गरिनु यहाँका महिलाका लागि ठूलो अवसर भएको स्थानीयवासी बताउँछन् ।

“एक महिलाको पाठेघरको शल्यक्रिया गर्नमात्रै १३ हजार भन्दा बढी लाग्थ्यो , जिल्ला बाहिर जान गाडि भाडादेखि होटल खर्चसहित बढी खर्च जुटाउनु पथ्र्यो, जिल्लामै शल्यक्रिया भएपछि सो समस्या भएका महिलाहरुको धेरै पैसा जोगिएको छ,निशुल्क उपचार पाएका छन्, यस्तो अवसर कमैमात्रामा पाइन्छ”, स्वास्थ्य प्रमुख अधिकारीको भनाई छ ।

पाठेघर खसेका महिलामा मानसिक तथा शारीरिक समस्या हुने भएका कारण यसले स्वास्थ्यमा धेरै ठूलो असर गर्ने हुँदा ती महिलाको पाठेघरको शल्यक्रिया शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका प्रमुख अधिकारीले बताउँनुभयो ।
जिल्लामा पाठेघरका समस्या भएका महिलाले आर्थिक अभाव र रोग लुकाउने गरेका कारण यो समस्या जटिल बन्दै गएको चिकित्सक बताउँछन् ।

बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोग तथा चौतारा अस्पताल सिन्धुपाल्चोक र स्वास्थ्य कार्यालयको आयोजनामा दुई दिने पाठेघर खसेको ((Uterovaginal proplapse) तथा अब्स्ट्रेटिक फिस्टुला ((Vesico-Vaginal Fistula) ) स्क्रिनिङ भएका महिलाहरूको निःशुल्क शल्यक्रिया शिविर गरिएको हो । उत शिविरको  शुक्रबार चौतारा सागाँचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्धघाटन गर्नुभएको थियो ।

चौतारा अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष टंकबहादुर कार्कीको अध्यक्षता चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटा  प्रमुख आतिथ्यता र स्वास्थ्य निर्देशनालको निर्देशक महेश्वर श्रेष्ठको विषेश आतिथ्यतामा तथा शल्यक्रियाका लागि आउनु भएका विशेषज्ञ चिकित्सक , स्वास्थ्य निर्देशनालयका दुर्गा वजगाइ, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झा, स्वास्थ्य कार्यालयका प्रमुख अनुप अधिकारी, नेपाल पत्रकार महासंघका सचिव विदुर आचार्य लगाएत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु र अन्य व्यक्तित्वहरुको उपस्थितिमा शिविर सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्